१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ११ सोमबार १९:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कप टी–२० क्रिकेट : आर्मी र मधेश प्रदेश विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १९:o५:oo

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता २०८०’ मा सुखद सुरुवात गरेको छ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा जित हात पार्दै आर्मीले सुखद सुरुवात गरेको हो। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत पाँचौँ दिनको खेलमा आर्मीले आयोजकको निलो टिमलाई ११० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

खेलमा पहिलो ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको थियो। १९६ रनको लक्ष्य पाएको आयोजक निलो १५.४ ओभरमा अलआउट हुँदै ८५ रनमा सीमित हुन पुगेको थियो।

आर्मीका लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ४१ रन जोड्ने क्रममा ३५ बलमा सात चौका प्रहार गरेका थिए। विनोद भण्डारीले २४ बलमा समान तीन चौका र एक छक्कासहित ३८, विवेक यादवले १४ बलमा तीन चौका र दुई छक्कासहित २९, खेलका म्यान अफ दी म्याचसमेत रहेका कुशल मल्लले २१ बलमा तीन छक्कासहित २५, वासिर अहमदले १४ बलमा दुई चौका र एक छक्कासहित २३ र रोहित पौडेलले ६ बलमा समान एक चौका र छक्कासहित १२ रन बनाए।

आयोजक निलोका लागि निर्भीक पाठकले २३ बलमा पाँच चौका र एक छक्कासहित २८, रणवीर यादवले १८ बलमा दुई चौकासहित १६, ओपनर रोनिम तिवारीले १९ बलमा दुई चौकासहित १५ र सिमोन रोयले १२ बलमा एक छक्कासहित १० रन जोडेका थिए।

निलोका मेहुल श्रेष्ठले दुई, कुशल रूपाखेती, शुभम् खनाल र दाबन सहनीले समान एक–एक विकेट लिएका थिए। आर्मीका कुशल मल्लले तीन, जितेन्द्र मुखिया र साहब आलमले समान दुई–दुई तथा विवेक यादव र रोहित पौडेलले समान एक–एक विकेट हात पारे।

सुदूरपश्चिमविरुद्ध मधेश आठ विकेटले विजयी
आजै भएको अर्को खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ। खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम १५.५ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनमा समेटियो।

५९ रनको झिने लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रेको मधेशले ९२ बल बाँकी रहँदै लक्ष्य पूरा गर्‍यो। उसले ४.४ ओभरमा दुई विकेट गुमाउँदै ६२ रन जोडेको थियो।

सुदूरपश्चिमका लागि नरेन साउदले २२ बलमा एक चौका र छक्का प्रहार गदै टोलीका लागि सर्वाधिक १८ रन जोडेका थिए। किरण ठगुन्ना र भोजराज भाटले समान १३ बलमा दुई चौकासहित १०-१० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। ओपनर अभिषेक पाल दुई बल खेल्दै शून्य रनमा आउट भए भने कप्तान राजु रिजाल चार बल खेल्दै जम्मा दुई रन बनाएर बाहिरिए।

झिनो लक्ष्य पछ्याउँदै मैदान उत्रेको मधेशका लागि अनिल शाहले ११ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २५, इमरान शेखले नौ बलमा दुई चौका र एक छक्कासहित १७, पवन सर्राफ पाँच बल नट आउट रहँदै दुई चौका र एक छक्कासहित १४ रन जोड्न सफल भए। टोलीका कप्तानसमेत रहेका ओपनर हरिशंकर साह तीन बल खेल्दै शून्य रनमा आउट भएका थिए।

खेलका म्यान अफ दी म्याच बनेका मधेशका हरिशंकर साहले चार, रूपेश सिंहले तीन तथा विशाल पटेल, प्रदीप पासवान र विशाल सुस्लिङले समान एक–एक विकेट लिँदा सुदूरपश्चिमका गजेन्द्र बोहराले दुई विकेट लिएका थिए।