
कोहलपुर नगरपालिका– ३ मदनचोकस्थित पाँचवटा पसलमा आगलागी भएको छ । कमलनाथ योगीको घरको सटरमा रहेका पसलमा रातको करिब १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । योगीको १० वटा कोठा भएको एकतले पक्की घरमा पाँचवटा सटरमा सञ्चालन गरिएका पसलमा भएको आगलागी नियन्त्रण गर्न कोहलपुर, नेपालगन्ज र बर्दियाको बाँसगढी नगरपालिकाका दमकल आएका थिए ।
आगलागीमा उषा कस्मेटिक एन्ड सु–सेन्टर (ब्युटिपार्लर) र करिश्मा टेलरिङ एन्ड ट्रेनिङ सेन्टर, क्रिष्टिना इम्पोरियम एन्ड टेलरिङ सेन्टर, दीपिका पुस्तक पसल र चित्रकोट जनरल स्टोरमा आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए । क्रिष्टिना इम्पोरियम एन्ड टेलरिङ सेन्टरबाट आगलागी सुरु भई अन्य पसलमा सल्केको उनले बताए । क्षतिको यकिन विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
चिसो बढेसँगै बाँकेमा विद्युत् सर्ट भएर आगलागी हुने घटना बढेका छन् । बुधबार बिहान नेपालगन्जको बिपीचोकस्थित अफोज शेषले सञ्चालन गरेको जनता सिरक पसलमा आगलागी भएको थियो । उक्त पसलमा पनि विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।