
नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय कलेजका विद्यार्थीका लागि मात्र नभएर सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।
सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुस गरी सबैका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए ।
अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषालगायत विविध विषयमा नेपाली र अंग्रे्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् ।
पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यसमार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध मिलाइएको निमित्त क्याम्पस प्रमुख डा. अधिकारी बताउँछन् । अध्ययन–अनुसन्धान तथा खोज कार्यलाई प्रश्रय दिन कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र ‘श्वेतशार्दूल’जस्ता जर्नल पनि प्रकाशन गर्दै आएको छ ।