१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार १६:१३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमका कार्यकारी निर्देशक थानीलाई पहिलो वर्षको कार्यसम्पादन मूल्यांकनमा ९०.५ अंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १६:१३:oo

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पहिलो वर्षको कार्यसम्पादन मूल्यांकन (कासमू)मा ९०.५ अंक पाएका छन्।

०७८ फागुनमा तीन वर्षका लागि निगमको कार्यकारी निर्देशमा नियुक्त भएका थानीले प्रत्येक वर्ष गर्ने कामबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्।

सोही सम्झौतापत्रमा उल्लेख भएका बुँदाहरूको प्रगतिबारे मूल्यांकन गर्दा थानीले १ सय अंकभारमा ९०.५ अंक ल्याएका मन्त्रालय स्रोतले जानकारी दिएको छ। कासमुमा थानीले ०७९ फागुनसम्म एक वर्ष अवधिमा गरेका कामको प्रगति विवरणबारे मूल्यांकन भएको थियो।

यो अवधिमा भौतिक पूर्वाधारतर्फ मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ल्याउन आवश्यक अमलेखगन्जमा भण्डारण गृहको निर्माण प्रक्रिया सुरु गरेको, पोखरास्थित डिजेल भण्डारणगृहको कामलाई अन्तिम रूप दिएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माणका लागि टेन्डर आह्वान गरेको, चितवन र झापामा भण्डारण गृह तथा पाइपलाइन विस्तारका लागि जग्गाको नापजाँच टुंग्याएको लगायतका विषय प्रगति विवरणमा उल्लेख छन्।

त्यस्तै ०७८ फागुनदेखि ०७९ फागुनको एक वर्ष अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर उच्च बिन्दुमा पुगी आयल निगमले मासिक ९ अर्ब रुपैयाँसम्म घाटा व्यहोर्दा पनि पेट्रोलियम आपूर्तिमा अवरोध हुन नदिएको विषयलाई प्राथमिकताका साथ कासमूमा समेटिएको छ।

सो वर्ष निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा घाटा खाएको थियो। जसकारण तेल खरिद गरेको रकम भुक्तानी गर्ने पैसा नभएपछि सरकार र वाणिज्य बैंकबाट सो वर्ष १० अर्ब रुपैयाँ ऋण लिएर सोही वर्षदेखि निगमले ऋण तिर्नसमेत सुरु गरेको थियो।

पूर्वाधार निर्माण र इन्धनको सहज आपूर्ति तथा वितरण दुवै काममा कार्यकारी निर्देशक थानीको प्रगति राम्रो देखिएकाले उत्कृष्ट अंक ल्याउन सफल भएका मन्त्रालय स्रोतको भनाइ छ।

यद्यपि, थानीले गत आवमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको दरमा नेपाली बजारमा मूल्य समायोजन नगरी उपभोक्तालाई मूल्यवृद्धिको चर्को मारमा राखेका थिए। उनले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारी ऋण तिर्न मूल्य नघटाएको प्रस्टीकरण दिने गरेका थिए।