१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख २० बिहीबार o८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रुकुम पश्चिममा माओवादीद्वारा तीन हजार स्वयंसेवक परिचालित 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o६:oo

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न माओवादी रुकुम पश्चिमले तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ । पार्टीका सबै कमिटी र जनवर्गीय संगठनलाई स्वयंसेवक दलमा परिणत गर्ने निर्णय गरेको माओवादीले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा तीन हजार ८७ जना स्वयंसेवक परिचालन गरेको छ । यसबाहेक जिल्लाबाहिरबाट आएका स्वयंसेवक पनि छन् । 

मंगलबार भूकम्प प्रभावित आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा अस्थायी आवास निर्माण अभियानको सुरुवात भएको माओवादी रुकुम पश्चिमले जनाएको छ । जिल्लामा पार्टीका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा अस्थायी आवास निर्माण अभियान सुरु भएको हो । आफू तीनवटै पालिकामा खटिने टिम लिडर तथा प्रतिनिधिसभा सदस्य शर्माले बताए ।

उनले मंगलबार सानीभेरी गाउँपालिका– ४ को मेघा बलिबाङबाट अभियानको सुरुवात गरे । पहिलो चरणमा तीन–तीन दिनका दरले नौ दिन अस्थायी आवास निर्माण अभियानमा खटिने उनको भनाइ छ । सोमबारबाट तीन दिन सानीभेरी गाउँपालिका, त्यसपछि आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा अस्थायी आवास निर्माणमा खटिने शर्माले बताए । 

अस्थायी आवासका लागि काठको समस्या भएकाले भूकम्पले बस्न नमिल्ने भएका घरलाई भत्काएर खाली गर्ने र काठ, ढुंगालगायत सामग्री निकाल्ने कामबाट अस्थायी आवास निर्माणको अभियान थालिएको उनले बताए । उनले कार्यकर्तालाई छिटोभन्दा छिटो धेरै अस्थायी आवास निर्माण गर्न निर्देशनसमेत दिए । मौसम बदली भइरहेकाले तत्काल धेरैभन्दा धेरै आवास निर्माणको आवश्यकता रहेको बताउँदै उनले क्षति नभएका जिल्लाका सबै वडाबाट प्रतिवडा कम्तीमा २० जना स्वयंसेवक माग गरिएको बताए । 

प्रभावितको जग्गा भएको अवस्थामा सुरक्षित ठाउँको पहिचान गरी आवास निर्माण गरिने र जग्गा नभएको अवस्थामा भत्किएकै घरलाई हटाएर आवास निर्माण गरिने उनको भनाइ छ ।

सानीभेरीमा माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा टोली परिचालित छ । त्यहाँ प्युठानबाट अखिल क्रान्तिकारी र वाइसिएलको टोलीसमेत आएको छ । जिल्लाभरका सबै पाल हटाउने लक्ष्यका साथ अभियानको थालनी गरिएको माओवादी रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिए ।

जिल्ला कमिटीले एक महिनाभित्र अस्थायी आवासको व्यवस्थापन गर्ने निर्णय गरेकाले सोहीअनुसार अस्थायी आवास निर्माणको अभियान थालिएको उनले बताए । साथै, अस्थायी आवासका लागि सरकारी राहत प्राप्त गर्ने लाभग्राही सूचीकृत गर्ने काममा पनि पार्टीले सहजीकरणको काम गरिरहेको उनको भनाइ छ । रुकुम पश्चिममा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले पनि स्वयंसेवक परिचालन गरेका छन् । 

ad
ad