१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
रासस विराटनगर
Invalid date format १७:३१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोशीमा प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित

Read Time : > 1 मिनेट
रासस, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ।

बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ शनिबार सर्वसम्मत पारित भएको हो।

सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए। सो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्तुत गर्दा सदनले सर्वसम्मतिले पारित गरेको हो।

प्रतिस्थापन विधेयकअनुसार चालू आवका लागि कुल रु ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार बजेटमा पुँजीगत खर्च रु २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र चालू खर्च रु १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार विनियोजन भएको छ। बजेटमा रु तीन करोड ४७ लाख ८५ हजार थप व्ययभार हुने उल्लेख छ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी बजेट विनियोजन गरेको दाबी गरे। समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको भन्दै उनले विकास र समुन्नत प्रदेशको यात्रा प्रारम्भ भएको दाबी गरे।

मानव पुँजीलाई उच्च प्राथमिकतामा राखी गरिबी निवारण गर्नेतर्फ बजेट केन्द्रित भएको बताउँदै उनले राजस्वको आयव्ययमा सामान्य परिमार्जन गरेको जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिमार्जन गरी पूर्वमुख्यमन्त्रीले समावेश गरेका महत्त्वपूर्ण योजनामा कुनै फेरबदल नगरी रु २० लाखभन्दामुनिका योजना हटाई अरू योजनाका लागि स्रोतको सुनिश्चितता गरेको जानकारी दिए। अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।