१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:५३:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्रतिगमनकारीहरूको बढ्दो चलखेल

दलाल पुँजीवाद तथा नोकरशाही अर्थराजनीतिको हालीमुहालीका कारण गणतन्त्र स्थापनाको १७ वर्षपछि पनि प्रतिगामी शक्तिको चलखेल घट्नुको साटो बढिरहेको छ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:५३:oo

मंसिर महिनाका प्रारम्भिक साताहरूमा राजधानी काठमाडौं तथा पूर्वी र मध्य नेपालका झापा, धनुषालगायत केही जिल्लाका सडकमा राजतन्त्रपक्षीय नारा सुनिए । काठमाडौंका सडकमा उनीहरूले प्रहरीसँग झडप र ढुंगा हानाहान पनि गरे । प्रहरीले केही राजतन्त्र पक्षधर प्रदर्शनकारीलाई गिरफ्तार पनि गर्‍यो । यसपटक राजतन्त्र पक्षधरहरूको भिड जुन आयतनमा राजधानीका सडकमा देखिए, त्यसले उनीहरू भिड जुटाउन योजनाबद्ध रूपमै लागेको बुझ्न गाह्रो थिएन । 

एकातिर एमाले अध्यक्ष ओली र नेता महेश बस्नेतको तेजोबध गर्ने निहुँ झिकेर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अनेक निहुँमा बाहिरबाट जनता ओसारेर राजतन्त्रपक्षीय नारा लगाएर सडकमा अराजकता फैलाए भने अर्कातिर राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा झापामा राजतन्त्रका पक्षमा नारा लगायो । यसैबाट उत्साहित भएर जनकपुरमा समेत केही राजतन्त्र समर्थकले जुलुस निकाले ।

राजतन्त्रवादीहरूको सहयोगी शक्तिका रूपमा धर्मनिरपेक्षताको विरोध र संकीर्ण हिन्दू धार्मिक राष्ट्रको वकालत गर्ने संकीर्ण धार्मिक शक्तिसमेत सतहमा देखिए । यो संकीर्ण धार्मिक जमात रूप र रंगमा भगवा चोला तथा चन्दन टीकामा देखिए पनि, सडकमा जसरी उनीहरू उग्र शैलीमा हिन्दुराष्ट्रको नारालाई राजतन्त्रसँग मिसाएर घन्काइरहेका थिए र अन्य धार्मिक समुदायप्रति घृणा प्रकट गरिरहेका थिए, त्यसले उनीहरूलाई देशमा साम्प्रदायिक अराजकता फैलाउन अराजक भिडका रूपमा प्रयोग गरिएको प्रस्ट देखिन्थ्यो । आफूलाई सन्त भन्ने आचार्य श्रीनिवास नामक युवा साधुले लगाएको ‘विरोधीलाई खुकुरीले काट्नुपर्छ’जस्ता हिंस्रक र उत्तेजक नारा र तोडफोड यस्तै उदाहरण थिए । 

यतिवेला देशमा लोकतान्त्रिक गणतान्त्रिक संविधान र लोकतान्त्रिक गणतान्त्रिक भनिने शक्तिनेतृत्वको राज्यसत्ता छ । यस्तो परिवेशमा राजतन्त्रवादीको यो प्रदर्शन सानो देखिन्छ । तर, वर्तमान राज्यसत्ताको नेतृत्वकारी राजनीतिक शक्तिहरूको वैचारिक, राजनीतिक र नैतिक स्खलन तथा जनताबाट हुने आक्रोशित आलोचनाको परिदृश्यमा हेर्दा राजतन्त्र पक्षधर शक्तिको क्रमबद्ध गतिविधिको गम्भीरतालाई उपेक्षा गर्न सकिँदैन ।

इटालियन माक्र्सवादी विचारक एन्तोनियो ग्राम्सीको फासीवादको अवतरणबारे एउटा भनाइ सान्दर्भिक छ । उनले भनेका थिए– ‘फासीवादले अग्रगामी शक्तिहरू शिथिल हुन्जेल प्रतीक्षा गर्छ र त्यसपछि एउटा त्रासदीका रूपमा आफूलाई विस्तार गर्छ ।’ देशमा राजतन्त्र पक्षधर राजनीतिको विकासलाई एउटा क्रमबद्धतामा हेरेपछि ग्राम्सीको भनाइको गम्भीरतालाई बुझ्न सकिन्छ । 

पहिलो संविधानसभामा राजतन्त्रपक्षधर राप्रपा (नेतृत्व कमल थापा)को सदस्य संख्या कुल ६०१ मा चारजना मात्र थियो, त्यो पनि समानुपातिक मतका आधारमा । अहिले देशमा संविधानसभाबाट पारित लोकतान्त्रिक गणतन्त्रको संविधान छ, सम्पूर्ण राज्यसत्ताको कमान आफूलाई गणतान्त्रिक भनेर गर्व गर्ने राजनीतिक शक्तिसँग छ, तैपनि संघीय संसद् र कैयौँ प्रदेश सभामा समेत गठबन्धन समीकरणमा राप्रपा निर्णायक शक्तिका रूपमा उपस्थित छ ।

वर्तमान राज्यसत्ताका नेतृत्वकारी राजनीतिक शक्तिहरूको वैचारिक, राजनीतिक र नैतिक स्खलन तथा जनताबाट हुने आक्रोशित आलोचनाको परिदृश्यमा हेर्दा राजतन्त्र पक्षधर शक्तिको क्रमबद्ध गतिविधिको गम्भीरतालाई उपेक्षा गर्न सकिँदैन
 

गणतान्त्रिक राज्यव्यवस्थाभित्र राजतन्त्रवादी शक्तिहरू समाप्त हुँदै जानुपर्नेमा झन् उनीहरूको अवस्थामा वृद्धि नै भएको छ । यसले वर्तमान गणतन्त्रको दिशाहीनता तथा उदारताका नाममा लोकतन्त्रबारे निरीहता र यान्त्रिकता अभिव्यक्त गर्छ । यस्तो लोकतान्त्रिक गणतन्त्र, जसले लोकतान्त्रिक अधिकारका नाममा आफूलाई सिध्याउन आफ्ना विरोधीलाई अधिकार दिन्छ, कसरी दीर्घजीवी हुन सक्छ ? जनताको अथक संघर्ष, त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनगणतन्त्र हुँदै समाजवादी दिशामा लाग्नुपर्ने थियो । 

राजनीतिक अधिकारको आधारभूत समस्या हल गरेर गरिबी, भोकमरी, रोग, शिक्षा, स्वास्थ्य आदि जनजीवनका आधारभूत समस्याको योजनाबद्ध समाधानको दिशामा लाग्नुपर्ने थियो । तर, यस्तोमा व्यवस्था परिवर्तन भएको १७ वर्षपछि पनि प्रतिगामी शक्तिहरू विकासमान नै देखिनु चिन्ताको विषय हो ! छिमेकी देशहरूको अर्थ राजनीतिमा विद्यमान धार्मिक फासीवादी तत्वको बलियो र नेतृत्वकारी उपस्थितिले नेपाली राजनीतिका प्रतिगामी शक्तिलाई उत्साहित गरिरहेको तथ्यलाई उपेक्षा गर्न सकिँदैन । तैपनि, आन्तरिक पक्ष प्रधान हुने भनिएझैँ देशभित्रको राजनीतिमा राज्यसत्ताको नेतृत्वकारी शक्तिभित्रको निकृष्ट अर्थपिपासु प्रवृत्तिको सत्ताको छिनाझपटी, पटक–पटक फेरिइरहने सत्ताकेन्द्रित गठबन्धन र जनउपेक्षालाई उपेक्षा गर्न सकिँदैन । 

एउटा उखान छ, सिसाको घरमा बस्नेहरूले अरूको घरमा ढुंगा हान्नुहुँदैन । अहिलेको सत्ताधारी दलहरूलाई यस्तै प्रवृत्तिले निरीह बनाएको देखिन्छ । होइन भने, गणतन्त्रको विरोध तथा खुलेआम राजतन्त्रको पक्षमा गैरसंवैधानिक र प्रतिगामी गतिविधि सडक र सदनमा गर्ने स्थिति बन्ने कुनै सम्भावनै रहने थिएन । एउटा शक्तिशाली राज्यसत्ताले यसलाई तत्कालै नियन्त्रण गर्न सक्नुपथ्र्याे । तर, राजनीतिक नेतृत्वको अर्थ जनवादी अधिनायकत्वमा अभिव्यक्त नभएसम्म, लोकतन्त्रले न त प्रतिगामी शक्तिलाई नियन्त्रण गर्न सक्छ, न त जनहितको रक्षा नै गर्न सक्छ । उसले न त पुँजीवादी अर्थराजनीतिलाई जितेर समाजवादी अर्थराजनीतिक दिशा पक्रन सक्छ । गणतन्त्र स्थापनाको १७ वर्षपछि पनि प्रतिगामी शक्तिको चलखेल र साम्राज्यवादी पुँजीवादको चाकर दलाल पुँजीवाद तथा नोकरशाही अर्थराजनीतिको हालीमुहाली बढ्दो स्थितिको कारण हो । 

फ्रान्सिसी क्रान्तिमा सन् १७९३ मा सम्राट् लुई १६औँ लाई जनताले फाँसीको तख्ता (गिलोटिन) मा झुन्ड्याउने वेला, त्यत्रो जनताका बीचमा सातजना राजतन्त्रवादीहरू सम्राट्लाई बचाउन झुन्ड्याउने मञ्चमुनि पुगिसकेका थिए भनिन्छ । तर, अबेर भइसकेको थियो, उनीहरू पुग्नुभन्दा पहिले नै लुई १६औँ झुन्ड्याइसकिएका थिए । तात्पर्य के हो भने राजनीतिक विजय प्राप्त गरे पनि प्रतिगामी तŒवहरू वर्गका रूपमा समाजमा कायम रहेकै हुन्छन् । उनीहरूलाई योजनाबद्ध रूपमा आर्थिक र सामाजिक रूपमा हैसियतविहीन नगराएसम्म प्रतिगामी शक्तिहरू नयाँ समाजमा बिलय र अस्तित्वहीन हुँदैनन् । फ्रान्सिसी राजनीतिमा अहिले वामपन्थी र दक्षिणपन्थी शक्ति, दुवै तत्वको उपस्थिति छ ।

पुँजीवादी राजनीतिको अंगका रूपमा विकसित दक्षिणपन्थी शक्तिसँगको संघर्ष अलग्गै विषय भयो, तर त्यहाँ अहिले राजतन्त्र पक्षधर शक्ति छैनन् । संकीर्ण धार्मिक तत्वहरूले वर्तमान फ्रान्सिसी समाजमा नयाँ धरातलमा टाउको उठाउन अनेक प्रयत्न गरिरहेका छन्, तर त्यसलाई रोक्न त्यहाँको धर्मनिरपेक्ष शक्ति सबै एकजुट देखिन्छन् । यस स्थितिसँग तुलना गर्ने हो भने नेपालमा अग्रगामी शक्तिले लामो संघर्षपछि राजनीतिक रूपमा गणतन्त्र स्थापना गर्न सफल भए पनि अर्थराजनीतिक र सांस्कृतिक रूपमा नीति र कार्यक्रमको विकास गर्न सकेनन् । गणतन्त्र स्थापनापछि प्रत्यक्षमा राप्रपाजस्तो राजनीतिक शक्तिले राजतन्त्र पक्षधर वर्गशक्तिको नेतृत्व गरिरहेको छ । तर, मौन किसिमबाट पूर्वराजा ज्ञानेन्द्र र विगतमा राजतन्त्रबाट उपकृत भएको भारदार र चाकरवर्ग पनि सक्रिय नै देखिन्छन् । यसको एउटै कारण हो, ज्ञानेन्द्रलगायत राजतन्त्रका निर्णायक वर्गीय सामाजिक तत्वलाई सामाजिक र आर्थिक हैसियतमा निःशस्त्र नगरिनु ।

राजनीतिक रूपमा सत्ताविहीन भए पनि नेपालको आर्थिक संरचनामा पूर्वराजा ज्ञानेन्द्र, उनका सन्तान र तत्कालीन भारदारहरू अहिले पनि प्रभावशाली नै छन् । चियाबगान, कैयौँ उद्योगधन्दा र सेयर बजारमा अहिले पनि उनीहरूकै प्रभावशाली लगानी छ, जसले वर्तमान राजनीतिक संरचनालाई प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित गरिरहेको छ । यही आर्थिक तागतले पूर्वराजा र उनका राजनीतिक पक्षधरलाई प्रतिगामी एजेन्डा र अभियान चलाउन बल दिन्छ । प्रश्न छ, राजा र उनका सन्तानले आर्जन गरेको आर्थिक सम्पत्तिको स्रोत के थियो ? निश्चय नै जनताको श्रम, सम्पत्ति र सम्पदाको शोषण नै हो । यस्तोमा गणतन्त्र स्थापनाका वेला राजतन्त्रलाई राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समेत निःशस्त्र गर्न सक्नुपथ्र्यो । 

यसरी नै सामन्तवादमा मठमन्दिरलगायत धार्मिकस्थल पूजापाठ र धार्मिक कार्यभन्दा पनि जमिन्दार तथा शासनको कर असुल्ने अंग बढी हुने गर्थे । पूजापाठ र धार्मिक कार्य मठमन्दिर, गुम्बा र मस्जिद नभए पनि हुन सक्छ र हुन्छ पनि । प्रायः सबै धर्मका आस्थावान मानिसको घरमा सानै भए पनि पूजाघर हुन्छ नै । मठमन्दिरको हातमा हजारौँ बिघा जग्गा हुन्छ । सामन्तवादी शासन र धर्मबीचको यस गठबन्धनमा सामन्तवादी शोषणको अर्थराजनीति टिकेको हुन्छ ।

गणतन्त्र स्थापनापछि मठमन्दिर आदिको कब्जामा रहेका गुठीलगायत भूमि व्यवस्था र अन्य सम्पत्ति राज्यले आफ्नो प्रत्यक्ष नियन्त्रण वा जनसमुदायको नियन्त्रणमा राखेर जनहितमा उपयोग गर्न सक्नुपथ्र्यो । अहिले ती मठमन्दिरका महन्थ र प्रमुख ती सम्पत्तिलाई धार्मिकभन्दा पनि आफूअनुकूल व्यवसाय र राजनीतिमा प्रयोग गरिरहेका छन् र आफैँ वा आफूअुनकूल पात्र छनोट गरेर नकारात्मक वातावरण सिर्जना गरिरहेका छन् । उनीहरूलाई डर के छ भने वर्तमान गणतन्त्र समाजवाद वा अग्रगामी दिशामा गयो भने उनीहरूको आर्थिक र सामाजिक सुखको स्वर्ग गुम्न सक्छ । त्यसकारण उनीहरू धार्मिक उत्तेजना फैलाएर आफ्नो ‘स्वर्ग’ सकेसम्म कायम राख्न चाहन्छन् । यस्तोमा राजतन्त्रजस्तो प्रतिगामी शक्तिलाई उनीहरूले आफूअनुकूल ठान्छन् । 

गणतन्त्र स्थापनापछि नेतृत्वकारी शक्तिहरूले नेपाली समाजको यो दुवै पश्चगामी तत्वलाई अनुकूलन र नियन्त्रण गर्न सक्नुपथ्र्यो । यो नै भएन र अहिले वर्तमान राजनीतिको यथास्थितिवादिता, सत्तालोलुप छिनाझपटी तथा जनउदासीनताको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरूले पुनः टाउको उठाउन खोज्दै छन् । कतिसम्म उत्साही छन् भने उनीहरू विभाजित राजतन्त्रवादीको मोर्चाका कुरा पनि उठाउँदै छन् । यस्तोमा आफ्ना कमजोरी केलाउँदै कम्तीमा गणतन्त्रलाई जनपक्षीय बनाउन गणतन्त्रवादी शक्तिले सडक र शासन दुवैमा प्रभावकारी उपस्थिति जनाउन जरुरी छ । 

माक्र्स र एंगेल्सले ‘भूत’ (विगत)को गतिबारे सचेत गराएका छन् । अग्रगामी शक्तिले ‘भूत’मा निहित गतिशील तत्वको उपयोग गर्न जान्नुपर्छ । भूतमा निहित गतिले वर्तमानलाई अग्रगामितातिर डोर्‍याउनु ‘प्रगति’ हो, भने पछाडि फर्कनु ‘दुर्गति’ हो । राजतन्त्र पक्षधरहरूले नेपाली जनताले गणतन्त्र ल्याउन गरेका संघर्ष र बलिदानका इतिहासलाई, विकृत गरेर तथा नयाँ पुस्ताका निम्ति विस्मृतिमा लग्ने प्रयत्न गर्दै इतिहासलाई दुर्गतिमा पुर्‍याउन खोज्दै छन् । ‘प्रगतिवादी’ शक्तिहरूले इतिहासबाट शिक्षा लिएर वर्तमान गणतन्त्रलाई वास्तविक अर्थमा जनताको गणतन्त्रमा परिणत गर्न सचेत प्रयत्नमा लाग्नु नै हितकर हुनेछ । 

ad
ad