Skip This
दुई शिर भएको पक्षी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १२ मंगलबार o६:o८:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार o६:o८:oo

उहिल्यै जंगलमा भारुन्ड नामको एउटा विचित्र किसिमको पक्षी बस्थ्यो । उसको शरीर एउटै थियो भने शिरचाहिँ दुई थिए । दुवै शिरको स्वभाव अलग–अलग थियो, किनकि उनीहरूको मस्तिष्क दुइटा थिए । यसैका कारण यी दुई शिरबीच पटक्कै मेल थिएन । दुवै शिर आपसमा झगडा गरिरहन्थे । 

एक दिन आहारा खोज्दै जाने क्रममा एउटा शिरले जमिनमा अनौठो फल देख्यो । यसो ठुँगेर चाख्दा त्यो फल निकै स्वादिष्ट लाग्यो । ऊ निकै खुसी भयो । जिब्रो फड्कारी–फड्कारी स्वादको बखान गर्न थाल्यो । बखान सुनेर दोस्रो शिरले पनि फल चाख्न चाह्यो, तर पहिलो शिरले छुनसमेत दिएन । उसले दुवैको शरीर एउटै भएकाले आफूले खाए पनि एकै ठाउँमा पुग्ने भन्दै दोस्रो शिरलाई त्यसको स्वाद लिनै दिएन ।

आफूले मात्र जिब्रो फड्कारी–फड्कारी फलको स्वाद लियो । यस घटनापछि दोस्रो शिरले जसरी भए पनि पहिलो शिरसित बदला लिएरै छाड्ने अठोट गर्‍यो । एक दिन आहारा खोज्दै जाने क्रममा दोस्रो शिरले आफूले खोजेजस्तै विशेष फल देख्यो र हत्तपत्त त्यसलाई खान तयार भयो । यो सब देखेपछि पहिलो शिरले उसलाई रोक्दै भन्यो– यो फल निकै विषालु छ । यसको सेवनबाट हाम्रो ज्यानसमेत जान सक्छ । दोस्रो शिरले भन्यो– चुप लाग्, उस दिन आफूले देखेको फल आफूले मात्र खाएको तैँले बिर्सिस् ? म जेसुकै खाऊँ, तँलाई के चासो ? पहिले शिरले उसलाई सम्झाउँदै भन्यो– यो फल खाँदा हामी दुवै मर्छौँ । 

पहिलो शिरको चेतावनीपछि पनि दोस्रो शिरले चर्को स्वरमा जवाफ दियो– ए, तैँले फल खाँदा स्वादिलो, मुखै रसाउने हुने, मैले खाँदाचाहिँ तँ मर्छस् कि भन्ने चिन्ता मैले नै गरिदिनुपर्ने ? तँ चुप लाग्, म फल खाएरै छाड्छु । दोस्रो शिरले फटाफट त्यो विषालु फल ठुँगीठुँगी खायो । एकैछिनमा विषको प्रभावले छट्पटिँदै दुवैको ज्यान गयो । अर्काको ईष्र्या गर्दागर्दै कतै हामी पनि भारुन्ड पक्षी त बनिरहेका छैनौँ ? एकपटक सोचौँ ।