Skip This
०८२ मंसिरमा महाधिवेशन गर्न प्रस्ताव आउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १४ बिहीबार o९:३३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

०८२ मंसिरमा महाधिवेशन गर्न प्रस्ताव आउँदै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o९:३३:oo

महासमिति बैठकका लागि तयार हुँदै गरेका प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिँदै, निर्वाचनपूर्व गठबन्धन नगर्ने दस्ताबेज बनाइँदै

कांग्रेसको नीति तय गर्ने गरी १६–१९ पुसमा हुन लागेको महासमिति बैठकमा ०८२ मा महाधिवेशन सुनिश्चित हुने गरी प्रस्ताव लैजाने तयारी छ । अलग–अलग प्रतिवेदन लेखनको जिम्मा पाएका महामन्त्रीद्वयले महाधिवेशनको मिति नै तोकेर प्रस्ताव लैजाने तयारी गरेका हुन् ।

महासमिति बैठकमा सांगठनिक प्रतिवेदनको जिम्मा महामन्त्री गगन थापा र समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी अर्का महामन्त्री विश्वप्रकाश शर्माले पाएका छन् । महामन्त्रीद्वय २४–२६ मंसिर ०८२ मा १५औँ महाधिवेशनको मिति प्रस्ताव गर्ने गृहकार्यमा छन् ।

प्रत्येक चार वर्षमा हुने गरी २४ मंसिर ०७८ मा भएको १४औँ महाधिवेशनको मितिलाई आधार मान्न लागिएको हो । महामन्त्री थापा ०८२ मा महाधिवेशन सम्पन्न गर्ने बाटोमा आफू केन्द्रित हुने सार्वजनिक उद्घोष गर्दै आएका छन् । जसका लागि नीति अधिवेशन महाधिवेशन सुनिश्चत गराउने उपयुक्त थलो हुने महामन्त्रीद्वयको बुझाइ छ ।

डा. प्रकाशशरण महत, प्रवक्ता, कांग्रेस
बैठकमा प्रस्तुत हुने कार्यपत्रका विषयमा महामन्त्रीहरूले हालसम्मका अवस्थाबारे ब्रिफिङ गर्नुभयो । प्रस्तुत गर्ने जनसरोकार र राष्ट्रिय महत्वका विषय तथा समसामयिक राजनीतिक विषय कसरी स्पष्ट ढंगबाट प्रस्तुत गराउने र पार्टीमा छलफल गर्ने भन्नेबारे छलफल भएको छ । बैठकमा प्रस्तुत गर्ने विषयवस्तु लिपिबद्ध गर्ने काम भइरहेको छ । अब कार्य सम्पादन समिति बस्छ, त्यसपछि केन्द्रीय समिति बैठक राखेर प्रस्तावलाई अन्तिम रूप दिनेछौँ ।

निकट नेताहरूका अनुसार महामन्त्रीद्वयले प्रस्तावमा निर्वाचनपूर्व गठबन्धन नगर्नेसहित पार्टी रूपान्तरणका विषय समेटेर ठोस दस्ताबेज र दृष्टिकोण दिने तयारी गरेका छन् । बुधबार धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा महासमिति बैठकको तयारी र प्रस्तावको विषयमा छलफल भएको छ । 

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा मूल तयारी समिति संयोजक सभापति शेरबहादुर देउवाको उपस्थितिमा व्यवस्थापन र तयारीका विषयमा पदाधिकारीलाई ब्रिफिङ गरिएको थियो । ‘बैठकमा प्रस्तुत हुने कार्यपत्रका विषयमा महामन्त्रीहरूले हालसम्मका अवस्थाबारे ब्रिफिङ गर्नुभयो । प्रस्तुत गर्ने जनसरोकार र राष्ट्रिय महत्वका विषय तथा समसामयिक राजनीतिक विषय कसरी स्पष्ट ढंगबाट प्रस्तुत गराउने र पार्टीमा छलफल गर्ने भन्नेबारे छलफल भएको छ । बैठकमा प्रस्तुत गर्ने विषयवस्तु लिपिबद्ध गर्ने काम भइरहेको छ । अब कार्य सम्पादन समिति बस्छ, त्यसपछि केन्द्रीय समिति बैठक राखेर प्रस्तावलाई अन्तिम रूप दिनेछौँ,’ प्रवक्ता महतले भने । 

प्रस्तावमाथि महामन्त्रीद्वयले गृहकार्य गरिरहेका छन् । यसका लागि कांग्रेसका बौद्धिक समूहसँग छलफल र निकट बौद्धिक समूहलाई परिचालन गरिएको छ । प्रस्तावको प्रारम्भिक खाका अन्तिम चरणमा छ । ‘१५औँ महाधिवेशनसम्मको क्यालेन्डर तयार भएको छ । उहाँहरूले निरन्तर छलफल र समन्वय गरिरहनुभएको छ,’ स्रोत भन्छ, ‘०८२ मा महाधिवेशन सम्पन्न गराउने, प्रि–इलेक्सन गठबन्धन नगर्ने र पार्टी रूपान्तरणको खाका प्रस्तुत गर्ने तयारी छ ।’

प्रस्तावमा महामन्त्रीद्वयले विभिन्न समयमा उठाउँदै आएका प्रस्ताव र पूरक प्रस्तावका रूपमा केन्द्रीय समिति बैठकमा पेस भएका प्रस्ताव पनि समेट्ने तयारी गरेका छन् । महामन्त्रीद्वयले पार्टीका कार्यक्रम र अन्य गतिविधिलाई समेत क्यालेन्डर बनाएर व्यवस्थित गर्न लागेका छन् । विधान कार्यान्वयन र पार्टीका बैठकदेखि सम्मेलन एवं महाधिवेशनसम्मलाई कार्यतालिकामा समेट्ने प्रयास छ । 

८ असोजमा बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठक तयारीका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा तयारी समिति गठन गरेको थियो । समितिमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्लाका सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरू रहने गरी मूल तयारी समिति गठन गरेको छ । बैठकले नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, सांगठनिक प्रतिवेदनको जिम्मा महामन्त्री थापा र समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तावको जिम्मा महामन्त्री शर्माले प्रस्तुत गर्ने निर्णय गरेको थियो । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पछिल्लो समय देशभर कांग्रेसका जिल्ला सम्मेलनका कारण नेता व्यस्त रहेको, तर साथै महासमिति बैठक व्यवस्थापनका काम पनि सँगसँगै भइरहेको बताए । उनले उपसभापति खड्का र महामन्त्रीद्वयले जिम्मेवारीअनुसार प्रस्ताव तयार गरिरहेको बताए ।

‘नेताहरूको जिम्मेवारीअनुसार बैठकमा पेस हुने नीतिगत, सांगठनिक र समसामयिक राजनीतिक प्रस्ताव तयारीको काम जिम्मेवारीअनुसार लेखन भइरहेको छ । प्रतिनिधि छनोट हुन बाँकी क्षेत्रमा छिटो सक्न ताकेता गरेका छौँ । सचिवालयले हल व्यवस्थापनलगायत व्यवस्थापकीय काम गरिरहेको छ,’ विश्वकर्माले नयाँ पत्रिकासँग भने ।  

महामन्त्री थापालाई प्रस्ताव तयार गर्न सघाइरहेका प्रताप पौडेलले प्रारम्भिक मस्यौदाको काम भइरहेको बताए । उनले विज्ञ, नेतृत्व र तल्लो तहसम्मको राय लिएर अन्तिम रूप दिइने बताए । ‘महामन्त्रीज्यूले प्रारम्भिक मस्यौदामा काम गरिरहनुभएको छ । हामीले सघाइरहेका छौँ,’ उनले भने, ‘एक चरणको काम भइसकेपछि यसमाथि नेतृत्व र तल्लो तहसम्मको राय लिएर अन्तिम रूप दिइनेछ ।’

महामन्त्री शर्माका स्वकीय सचिव दिनेश थापाले महामन्त्री शर्माको नेतृत्वमा खाकाका विषयमा गृहकार्य भइरहेको बताए । उनले आवश्यक परामर्शका आधारमा प्रारम्भिक खाका तयार भइरहेको बताए ।

३५ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोट हुनै बाँकी 
केन्द्रीय निर्वाचन समितिका अनुसार महासमिति बैठकका लागि प्रतिनिधि छनोट अन्तिम चरणमा छ । समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये ३५ मा निर्वाचन हुन बाँकी छ । 

पटक–पटक गरी पछिल्लो समय १० मंसिरसम्मको समयावधि तोकिएकामा निर्वाचन सम्पन्न नभएपछि २० मंसिरसम्म समय थप गरिएको छ । ‘निर्वाचन समितिमा १६५ मध्ये ३५ निर्वाचन क्षेत्रमा महासमिति सदस्य छनोट हुन बाँकी रहेको जानकारी छ । १० मंसिरभित्रको समयावधिमा सम्पन्न नभएकाले २० मंसिरसम्मको समय तोकेर निर्वाचन सक्न परिपत्र गरेका छौँ,’ समिति सदस्य श्रेष्ठले नयाँ पत्रिकासँग भने । निर्वाचन हुन बाँकी जिल्लामा भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, पर्वत र अर्घाखाँची गरी १० जिल्लामा निर्वाचन सम्पन्न भएको विवरण केन्द्रमा आएको छैन । मोरङ ३ र ५, सुनसरी २, ३ र ४, धनुषा २ र ३, महोत्तरी १, ३ र ४, बारा ३, पर्सा १, २ र ३, धादिङ १, काठमाडौं ४, ५ र ६ बाग्लुङ १, दाङ १ र ३ र कञ्चनपुर क्षेत्र नम्बर १ मा भने निर्वाचन भएको, तर विवरण प्राप्त नभएको निर्वाचन समितिको भनाइ छ ।