
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान प्रदेश संरचनामा आफ्नो पार्टीको असन्तुष्टि रहेको बताएका छन् । वर्तमान प्रदेश संरचनाले वर्तमान समयमा राम्रोसँग काम नगरेकाे उनले बताए। उनले वर्तमान संरचना भद्दा रहेको र यसले भ्रष्टाचार र दोस्रो तथा तेस्रो लहरका कार्यकर्ता पोस्ने कार्य मात्र गरेको बताएका छन् ।
उनले मन्त्रालयहरू थपघटलगायतका कार्यले कामकारबाहीमा असर परिरहेको बताउँदै प्रदेश संरचनामाथि गहन छलफल आवश्यक रहेको बताए । तीनदिने केन्द्रीय समिति तथा संसदीय समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले सो बताएका हुन् ।
सभापति लामिछानेले आफूहरू मधेश बुझ्न मधेश झरेको बैठक सुरु हुनुअगावै भनेकोमा बस्तीहरूमै गएर आएको प्रतिक्रियाबारे बैठकमा गहन छलफल भएको र मधेशलाई राष्ट्रिय स्वतन्त्र पार्टीले विशेष रूपमा हेर्नुपर्ने तथा प्राथमिकतामा राख्नुपर्ने देखिएकोमा सडकदेखि सदनसम्म रास्वपाले मधेशको मुद्दा उठाउने बताए ।
उनले आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशलाई विशेष प्राथमिकतामा राख्दै मधेशको स्वास्थ्य, शिक्षा र रोजगारका साथै मधेशको आधारभूत मुद्दाहरूमा काम गर्ने बताए ।
उनले रास्वपा वर्तमान स्थितिमा सरकारमा जाने भन्ने प्रश्नकाे जवाफमा सरकारमा जाने कुनै त्यस्तो संवाद कोहीसँग नभएको र आफूहरूको त्यस्तो कुनै सोचसमेत नभएको बताउँदै मजबुत प्रतिपक्षीको रूपमा रास्वपा प्रस्तुत हुने बताए । आफूलाई कुनै मन्त्रालयको अफरसमेत नआएको उनकाे भनाइ थियाे ।