Skip This
चिसोले जाजरकोट र रुकुम पश्चिममा १३ भूकम्पपीडितको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 27 July, 2024
रुकुम पश्चिमको सानीभेरी– १ को चाइनाबगरमा पालमा बस्दै आएकी ८५ वर्षीया पबी पुन । उनको शरीर चिसोका कारण सुन्निएको छ ।
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर ९ शनिबार o६:o४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिसोले जाजरकोट र रुकुम पश्चिममा १३ भूकम्पपीडितको मृत्यु 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o६:o४:oo

चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन् । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि पुगेका भूकम्पपीडित मंसिरको चिसोका कारण झन् समस्यामा परेका हुन् ।

सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुईजनाले ज्यान गुमाएका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११ का ८० वर्षीया पद्मी ओली र ७० वर्षीय दत्ते कामीको मृत्यु भएको वडाध्यक्ष प्रेमबहादुर पुनले पुष्टि गरे । पद्मीको ५ मंसिर र दत्तेको ३० कात्तिकमा मृत्यु भए पनि ढिलो गरी घटना सार्वजनिक भएको हो ।

वडाध्यक्ष पुनका अनुसार ज्यान गुमाउने दुवै दमका रोगी हुन् । ‘न्यानोमा बस्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरू मंसिरको चिसोमा पालमुनि बस्नुपर्दा समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘अहिलेसम्म दुईजनाको ज्यान गइसक्यो । वडामा धेरै व्यक्ति बिरामी छन् ।’

चिसोका कारण जाजरकोटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुशे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षका गथु शाहीको ज्यान गएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् । 

भूकम्पपीडितमा रुघाखोकी, ज्वरो र पखलाको समस्या
भूकम्पपीडितमा रुघाखोकी, ज्वरो र पखलाको समस्या देखिएको छ । रुकुम पश्चिमको आठबिसकोटले ११ ठाउँमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पनि रुघाखोकी, ज्वरो र पखलाका बिरामी धेरै आइरहेको नगर स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायाले जानकारी दिए । चिसोका कारण बिरामी परेकामा दूषित पानीका कारण पखलासमेत देखिएको उनले बताए ।

चिसोबाट जोगिन र उमालेको पानी पिउन अनुरोधका लागि भूकम्प प्रभावित क्षेत्रमा सचेतनामूलक माइकिङ गर्ने तयारी गरिएको रोकायाले बताए । उनका अनुसार नगरपालिका– १४ का ज्यामिरकोट र पिपलचौर, १३ का गाउँबारी र भल्मा, १२ का ठूलीबार्खु र सानीबार्खु, ११ का गत्तसैना र गोइरी, १० का घारीखोला र झिन्चौर तथा वडा नम्बर ९ को सुन्दरपानीमा शिविर सञ्चालन गरेको छ ।

आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले भूकम्प प्रभावितलाई चिसोबाट जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताए । ‘हाम्रो क्षमताले भ्याएसम्म स्वास्थ्यकर्मी परिचालन, औषधि उपचारदेखि भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन न्यानो कपडाको प्रबन्धलगायत प्रयास गरिरहेका छौँ,’ केसीले भने । 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सूचना अधिकारी कृष्णबहादुर खत्रीले चिसोबाट भूकम्प प्रभावितलाई जोगाउन सबै पालिका र स्वास्थ्य संस्थालाई विशेष सतर्कता अपनाउन भनेको बताए । ‘जिल्लाका केही ठाउँमा हिमपातसमेत हुन्छ । अन्य ठाउँमा चिसो बढेको छ,’ उनले भने ।