
जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर गरेको आरोपमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई अदालतले कैद र जरिवाना सुनाएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार वडाध्यक्ष अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । अदालतका सूचना अधिकारी सुरज अधिकारीले पीडितको मागदाबी पुगेपछि सोहीअनुसार फैसला भएको बताए ।
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ को १ (क) मा भएको व्यवस्थाअनुसार अधिकारीलाई सजाय सुनाइएको उनले बताए । दफा ७ को १ (क) मा दफा ४ का उपदफा २, ३, ४, ५, ६ वा ७ बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।