
पाँचौँ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । संस्थागत एवं निजी विद्यालय संगठन (युनिप्स) नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागी अन्य १८ विद्यालयलाई पछि पार्दै कुल एक सय ३३ अंकका साथ वेलननले उपाधि हात पारेको हो ।
प्रत्येक दुई–दुई वर्षमा हुने महोत्सवको यसअघि वेलननले रनिङ सिल्ड एकपटक आफ्नो पोल्टामा पारिसकेको थियो । पाँचौँ संस्करणसम्म आइपुग्दा वेलननले चौथोपटक उपाधि हात पारेको हो ।
पोखरा रंगशालामा चार दिनसम्म चलेको महोत्सवमा कुल एक सय १० अंकका साथ कालिका इंग्लिस सेकेन्डरी स्कुल दोस्रो, ७४ अंकका साथ पिनाकल एकेडेमी तेस्रो, ६३ अंक प्राप्त गर्दै स्माइल स्मल हेभेन सेकेन्डरी स्कुलले चौथो स्थान हात पारे ।
विजेता विद्यालय तथा खेलाडीलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उपमहानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरी, युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
महोत्वमा युनिप्समा आबद्ध १८ विद्यालयका चार हजार विद्यार्थीले भलिबल, फुटबल, खोखो, कबड्डी र एथलेटिक्सका खेलहरूमा प्रतिस्पर्धा गरेका थिए । यस प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडी पुरस्कृत भए ।