१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एसपी ढकाल
२o८१ बैशाख १९ बुधबार o७:३६:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भूकम्पपछि पुनर्निर्माणका चुनौती र अवसर

ध्वस्त घरहरूको पुनर्निर्माण पहिलो प्राथमिकतामा परे पनि बस्नै नमिल्ने गरी उच्च जोखिममा रहेका घरको पुनर्निर्माणको प्राथमिकता तय गर्नु चुनौतीपूर्ण छ

Read Time : > 4 मिनेट
एसपी ढकाल
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३६:oo

रातहरू आउँछन् अनि जान्छन् । कतिपय रात यस्ता हुन्छन् जो कहिल्यै बिर्सन नसक्ने छाप छोडेर जान्छन् । मथिंगल हल्लाउँछन् । जिन्दगीभरको कमाइ र सपना क्षणभरमै माटोमा मिलाइदिन्छन् । सहारा र जिउने आधारविहीन बनाइदिन्छन् । त्यस्तै भएको छ, १७ कात्तिक, ०८० को रात पनि । जुन रात जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । सोही भूकम्पका कारण त्यहाँका बस्तीहरू उजाड छन् । गाउँहरू शोकमा छन् । बाँचेकाहरूको मन छियाछिया भएको छ । हृदय चिरा परेको छ । अपूरणीय क्षति भएको छ । 

भूकम्पले १५४ जनाको ज्यान लियो । ३६६ जना घाइते भए । २६ हजार ५५७ घरमा पूर्ण र ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको प्रारम्भिक तथ्यांक छ । सार्वजनिक भौतिक संरचनासमेत तहसनहस भएका छन् । जाजरकोट, रुकुम (पश्चिम), सल्यानसहित आसपासका १३ जिल्ला यस भूकम्पबाट प्रभावित छन् । 

कहाँ चुक्यौँ हामी ? :  भूकम्प प्रकृतिको उपज हो । यसलाई न कसैले रोक्न सक्छ न कसैले छेक्न नै । भूकम्पप्रतिरोधी संरचना निर्माण गरेर मात्रै हुन सक्ने क्षतिलाई कम गर्ने हो । त्यतातिर हाम्रो ध्यान जान सकेन । त्यसले प्राथमिकता पाएन । समयमै ध्यान नदिने, अनि बिग्रेपछि पछुताउने हाम्रो प्रवृत्ति नै छ । यसपटक पनि त्यस्तै भयो । भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ भन्ने मनन भयो, तर कार्यान्वयन भएन । 

बाजेका पालामा समेत भूकम्पप्रतिरोधी संरचना निर्माणको हेक्का थियो । तर, पछिल्लो पुस्ता थप गैरजिम्मेवार बन्दै गयो । भूकम्पप्रतिको सावधानीमा हेलचेक्र्याइँ भयो । जस्तो पायो त्यस्तै ढुंगा प्रयोग भयो । ताल नमिलेका ससाना ढुंगाको गारो बने । पुराना घरका बीचबीचमा लामो काठ राखिन्थ्यो । जसले टाइबिमको जस्तै काम गथ्र्यो । त्यस्ता घर अहिले पनि चर्केका छैनन् । चर्किहालेका भए पनि ती ढलेनन् । बस्नै नसक्ने गरी उच्च जोखिममा परेनन् । अहिले ढुंगा र माटो जोडाइका घरमा त्यस्तो काठ राख्न छोडिएको छ । जसले गर्दा घरहरू कमजोर भए । 

सँगैका दुई घरमध्ये एक घर ध्वस्त छ, अर्को घर सकुशल । यो हुँदै गर्दा दक्ष मिस्त्रीको सीपले पनि सम्बन्ध राखेको छ । घर ठड्याउने कुरालाई मात्र महत्व दिइयो । संरचना बलियो कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भले स्थान पाउन सकेन । हामीले प्राविधिक ज्ञान र सीपलाई प्रश्रय दिन सकेनौँ । न त परम्परागत सीपलाई नै पूर्ण अँगाल्न सकेका छौँ न त नवीन प्राविधिक ज्ञान सीप नै हाम्रा प्राथमिकतामा परेका छन् । 

नयाँ घर बनाउँदा नक्सा पास गर्नुपर्ने अनिवार्य व्यवस्था छ । तर, त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । नक्सा पासलाई बोझ र झन्झटका रूपमा बुझ्ने प्रवृत्ति छ । स्थानीय तहले कर असुल्न गरेको व्यवस्था भनेर गलत टिप्पणी हुने गरेको छ । त्यसलाई स्थानीय तहले पनि कडाइपूर्वक कार्यान्वयन गर्न नसकेको अवस्था छ । जसले गर्दा प्राविधिक निगरानी, निर्देशन र समन्वयको पाटो कमजोर हुन पुग्यो । परिणामतः हाम्रा संरचना पनि कमजोर बने । 

भूकम्पअघि व्यक्तिको आर्थिक हैसियतसँग घरको आकार, प्रकार र उचाइ जोडिन्थ्यो । अब प्रायः एकै प्रकारका घर बन्नेछन् । सबैको हैसियत समान देखिनेछ । एकै रङ, आकारप्रकार र उचाइका घर बन्नेछन् । 
 

रुकुम (पश्चिम) र आसपासका क्षेत्रका घरहरू ढुंगा र माटोको जोडाइबाट बनेका छन् । त्यसमा थप छानोसमेत ढुंगाले बनाएको पाइन्छ । जति छानोको भार बढ्छ त्यति भित्तालाई थेग्न गाह्रो हुने हो । तलामाथि तला थप्ने प्रवृत्तिले भूकम्पको कम्पन्न थेग्न नसक्दा जोखिम निम्तिएको देखिन्छ । 

आँखाले देख्दा र नभोग्दासम्म नपत्याउने प्रवृत्ति छ । भूकम्प जाने कुरा त निश्चितजस्तै छ । तर, हामीले पत्याएनौँ । सचेत र सजग बन्नुपर्नेमा पूर्णतः बेवास्ता गर्‍यौँ । जसले बलियो संरचनाभन्दा पनि छोटो समयमा आकर्षक रूपरङका झिल्के संरचना खोज्यौँ । जसले गर्दा हाम्रा अधिकांश भौतिक संरचना कमजोर बने । 

चुनौतीहरू :  चिसो मौसम छ । पीडितहरूको त्रिपालमुनिको वास छ । आकाशबाट पानी पर्ने सम्भावना पनि उत्तिकै छ । न त पर्याप्त न्यायो कपडाको जोहो नै भएको छ । घर बनाउने कुरा बजारमा सामान खरिद गरेजस्तो सजिलो छैन । यसले निश्चित प्रक्रिया र समय लिन्छ नै । गाउँमा प्रायः घर पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । जसले पर्याप्त श्रमिक र दक्ष जनशक्तिको अभाव हुने देखिन्छ । 

ढुंगा र माटोको जोडाइबाट निर्माण भएका घर छन् । ध्वस्त घर त पुनर्निर्माण गर्नुपर्ने नै भइहाल्यो । चर्केका घर मर्मत गरेर बस्ने अवस्था देखिँदैन । ९५ प्रतिशतभन्दा बढी घर पुनर्निर्माण नै गर्नुपर्ने अवस्था छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मुख्य चुनौती बनेको छ । 

त्रिपालमुनिको वासले हिउँद काट्न सम्भव छैन । यसको समाधान घरको पुनर्निर्माण कार्यलाई यथाशीघ्र कार्यान्वयनबाट मात्र सम्भव छ । झन्झटिलो र आरामदायी प्रक्रियामुखीभन्दा संक्षिप्त कार्यविधि आवश्यक छ । पुनर्निर्माणलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने र छिटोभन्दा छिटो घर निर्माण गर्ने चुनौती रहेको छ । 

ध्वस्त घरहरूको पुनर्निर्माण पहिलो प्राथमिकतामा पर्ने भइनैहाल्यो । चर्केर बस्न नमिल्ने घरहरू जो उच्च जोखिममा छन्, तिनको पुनर्निर्माणको प्राथमिकता कसरी तय गर्ने भन्ने चुनौती रहेको छ । एकै प्रकृतिका धेरै घर छन् । एकै चरणमा सबै घर पुनर्निर्माण गर्न नसक्ने अवस्था रहेमा प्राथमिकतामा विवाद सिर्जना हुने देखिन्छ । त्यसका लागि निश्चित मापदण्ड र आधार आवश्यक छ । 

आर्थिक अवस्था कमजोर भएका दुईभन्दा बढी परिवार एउटै घरमा बसेको अवस्था थियो । कैयौँ घर भत्किएका छन्, कैयौँ चर्किएका छन् । ती परिवारका लागि एउटै घर निर्माण गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने सवाल पनि रहेको छ । यसले गर्दा जनगणनामा भएको घरधुरीभन्दा निर्माण गर्नुपर्ने संख्या बढ्ने देखिन्छ । 

भूकम्पपीडित सबै परिवारको आफ्नै स्वामित्वको जग्गा छैन । कतिपयले व्यावहारिक रूपमा मात्रै घर बनाएर बसेको अवस्था थियो । जग्गाको आफ्नै स्वामित्व नभएका त्यस्ता परिवारलाई कसरी सम्बोधन गर्ने भन्ने सवाल पनि महत्वपूर्ण देखिन्छ । कतिपय अर्काको घरमा बस्दै आएका थिए । यसरी आफ्नो नाममा घर या जग्गा केही पनि नभएका परिवार पनि बिचल्लीमा परेका छन् । 

भूकम्पीय जोखिम मात्रै विपत् होइन । पहाडमा पहिरोको पनि उत्तिकै जोखिम छ । कतिपय परिवारको हाल बसोवासको स्थान पहिरोको जोखिमा छ । त्यस्ता परिवारको अर्को वडा वा पालिकामा आफ्नो स्वामित्वको जग्गा हुन पनि सक्छ । पुनर्निर्माणका क्रममा अर्को स्थानमा घरनिर्माण गर्न पाउने वा नपाउने भन्ने अन्योल अन्त्य गर्न स्पष्ट सम्बोधन जरुरी छ । 

अवसरहरू :  विपत्सँगै पुनर्निर्माणको अवसर पनि रहेको हुन्छ । जोखिमयुक्त बस्ती स्थानान्तरणको अवसर पनि भूकम्पपछिको पुनर्निर्माणले प्राप्त गरेको छ । विशेष गरी पहिरोको जोखिमयुक्त क्षेत्रलाई सुरक्षित स्थानमा सार्न सकिन्छ । ०७२ सालमा गोरखा भूकम्पको पुनर्निर्माणको अनुभव कार्यान्वयनको अवसर पनि रहेको छ । पुनर्निर्माणमार्फत एकैपटक भूकम्पप्रतिरोधी घरनिर्माण गर्न सकिने अवस्था बनेको छ । 

भूकम्पअघि कुनै घर साना र कुनै घर ठूला देखिन्थे । आर्थिक हैसियतसँग घरको आकार, प्रकार र उचाइ जोडिन्थ्यो । अब प्रायः एकैप्रकारका घर बन्नेछन् । सबैको हैसियत समान देखिनेछ । एकै रङ, आकार र उचाइका घर बन्नेछन् । एकीकृत बस्ती विकासको सम्भावना बढेको छ । 

सबैको ध्यान र प्राथमिकता व्यक्तिगत कामकाजमा छ । सहयोग, सहकार्य र सद्भाव हराएको आभास थियो । तर, सुख–दुःखमा छिमेकी र मानवताको अनुभूति दिलाउने अवसर पैदा भएको छ । उद्धार, राहत र पुनर्निर्माणले आत्मीयता बढाएको छ । हार्दिकता कायम गरेको छ । सामाजिक उत्तरदायित्व र जिम्मेवारी प्रवद्र्धन भएको छ ।

भूकम्पपीडितको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारले आफ्नो भूमिका सशक्त बनाएको छ । यसले राष्ट्रियता बलियो हुन्छ । नागरिकतामा आशा, विश्वास र भरोसा पैदा गरेको छ । सरकार र राजनीतिक दलले उपस्थिति जनाउने र जनताको समर्थन प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो । 

भूकम्पपीडितको सहयोगका लागि सरकार र राजनीतिक दलहरू सँगसँगै उभिएका छन् । आपसी सहयोग सहकार्य र जनताको प्राथमिकतालाई सम्बोधन गर्न एकाकार हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसले दलहरूप्रतिको विश्वास उचो बनेको छ । दलगत स्वार्थबाट माथि उठेको आभास मिलेको छ । राजनीति सेवा रहेछ भन्ने आभास दिलाउन मद्दत पुगेको छ । 

अन्त्यमा :  भूकम्प जुनसुकै वेला पनि आउन सक्छ भन्ने हामी सबैलाई थाहा छ । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा छ भन्ने हेक्का पनि नभएको होइन । तर, संरचना निर्माणमा हाम्रो लापरबाही छ । गैरजिम्मेवारपना छ । संवेदनशीलतालाई नजरआन्दाज गर्ने प्रवृत्ति छ । भूकम्प आफैँले क्षति गर्दैन । क्षति पुग्ने भनेको हाम्रो कमजोर संरचनाले हो । भूकम्पपीडितका लागि मलम लगाउन शीघ्र पुनर्निर्माणमा जुट्न आवश्यक छ । नागरिकलाई सुरक्षित आवासभित्र बस्ने अवस्था सुनिश्चित गर्न ढिला गर्नुहुँदैन । सरकारको नेतृत्वमा साधन–स्रोतको व्यवस्था र परिचालनको संयन्त्र शीघ्र क्रियाशील हुन जरुरी छ । ता कि अर्को कुनै राष्ट्रिय संकट र विषयले भूकम्पपीडितको समस्या समाधान गर्ने सन्दर्भ ओझेलमा नपरोस् ।

 (ढकाल चौरजहारी नगरपालिका, रुकुम (पश्चिम)का निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन्) 

ad
ad