Skip This
गैँडाको खागसहित तस्कर पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
तस्करले खाल्डो खनेर मारेका गैंडा
रासस चितवन
२o८o मङ्सिर १४ बिहीबार १२:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाको खागसहित तस्कर पक्राउ

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १२:१८:oo

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तस्कर पक्राउ गर्न खटिएको थियो।

गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।  मंसिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका– ३ बाट ६ र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुईजना पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन्।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगत रूपमा अध्ययन गरेर यही मंसिर १२ गते विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानालाई प्रतिवेदन बुझाएको छ।

निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो। घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो खटिएको थियो। आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरिँदै छ।

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए। पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो। कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो। गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ गैँडा रहेका छन्। नेपालमा सात सय ५२ गैँडा छन्।