१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
१२ महिने छोरा काखमा च्यापेर मंसिरको चिसोमा पालमुनि आगो ताप्दै खप्तड छेडेदह गाउँपालिका– ५ सिम्पाटाकी २३ वर्षीया बाटुली सार्की ।
गगन अयडी बाजुरा
२०८० मङ्सिर १७ आइतबार ०८:५३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाजुराका भूकम्पपीडित दुई महिनादेखि पालमुनि

Read Time : > 3 मिनेट
गगन अयडी, बाजुरा
२०८० मङ्सिर १७ आइतबार ०८:५३:००

१४ सय ६० घर पूर्ण रूपमा क्षति, तर सरकारले अहिलेसम्म पहिचान गर्न सकेन वास्तविक पीडितको तथ्यांक

सरकारले दुई महिनादेखि बाजुराका भूकम्पपीडितहरूको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरू खुला पालमुनि बस्दै आएका छन् । मंसिरको कठ्यांगिँ्रदो चिसोका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । 

१६ असोजमा बझाङको तलकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले बाजुरामा १४ सय ६० घर पूर्ण रूपमा क्षति भएको थियो । बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भूकम्पपीडितहरूका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्काल अस्थायी आवास निर्माणका लागि १४ करोड रुपैयाँ निकासा गरेको जानकारी दिए । जिल्लाका नौवटा स्थानीय तहबाट क्षतिको यकिन विवरण आउन नसक्दा कुन पालिकामा कति रकम पठाउने भन्ने विषयमा अन्योल भएको उनको भनाइ छ । वास्तविक भूकम्पपीडित परिवारहरूको पहिचान गरी एक साताभित्र आवास निर्माणका लागि रकम पठाइसक्ने पौडेलले बताए । अहिलेसम्म पनि वास्तविक भूकम्पपीडितको पहिचान हुन नसक्नुमा वडा कार्यालय, राजनीतिक दल, स्थानीय सरकारका कर्मचारी र जनप्रतिनिधिहरू जिम्मेवारी रहेको उनले बताए । ‘उनीहरूको कमजोरीका कारण अहिलेसम्म वास्तविक भूकम्पपीडितको पहिचान र यकीन तथ्यांक आउन सकेको छैन,’ पौडेलले भने ।

भौगोलिक विकटता, यातायात तथा सञ्चारको असुविधा, राजनीतिक दलहरूकै कमजोरीका कारण जिल्ला विपत् व्यवस्थापन समितिमा चाँडो रिपोर्ट पठाउन नसकेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । हिमाली गाउँपालिकाको वडा १ विच्छयाँको गुम्बा जान गाउँपालिका कार्यालयबाट तीन दिन लाग्छ । मल्लले जिल्लाका नौवटै पालिकालाई प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् जोखिम न्यूनीकरण समितिका अध्यक्ष पौडेलले तीन दिनभित्र भूकम्पबाट क्षतिको विवरण पेस गर्न पत्र पठाएको बताए । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो । बैठकले एक परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने र पुसको पहिलो साताभित्र अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको थियो । १६ असोजयता पटक–पटक आएको भूकम्पले पूर्ण घर क्षति भएका १४ सय ६० परिवार खुला आकाशमुनि रहँदै आएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ ।

खप्तड छेडेदह गाउँपालिकामा नौ सय ९०, त्रिवेणी नगरपालिका एक सय १३, बडिमालिका नगरपालिकामा एक सय ९२, बुढीनन्दा नगरपालिकामा ६५, बुढीगंगामा २२, गौमूल गाउँपालिकामा २९, जगन्नाथ गाउँपालिकामा ३८, स्वामिकार्तिक गाउँपालिकामा नौ, हिमाली गाउँपालिकामा दुई गरी १४ सय ६० घरपरिवार पालमा बस्दै आएका छन् । 

नेपाल रेडक्रस सोसाइटी बाजुराले आठ सय त्रिपाल, आठ सय कमल, आठ सय भाँडाकुँडाका सेट वितरण गरेको छ । बाजुरामा सञ्चालित गैरसरकारी संस्था नामक उपहार नेपाल र नागरिक आवाज काठमाडौंको संयुक्त लगानीमा दुई लाखबराबरको खाद्यान्न वितरण गरिएको रेडक्रस सोसाइटी बाजुरा शाखा सभापति मेखराज जैसीले बताए । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले पीडितहरूका लागि गरेको खर्चको विवरण खुलाउन सकेका छैनन् । 

खप्तड छेडेदह गाउँपालिका– ५ सिम्पाटा दलित टोलकी २३ वर्षीया बाटुली सार्की १२ महिने छोरा काखमा च्यापेर मंसिरको चिसोमा पालमुनि आगो ताप्दै बसिरहेकी छिन् । भूकम्पले कच्ची घर पूर्ण रूपमा क्षति भएपछि उपहार नेपाल र जिल्ला रेडक्रस सोसाइटीले दिएको त्रिपाल टाँगेर रात बिताइरहेको बताइन् । सार्कीका श्रीमान् राकेश सार्की भारतको कुमाउ गढवालमा कामको खोजीमा जाने तयारीमा छन् । चिसोले १२ महिने छोरी रेजिना बिरामी हुँदा अछामको बयालपाटा अस्पतालमा तीन दिनसम्म उपचार गराएर घर ल्याएको बाटुली सार्कीको भनाइ छ । चिकित्सकले रेजिनालाई चिसोले निमोनिया भएको बताएका छन् । भूकम्पले विस्थापित भएका ४५ परिवार खप्तड छेडेदह गाउँपालिका– ५ सिम्पाटामा बस्दै आएका छन् । उनीहरू राहतको पर्खाइमा छन् । सरकारले समयमै चिसो छल्न, न्यानो कपडा, खाद्यान्न र अस्थायी आवासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।  

खप्तड छेडेदह गाउँपालिका– ५ कै ५५ वर्षीय सुशीला सार्की दुई महिनादेखि छोराछोरी काखमा च्यापेर पालमुनि बसिरहे पनि तीन तहकै सरकारले कुनै चासो नदेखाएको गुनासो गरिन् । ‘सरकारका मान्छे आउँछन् फोटो खिच्छन् जान्छन् । हामीलाई केही राहत दिँदैनन् । बालबालिका, वृद्धवृद्धा चिसोले प्रभावित भएका छन् । घरभित्र बसौँ सुरक्षित छैन । उपहार नेपालले दिएको पाल र कम्बल ओढेर दिन बिताइरहेका छौँ,’ उनले भनिन् ।

भूकम्पले आफ्नो दुई तलाको कच्ची घर भत्काएको उनले बताइन् । सुशीला सार्कीका श्रीमान् जगत सार्की मजदुरीका लागि भारत गएका छन् । उनका तीन छोराछोरी छन् । भूकम्पले घर भत्काउँदा तीन लाखबराबरको अन्नबाली च्यापिएको उनको भनाइ छ । ‘दुई महिनासम्म सरकार भूकम्पपीडितको बस्तीमा फर्केको छैन । चिसोले पालमुनि रात बिताउन निकै गाह्रो छ । रातभरि पालमुनि आगो तापेर कटाउँछौँ,’ सुशीलाले भनिन् ।

डोगढी स्वास्थ्यचौकीका इन्चार्ज दलबहादुर रावतले चिसोका कारण बिरामी भएर आउनेको संख्या केही समययता बढेको बताए । ‘दिनमा करिब एक सयभन्दा बढी झाडापखाला, रुघाखोकी, ज्वरोजस्ता लक्षण भएका विरामी आउने गरेका छन्, जसमध्ये ६० प्रतिशत भूकम्पपीडित परिवारका मान्छेहरू छन्,’ उनले भने । जटिलखाले बिरामीबाहेक अन्य सबैको स्वास्थ्यचौकीमै उपचार हुने गरेको उनले बताए । 

उपहार नेपालका कार्यक्रम जिल्ला संयोजक मानबहादुर रोकायाले भने तत्कालका लागि शान्ति भान्सा सञ्चालन गरे पनि अब पीडिहरूका लागि आवास निर्माण र न्यानो लुगाकपडा वितरण गर्ने गरी कार्यक्रम तयार पारिएको बताए । खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य संयोजक नन्दबहादुर राउतले भने एक महिनायता बढी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला बिरामी भएर आउने गरेको बताए । खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नन्दबहादुर रावतले भने चिसोका कारण भूकम्पपीडित परिवारका बालबालिका वृद्धवृद्धाहरू बढी मात्रामा प्रभावित भएको जनाकारी आएलगत्तै गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी औषधि पठाउने तयारी भइरहेको बताए ।

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले भूकम्पबाट पालिकामा नौ सय ९० घर पूर्ण क्षति भएको बताए । उनले रेडक्रस सोसाइटीले सात सयवटा राहत त्रिपाल र कमल, उपहार नेपाल र नागरिक आवाज काठमाडौंले प्रतिपरिवारलाई पाँच केजी दाल, ३० केजी चामल, तीन पोका तेल, तीन पोका नुन, तीन केजी चिनी, चियापत्ती, लुगाधुने सोडा साबुनजस्ता सामग्री वितरण गरेको बताए ।

युनिसेफ, युएनएपिएले उज्यालो नहुने परिवारका लागि सोलारबत्ती र डिग्निटी किट ७० सेट, किशोरी किट एक सय थान र एक सय थान त्रिपाल वितरण गरेका छन् । पहिलो चरण नौ सय ९० परिवारलाई तत्कालका लागि त्रिपाल पुगिसकेकाले दोस्रो चरणको राहत खाद्यान्न, न्यानो लुगाकपडा, विद्यार्थीहरूका लागि स्कुल ड्रेस, कापीकलमका लागि विभिन्न निकायसँग समन्वय गरी राहत संकलन गर्ने अभियानमा गाउँपालिका लागिपरेको अध्यक्ष रावतले बताए ।