१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
बर्दियाको गुलरिया नगरपालिका– ४ तुलापुरस्थित भरत चन्दको घर ।
२o८१ बैशाख २२ शनिबार o९:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मैनबत्तीबाट सल्केको आगोले तीन बालबालिकासहित चारको मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:oo:oo

बर्दियामा मैनबत्तीबाट सल्केको आगोबाट आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । शुक्रबार राति करिब साढे १० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा डेढ वर्षीय कार्तिक चन्द, सात वर्षीय कृष चन्द, नौ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको हो । राधा र मानसी आमाछोरी हुन् ।

आगोले जलेर करिश्मा चन्द घाइते भएकी छिन् । उनको बर्दिया अस्पतालमा उपचार भइरहेको छ । बर्दिया अस्पतालका जनरल सर्जन डा. विजय उपाध्यायका अनुसार घाइतेको शरीरको २६ प्रतिशत भाग जलेको छ । 

आगलागीमा परी मृत्यु भएका चारैजनाको शव जलेको अवस्थामा फेला परेको थियो । राधा बुढा छोरी लिएर माइत गएकी थिइन् । इँटा र टायलबाट बनेको घरको एक कोठा पूर्ण रूपमा नष्ट भएको छ । कोठाभित्र रहेका सम्पूर्ण सामान जलेर पूरै नष्ट भएका छन् । घरधनी भरत चन्द (घाइते करिश्माका श्रीमान्) भने कामविशेषले बाँकेको कोहलपुर गएका थिए । 

तीन दिनदेखि विद्युत् लाइन बिग्रिएकाले मैनबत्तीबाट आगो सल्किएको घाइते करिश्माले बताइन् । फ्रिजमाथि मैनबत्ती बालेर सुतेको र सँगै रहेका अन्य मैनबत्ती हुँदै कपडामा सल्किएर आगो लागेको हुन सक्ने घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आगलागी हुँदासम्म घरमा सबै सुतिसकेको हुनाले चारजनाको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । बर्दियामा हरेक वर्ष आगलागीका घटना हुने गरेका छन् । विपत् व्यवस्थापन समिति बर्दियाको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९–८० मा ४४ घरपरिवार आगलागीको घटनामा परेका थिए ।

जसबाट ठूलो धनमालको नोक्सानी र तीनजना घाइते भएका थिए । अघिल्लो आव ०७८–७९ मा ३६ घरमा आगालागी हुँदा २२ जनाको मृत्यु भएको थियो । ७९ जना घाइते भएका थिए । आव ०७७–७८ मा एक सय ६२ घरमा आगालागी हुँदा तीनजनाको मृत्यु र आठजना घाइते भएका थिए । 

ad
ad