
परराष्ट्रप्रवक्ता सेवा लम्साल भन्छिन्–सबै कूटनीतिक च्यानल प्रयोग गरेका छौँ । हामी प्रतीक्षामा छौँ ।
इजरायल–हमास युद्धविराम सम्झौतापछि रिहाइ हुने प्रतीक्षामा रहेका विपिन जोशीको रिहाइबारे अनिश्चितता कायमै छ । युद्धविराम सम्झौताको चौथो दिनसम्म उनी रिहा भएका छैनन् । उनी हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भए पनि उनीसँग कसैको सम्पर्क भएको छैन ।
‘हामी विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ । उपलब्ध सबै कूटनीतिक च्यानलको प्रयोग भएको छ । उहाँको रिहाइका लागि हामी प्रतीक्षारत छौँ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘विपिन जोशीको रिहाइका लागि हरसम्भव प्रयत्न भइरहेको छ ।’
युद्धविराम सम्झौताको चौथो दिनसम्म ५८ जना विदेशीलाई हमास समूहले मुक्त गरिसकेको छ । तर, नेपालका जोशी रिहा हुने विषयमा सरकारदेखि परिवार बेखबर छ । ‘परराष्ट्रमन्त्री विपिन जोशीको रिहाइका लागि दिनरात मिहिनेत गरिरहनुभएको छ । सबै कूटनीतिक च्यानलमा, राजनीतिक नेतृत्वसँग प्रयास भइरहेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले भने ।
इजरायल, कतार र इजिप्टस्थित नेपाली राजदूतावासले ती देशमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी राखेको परराष्ट्र स्रोतले बताएको छ ।
कञ्चनपुरका जोशी २० असोजदेखि गाजा क्षेत्रमा हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भएको छ । परराष्ट्रमन्त्री साउदले गत बिहीबार नेपालका लागि इजरायलका राजदूत हनान गोदरसँग जोशीलाई पहिलो चरणमै रिहाइका लागि प्रयास गर्न अनुरोध गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री साउद र परराष्ट्र सचिव भरतराज पौड्यालले गत साता नेपाल आएका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखीसँग पनि जोशीको रिहाइका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । इजरायल र हमास समूहबीच युद्धविराम गराउन सबैभन्दा बढी भूमिका कतारले निर्वाह गरेको छ ।
हमास समूहको आक्रमणमा गत २० असोजमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । त्यही दिनदेखि कञ्चनपुरका विपिन जोशी बेपत्ता छन् । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत जोशी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।