१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पर्शुराम काफ्ले नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२१:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जलवायु सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन- ‘नेपालमाथि अन्याय भएको छ, अब रोकिनुपर्छ’

Read Time : > 3 मिनेट
पर्शुराम काफ्ले, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान लगभग शून्यमा भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको अनुभव सुनाएका छन् । युएईको दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालजस्ता मुलुकप्रति अन्याय भएको र यो रोक्न माग गरेका हुन् । 

जलवायु परिवर्तनबाट हिमनदी सकिँदै गएको र तल्लोतटीय क्षेत्रका अर्बौँ मानिसको जीविकोपार्जनमा नकारात्मक असर परेकामा समेत उनले विश्व समुदायलाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले बढ्दो तापक्रमले हिमाललाई यातना दिएको भन्दै बचाउन आह्वान गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड
हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा जनता पहिरो, बाढी, जंगलमा डढेलो, हिमताल विस्फोटको प्रकोप, खडेरीलगायत जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन् । यो सरासर अन्याय हो, अब रोकिनुपर्छ । विकसित देशहरूको प्रतिज्ञा र कार्य एक–अर्कासँग मेल खाँदैनन् । उनीहरूले आफ्ना प्रतिबद्धता तत्काल पूरा गर्नुपर्छ । यस संकटलाई सम्बोधन गर्न हामी आफैँलाई बचाउन हाम्रा हिमाल बचाऊ । वास्तवमा, यो प्रकृति र मानवताविरुद्धको युद्ध हो । आफ्नो अदूरदर्शी र स्वार्थी इच्छा पूरा गर्न हामी आफैँ र भावी पुस्तासँग युद्ध लडिरहेका छौँ । त्यसकारण, म यहाँ मेरा निर्दोष मानिसका लागि जलवायु न्यायका लागि उभिएको छु, जो यस प्रकोपबाट पूर्ण रूपमा पीडित छन् ।’

‘हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा जनता पहिरो, बाढी, जंगलमा डढेलो, हिमताल विस्फोटको प्रकोप, खडेरीलगायत जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सरासर अन्याय हो, अब रोकिनुपर्छ ।’ यो तीन करोड नेपालीको सन्देश रहेको उनको भनाइ थियो । 

प्रधानमन्त्री प्रचण्डले विकसित मुलुकका कारण नेपालजस्ता मुलुक आफ्नै भाग्यमा बाँच्न पछाडि परेको टिप्पणी गरे । ‘विकसित देशहरूको प्रतिज्ञा र कार्य एक–अर्कासँग मेल खाँदैनन् । उनीहरूले आफ्ना प्रतिबद्धता तत्काल पूरा गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘यस संकटलाई सम्बोधन गर्न हामी आफैँलाई बचाउन हाम्रा हिमाल बचाऊ ।’

जलवायु परिवर्तनबाट हुने हानि र क्षतिका लागि स्थापना गरिएका कोष अल्पविकसित र हिमाली देशका लागि सरलीकृत र पर्याप्त हुनुपर्ने पनि प्रधानमन्त्रीले उल्लेख गरे । ‘वास्तवमा, यो प्रकृति र मानवताविरुद्धको युद्ध हो । आफ्नो अदूरदर्शी र स्वार्थी इच्छा पूरा गर्न हामी आफैँ र भावी पुस्तासँग युद्ध लडिरहेका छौँ,’ प्रधानमन्त्रीले थपे, ‘त्यसकारण, म यहाँ मेरा निर्दोष मानिसका लागि जलवायु न्यायका लागि उभिएको छु, जो यस प्रकोपबाट पूर्ण रूपमा पीडित छन् ।’

विश्वका एक सय ८० मुलुक तथा करिब ५० हजार प्रतिनिधिमाझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसलाई उद्धृत गर्दै थपे, ‘प्रकृतिविरुद्धको युद्ध बन्द गर ।’ नेपालको सगरमाथा र अन्नपूर्ण क्षेत्रमा स्थलगत भ्रमणपछि हिमालमा जलवायु परिवर्तनको विनाशकारी प्रभाव देखेर महासचिव गुटेरेसले विश्वको ध्यानाकर्षण गराउँदै आएका छन् । 

प्रधानमन्त्री प्रचण्डले नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरे । ‘हामी सन् २०४५ सम्ममा नेट शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्ध छौँ । हामी विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिला हुनेछौँ,’ प्रधानमन्त्रीले भने, ‘तर, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण योजना कार्यान्वयन गर्ने हाम्रा प्रयासले गम्भीर वित्तीय र प्राविधिक खाडल सामना गरिरहेका छन् ।’ 

प्रधानमन्त्री प्रचण्डले अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको र उनीहरूलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको पनि उल्लेख गरे । जलवायुप्रेरित प्रकोपले हिमालयमा कीर्तिमान तोडिरहेको चिन्ताजनक अवस्थाबारे सार्वजनिक भएका प्रतिवेदनप्रति प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरे ।

‘हामीले हाम्रा हिमनदीहरूको एकतिहाइ गुमाइसकेका छौँ, वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि हामीले यस शताब्दीको अन्त्यसम्म अर्को एक तिहाइ गुमाउनेछौं’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो हामी सबैको लागि जागरण कल हो ।’

नेपालका तर्फबाट आयोजित बेग्लै बैठकमा पनि प्रधानमन्त्री पचण्डले संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेरेस, एन्डोराका प्रधानमन्त्रीलगायतका प्रतिनिधि सामू हिमालयको चिन्ता व्यक्त गरे । हिमाली मुलुकहरूले सामना गरिरहेको जलवायु परिवर्तनको असरका बारेमा प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका थिए ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)लाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । युएईको दुबईमा भएको सम्मेलनमा विश्वका १८० मुलुक तथा करिब ५० हजार प्रतिनिधि सहभागी थिए । तस्बिर : प्रदीपराज वन्त/रासस 

कार्यक्रममा क्रिगिज रिपब्लिक, भूटान, श्लोभेनिया, मोन्टेग्रो, युएनडिपीका प्रतिनिधि तथा जवलायु विज्ञ सहभागी थिए । ‘हिमालम जलवायु परिवर्तनको बढ्दो असर मानवजाति र इकोसिस्टम दुवैका लागि खतरनाक छ । मानव–प्रेरित तापमान परिवर्तनले गहिरो जलवायु अराजकता निम्त्याएको छ’प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल विश्वको सर्वोच्च स्थान सगरमाथाको देश हो । उच्च हिमाली क्षेत्र भएकोले जलवायु परिवर्तनका कारण उत्पन्न संकटको सामना अरुभन्दा पहिले नै नेपालले गरेको छ । म सबै अन्तर्राष्ट्रिय समुदायलाई भन्न चाहन्छु–आफैंलाई बचाउन हाम्रा हिमाल बचाऊ।’ 

हिमाली समुदायको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्याबाट बाहिर ल्याउन हिमाल र जलवायु परिवर्तन सम्बन्धी संवादको थालनी गर्न प्रधानमन्त्रीले सुझाब दिए । उनले भने, ‘हामी विश्व नेताहरू हिमाल, हिमाली इकोसिस्टम र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्छ।’

हिमाल, हिमाली सभ्यता, हिमाली पारिस्थितिक प्रणाली र हिमालका बासिन्दाहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालले कार्यक्रम आयोजना गरेको थियो । प्रधानमन्त्रीले भने, ‘हिमालमा जलवायु परिवर्तनले निम्त्याएका साझा चुनौतीहरूको सामना गर्न सहयोग र ऐक्यबद्धता हासिल गर्न खोजेका हौँ ।’

प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायको यात्रामा नेपाल विश्वका मुलुकहरूसँग लामो दुरीको यात्रा गर्न चाहेको र धेरै उपलब्धी हासिल गर्न खोजेको बताए । उनले पटकपटक दोहोर्‍याए,‘मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको श्रोत हिमालय भएको हो र हिमालय वास्तवमा तल्लो तटीय अरबौं मानिसहरूका लागि जीविकाको स्रोत हो ।’ 

आज स्वदेश फर्कंदै प्रधानमन्त्री 
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स (युएई) गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कंदै छन् ।

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड १३ मंसिरमा दुबई प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्ड १५ र १६ मंसिरमा ‘वल्र्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी भएका थिए ।

उनी युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा पनि सहभागी भए । प्रधानमन्त्रीले आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गरेर त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए ।

यसबाहेक प्रधानमन्त्रीले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेलीसँग छुट्टाछुट्टै भेतवार्ता गरेका थिए ।

ad
ad