
नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ।
स्थापना दिवसको अवसरमा भारतस्थित प्रतिष्ठित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान दिएका विशिष्ट व्यक्तिको रूपमा सम्मानित गरेको हो।
नोभेम्बर २५ मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्दछ। १०३औँ स्थापना दिवसको अवसरमा कांग्रेस नेता लेखकसहित सात पूर्वविद्यार्थीलाई विश्वविद्यालयले सम्मान गरेको हो।
विश्वविद्यालयले विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने आफ्ना पूर्वविद्यार्थीलाई सम्मान गर्दै आएको छ। लखनउ विश्वविद्यालयले भारतलगायत विदेशको शैक्षिक विकासमा समेत ठूलो योगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिएको बताए।
‘केही समयअघि लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक कुमार र नेपालका त्रिभुवन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिबीच शैक्षिक विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको अवस्था छ,’ नेता लेखकले भने, ‘नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारीलगायतका सम्झौताहरू कार्यान्वयनका लागि मेरो पहलकदमी हुनेछ।’
नेता लेखकले सन् १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए। लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतकसमेत छन्। यसअघि दुईपटक मन्त्री भइसकेका नेता लेखक कञ्चनपुर– ३ बाट निर्वाचित सांसद हुन्।