१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर १७ आइतबार २१:१३:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

चितवनमा ‘भूपिनका कविता’ उत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार २१:१३:oo

कवि भूपिनको कविताकृति ‘भूपिनका कविता’ शनिबार चितवनमा सार्वजनिक गरिएको छ । अक्षर समूह चितवनको आयोजनमा चितवनकै विभिन्न अग्रज स्रष्टाले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् । कृति सार्वजनिकसँगै उनका कविताको उत्सव पनि मनाइएको समूहका अध्यक्ष रमेश प्रभातले जानकारी दिए । 

‘अरू वेलामा कृति विमोचन गरिन्थ्यो, अन्तर्क्रिया गरिन्थ्यो, तर हामीले आज भूपिनका कविताहरूको उत्सव मनाइरहेका छौँ,’ अध्यक्ष प्रभातले भने, ‘समकालीन कवितामा भूपिनको उपस्थिति बलियो छ । उनका कविता आफैँमा बलशाली छन् । उनका कविता सदाबहार कविता हुन् । त्यसैले हामीले उनका कविताको उत्सव मनाएका हौँ ।’

‘भूपिनका कविता’ मा ५९ वटा समसामयिक विषयका कविता समावेश छन् । यसअघि प्रकाशित कविताकृतिबाट पाठकले रुचाएका कविता छनोट गरी ‘भूपिनका कविता’ निकालेको बताउँदै उनले आफ्ना कविता पाठकका माझमा गएकाले आफूले पाठकको प्रतिक्रिया पर्खेर बसेको बताए ।

समीक्षक डा. एकनारायण पौड्यालले कविका कवितामाथि टिप्पणी राख्दै भूपिन नयाँ कवि नभएकाले उनीबारे चर्चा गरिरहनु नै नपर्ने बताए । ‘भूपिनका कवितामा प्रतीक र बिम्ब सशक्त रूपमा आएको छ,’ डा. पौड्यालले भने, ‘त्यस्तै, कवितामा सामान्य र विशिष्ट विषयवस्तु कलात्मक रूपमा उठाएका छन् । शीर्षक पनि व्यंग्यात्मक छन् ।’

त्यस्तै, अर्का कवि एवं समीक्षक निमेष निखिलले भूपिनका कविता युगसुहाउँदो भएको विचार राखे । त्यस्तै, अर्का अग्रज स्रष्टा रेशम विरहीले कविका कविता पाठकको मन–मस्तिष्कमा गाढा भएर रहन सक्ने बताए ।

कविले आफूले कविताबाहेक अरू केही नसोच्ने बताए । ‘म कविताका लागि जे पनि गर्न सक्छु । पागल भएमा कविताकै क्लिनिकमा जान्छु,’ उनको भनाइ थियो, ‘कविता मेरा लागि मनोचिकित्सक हो । त्यसैले कविताको विकल्पमा अरू केही रोज्न सक्दिनँ ।’ 

कार्यक्रमको उत्तरार्द्धमा कविले ‘आमाको तस्बिर’, ‘एउटा नोटको जीवनी’, ‘खडेरी’, ‘ट्रक ड्राइभर’लगायतका आधा दर्जन कविता वाचनसमेत गरेका थिए । 

नेपाली साहित्यमा बहुविधाशिल्पी मानिने भूपिन ०५३ को दमौली कविता प्रतियोगितामा ‘नदीहरू मान्छेजस्ता हुँदैनन्’ कविताबाट प्रथम भएका थिए । त्यसपछिको अविच्छिन्न काव्ययात्रामा उनले थुप्रै पुरस्कार र सम्मान पाएका छन् । 

यसअघि उनका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६६) र ‘सुप्लाको हवाईजहाज’ (२०७२) कवितासंग्रह प्रकाशित छन् । त्यस्तै, ‘चौबिस रिल’ निबन्धसंग्रह (२०६९) र उपन्यास ‘मैदारो’ (२०७५) समेत प्रकाशित छन् ।