१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा विमानस्थलमा चौथो चार्टर उडान   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१o:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चौथो चार्टर उडान भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित ‘वारहाउस नेपाल, पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता’मा सहभागी हुन खेलाडी, प्राविधिक र पाहुना गरी ९५ जना हिमालय एयरलाइन्सको विमान चार्टर गरेर चीनबाट सीधै पोखरा आएका हुन् । 

चीनबाट आएको विमान ५:४१ बजे विमानस्थलमा अवतरण गरेको विमानस्थलकी प्रवक्ता यसोदा सुवेदीले जानकारी दिइन् । सो विमान एक घन्टापछि चालकदलका सदस्यसहित काठमाडौं गएको थियो । चीनको कुनमिङ सहरबाट विमान चार्टर गरी आएका उनीहरूलाई विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पर्यटन बोर्डका सिइओ धन्नञ्जय रेग्मी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल–चीनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रवीन्द्रराज पौडेललगायतले स्वागत गरेका थिए । 

विमानस्थलमा यसअघि गत ६ असारमा चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सले चीनको छेन्दु विमानस्थलबाट चार्टर उडानमार्फत पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । ८ र ९ असारमा पोखराको फेवातालमा सम्पन्न नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन विमान चार्टर गरी खेलाडीसँगै ७२ जना चिनियाँ गरी ९६ जना पोखरा आएका थिए । त्यसपछि विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि २३ भदौमा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा चार्टर उडान गरेको थियो । पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना पोखरा आएका थिए । पोखरा आएको सो विमानले पोखराबाट ४२ यात्रु र चालकदलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडेको थियो । 

यसैगरी २२ कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमानले चीनको छेन्दु विमानस्थलबाट पोखराका लागि उडान गरेका थिए । जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पका कारण प्रभावितको सहयोगका लागि चिनियाँ सरकारको तर्फबाट राहत सामग्री लिएर दुई विमान पोखरा आएका थिए । विमानस्थल सञ्चालनमा आएको करिब ११ महिना हुन लाग्दा हालसम्म तीनपटक गरी चार विमानले उडान गरेका छन् । चार्टर उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म कुनै अत्तोपत्तो छैन । विमानस्थलमा खुल्यो अध्यागमन कार्यालय सञ्चालनमा आएको १० महिना २० दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय खुलेको छ ।

कार्यालय सञ्चालनका लागि उपसचिव लीलावल्लभ न्यौपानेको नेतृत्वमा नौजना कर्मचारीहरू खटिएका छन् । कार्यालय सञ्चालनका लागि आएका नौजनामा पाँचजना शाखा अधिकृत र तीनजना नायब सुब्बा रहेका छन् । कार्यालयको पहिलो सेवाग्राही चीनबाट आएका खेलाडीसहितका टोली रहेका थिए । विमानस्थलमा यसअघि तीन अन्तर्राष्ट्रिय उडान भएका थिए । सो समय पोखरास्थित अध्यागमन कार्यालयका कर्मचारीहरू गएर आवश्यक काम गर्ने गरेका थिए ।