एक महात्मा आफ्ना केही शिष्यका साथ जंगलमा आश्रम बनाएर बस्थे । एक दिन कतैबाट एउटा बिरालोको बच्चो बाटो भुलेर आश्रममा आइपुग्यो । त्यो भोको बच्चालाई महात्माले दूध खुवाएर आश्रममै बस्ने व्यवस्था मिलाइदिए । बिरालोको बच्चो आश्रममै बस्न थाल्यो । केही दिनमै ऊ महात्माको प्यारो बन्न पुग्यो ।
तर, केही समयपछि नै त्यो बच्चो महात्माका लागि एउटा समस्या बन्न पुग्यो । साँझ र बिहानको समयमा महात्मा ध्यानमा बस्दा त्यो बिरालोको बच्चो कहिले उनको काखमा आएर बस्थ्यो । कहिले काँधमा
चढ्थ्यो । कहिले शिरमै चढ्थ्यो । ध्यानको समयमा हैरान भएपछि महात्माले आफ्ना एक शिष्यलाई बोलाएर भने– म जब बिहान, बेलुका ध्यानमा बस्छु, त्यसभन्दा अगाडि नै यो बिरालोको बच्चालाई आश्रमको चौरको कुनामा रहेको रुखमा बाँधिदिनू र मेरो ध्यान सकिएपछि मात्र खोलिदिनू ।
शिष्यले महात्माको आदेश पालना गरे । हरेक साँझ र बिहान बिरालोको बच्चो बाँधिन थाल्यो । महात्माको ध्यान निर्बिघ्न चल्न थाल्यो । बिस्तारै यो एक परम्परा नै बन्यो । एक दिन महात्माको निधन भयो । उनैका एक होनहार शिष्य उनको आसनमा विराजमान भए । उनको पनि साँझबिहानको ध्यानपूर्व बिरालो बाँध्ने चलन यथावत् थियो । ध्यान निर्बिघ्न चलिरहेको थियो ।
यस्तैमा एक दिन अकस्मात् बिरालोको मृत्यु भयो । अब भने आश्रममा बडो समस्या उत्पन्न भयो । ध्यानपूर्व बिरालो बाँध्ने परम्परा धान्न कहाँबाट बिरालो ल्याउने ? बिरालो पाइएन भने कतै ध्यानको परम्परा नै भंग हुने त होइन ? नयाँ गुरु र शिष्य बडो असमञ्जसमा परे । उनीहरूले गाउँ–गाउँ डुलेर बिरालो खोजी गरे । अन्ततः छिमेकी गाउँमा एउटा बिरालोको बच्चो भेटियो । उनीहरूले आश्रममा ल्याएर गुरुको ध्यानपूर्व त्यसलाई बाँधेर ‘परम्परा’लाई निरन्तरता दिए ।
महात्माले बिरालो किन बाँध्न लगाएका थिए भन्ने ज्ञान नभएका शिष्यले बिरालो खोजेर परम्परालाई निरन्तरता दिएजस्तै हामी पनि कतै परम्पराको नाममा बिरालो खोजिरहेका त छैनौँ ?