१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ६ आइतबार o९:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविले स्नातकोत्तर टपरलाई दिने  ‘कुलपति पदक’ अबदेखि हटाउने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:२६:oo

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको ‘कुलपति पदक’ अबदेखि नदिने भएको छ । विश्वविद्यालयमा मूल्यांकनको आधार ग्रेडिङ प्रणालीअनुसार हुने भएकाले सबै संकायमध्ये उत्कृष्ट विद्यार्थीलाई दिइने मेडल कटौती गर्न लागिएको हो । कुलपति पदकमा तीन तोला सुन राखिएको हुन्छ । ०१६ देखि गत वर्ष अर्थात् ४८औँ दीक्षान्त समारोहसम्म सो पदक वितरण गरिएको थियो । आगामी २ पुसमा हुने ४९औँ दीक्षान्त समारोहबाट यो पदक रोकिनेछ । 

मूल्यांकनको आधार फरक भएकाले यसलाई हटाउन लागिएको विश्वविद्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्प जोशीले सबै संकायमध्येबाट सर्वोत्कृष्ट अंक ल्याउनेलाई दिइने पदक मात्रै हटाउन लागिएको जानकारी दिए । ‘सबै संकायमध्येबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई दिइने पदक हटाउँछौँ,’ उनले भने, ‘ग्रेडिङ प्रणालीका कारण यो हटाउनुपरेको हो, किनभने कुन विद्यार्थी टपर हो भनेर छुट्याउन गाह्रो भयो ।’  तर, स्नातक तह र अन्य विभाग टपरहरूलाई दिने पदक तथा पुरस्कार भने कटौती गरिएको छैन । स्नातक तहमा अध्ययन गर्नेमध्ये एकजना उत्कृष्ट विद्यार्थीलाई एक तोला सुन जडित उपकुलपति पदक प्रदान गरिनेछ । त्यस्तै, विषयगत विभागअन्तर्गत २७ वटा मेडल वितरण गरिन्छ । यी मेडलमा विभाग टपरलाई १० आनासम्म सुनजडित पदक दिइन्छ । 

पुष्प जोशी परीक्षा नियन्त्रक, त्रिवि 
सबै संकायमध्येबाट स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई दिइने पदक हटाउँछौँ । ग्रेडिङ प्रणालीका कारण यो हटाउनुपरेको हो, किनभने कुन विद्यार्थी टपर हो भनेर छुट्याउन गाह्रो भयो ।

ग्रेडिङ प्रणालीअनुसार उत्कृष्ट विद्यार्थी छुट्याउन कठिन हुन्छ । यस प्रणालीमा जिपिए ४ ल्याउनेलाई उत्कृष्ट मानिन्छ । तर, सो जिपिए एकजना मात्रै विद्यार्थीले नल्याउने हुँदा उत्कृष्ट मापन गर्न कठिन हुन्छ । सोहीकारण आगामी पुसमा हुने दीक्षान्त समारोहदेखि यसप्रकारको मेडल वितरण रोक्ने तयारी भइरहेको मानविकी संकायका डिन कुसुम शाक्यले जानकारी दिइन् । ‘नम्बर प्रणालीका आधारमा उत्कृष्ट विद्यार्थी छुट्याउन सकिन्थ्यो, तर ग्रेडिङ प्रणालीमा गइसकेपछि जिपिए ४ ल्याउने विद्यार्थी एकजना मात्रै हुँदैन,’ उनले भनिन्, ‘त्यसकारण पनि यो रोक्न आवश्यक देखिएको हो ।’ 

यसअघि ४ साउनमा बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले पनि उत्कृष्ट हुने विद्यार्थीलाई दिइने मेडल हटाउनुपर्ने भन्दै यसको कार्यान्वयनका लागि परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयहरूलाई जानकारी गराउने निर्णय गरेको थियो । त्यस्तै, ३ असारमा बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकले पनि यसै वर्षदेखि लागू हुने गरी स्नातकोत्तरमा उत्कृष्टलाई दिइने ‘गोल्ड मेडल’ वितरण रोक्ने निर्णय गरेको थियो । 

त्रिविको विभाग टपर हुने विद्यार्थीलाई दिइने मेडल तथा पुरस्कार त्रिवि आफैँले खर्च गर्दैन । अर्थशास्त्रमा टपर हुनेलाई ताराप्रसाद चौधरी, भाषा विज्ञानमा रामविक्रम सिजापति, अन्तर्राष्ट्रिय कूटनीतिमा दुर्गाबहादुर सुवेदीलगायतले स्थापना गरेको संस्थाले पदक तथा पुरस्कार दिँदै आइरहेको छ । तर, स्नातकोत्तर र स्नातक तह टपरलाई भने त्रिविले नै रकम छुट्याएर मेडल दिँदै आएकोमा अबदेखि हटाउन लागिएको हो । 

त्रिविले आगामी २ पुसमा हुने दीक्षान्त समारोहको तयारी अघि बढाएको छ । यसपटकको दीक्षान्त समारोहमा ७४ हजार विद्यार्थी दीक्षित हुँदै छन् । फाराम भर्ने संख्या भने १२ हजार पाँच सय मात्रै छन् । दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनेछन् । 

ad
ad