
बागमती प्रदेशको राजधानी हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता– २०८०’मा पाँचौँ राउन्डसम्मको खेल सकिँदा विदेशी खेलाडीहरूले वर्चस्व कायम राखेका छन्।
प्रतियोगिताअन्तर्गत शुक्रबार पाँचौँ राउन्डको समाप्तिसम्म ४.५ अंकका साथ ६ जना उपाधि होडमा अग्रपंक्तिमा रहेका आयोजक मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार २३९३ रेटिङ भएका भारतीय खेलाडी शुभयान कुन्डु बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिन्हाज उद्दिनसँग बराबरीमा रोकिएका छन्। चौथो राउन्डमा सहज जित निकालेका शीर्ष वरीयताका भारतीय खेलाडी कुन्डु शुक्रबार भएको पाँचौँ राउन्डमा भने दोस्रो वरीयताका बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर उद्दिनसँग बराबरीमा रोकिएका हुन्। दुवैको ४.५ अंक रहेको छ।
यस्तै, प्रतियोगितामा भारतीय खेलाडी राहुल गुरुङले श्रायण मजुम्दार र बंगलादेशी एफएम नयेम हकले अमरदीप बर्तकेमाथि जित निकाल्दै भारतीय खेलाडी सुभयान कुन्डु र बंगलादेशी खेलाडी आइएम मोहमद मिन्हाज उद्दिन रसमानसँग ४.५ अंकको साथ उपाधिको होडमा आफूहरूलाई कायमै राखेका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
यता नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्वनेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले अभिनव कुमारलाई पराजित गर्दै ४ अंक जोडेका छन्। बंगलादेशी आइएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरू एफएम अरविन्दप्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देवौषणिक डे र अमरदीप बर्तकेले पनि समान ४ अंकका साथ खेलिरहेका छन्।
संघका अध्यक्ष श्रेष्ठले पाँचौँ राउन्डमा नेपाली युवा खेलाडी एरिना आइएम सुश्रुत दाहालले बंगलादेशी एफएम मोहमद सरिफ हुसैनसँग बराबरी खेल्दै ३.५ अंक प्राप्त गरेको जानकारी दिए। यसैगरी, बंगलादेशी एफएम महमद सरिफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरीले ३.५ अंक जोडेका अध्यक्ष श्रेष्ठले बताए।
उनका अनुसार शनिबार सातौँ र आठौँ चरणका खेल हुने र आइतबार नवौँ अर्थात् अन्तिम चरणको खेल हुनेछ। मकवानपुर बुद्धिचाल संघको आयोजनामा १३ गते बुधबारबाट सुरु भएको प्रतियोगिता १७ गते सम्पन्न हुनेछ।