१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:१४:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मर्जरपछि पनि बिमाको पहुँच र नयाँ व्यवसायमा गिरावट, बढ्यो पोलिसी सरेन्डर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:१४:oo

बिग मर्जरपछि बिमा क्षेत्रमा उत्साह आउन नसकेको देखिएको छ । गत आवमा देखिएको मर्जर लहरले बिमा क्षेत्रमा उत्साह आउने अपेक्षा गरिए पनि चालू आवको पहिलो त्रैमासमा बिमा व्यवसायमा संकुचन देखिएको छ । यो अवधिमा निर्जीवन बिमा व्यवसाय ३.५८ प्रतिशतले घटेको छ भने जीवन बिमा (प्रथम बिमाशुल्क) मा ५.२५ प्रतिशतको ह्रास देखिएको छ । यति मात्रै होइन, बिमा पोलिसी समर्पण (सरेन्डर) गर्ने बिमितको संख्या झन् बढ्दै गएको छ । फलस्वरूप असोज मसान्तसम्म बिमितको संख्या अर्थात् बिमाको पहुँच घटेको तथ्यांकले देखाएको छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार मर्जरपछि बिमा क्षेत्रमा उल्टै निराशा अर्थात् ‘डाउन ट्रेन्ड’ देखिएको हो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सार्वजनिक रूपमै मर्जर र पुँजी बढाउने नीतिले बिमा क्षेत्रमा सिनर्जी आउने दाबी गरेका थिए । तर, चालू आवको पहिलो तीन महिना बित्दा बिमा क्षेत्रमा अपेक्षाकृत नतिजा भने देखिएको छैन । अघिल्ला आवहरूमा बिमा व्यवसायको वृद्धिदर दोहोरो अंकमा थियो । तर, गत आवमा त्यो एकल अंकमा अर्थात् कुल बिमा व्यवसाय २.८५ प्रतिशतले मात्रै बढेको थियो । मर्जरका कारण चालू आवदेखि भने व्यवसाय बढ्ने आशा बिमा क्षेत्रमा थियो । तर, पहिलो त्रैमाससम्मको तथ्यांकले भने बिमा क्षेत्रमा निराशा देखाएको छ । 

गत आवको पहिलो त्रैमासमा निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ थियो । तर, चालू आवमा ३८ करोड घटेर १० अर्ब ४५ करोड ४७ लाखमा सीमित भएको छ । समीक्षा अवधिमा निर्जीवन बिमा लेखको संख्या पनि ०.७३ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ६ लाख ८९ हजार चार सय ६८ वटा निर्जीवन बिमालेख जारी भएको थियो । अहिले त्यो ६ लाख ८४ हजार चार सय  ३६ वटामा सीमित भएको छ । 

यसैगरी, गत आवको पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरूले सात अर्ब नौ करोड ५५ लाख रुपैयाँबराबरको नयाँ व्यवसाय गरेका थिए । तर, चालू आवको पहिलो त्रैमासमा जीवन बिमा कम्पनीको नयाँ व्यवसाय ६ अर्ब ७२ करोड २६ लाखमा सीमित भएको छ । यद्यपि, नवीकरण र वैदेशिक रोजगारसहितको कुल जीवन बिमा व्यवसाय भने १४.०५ प्रतिशतले बढेको छ । गत आवको समीक्षा अवधिमा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँबराबरको कुल जीवन बिमा व्यवसाय भएका थियो । चालू आवको समीक्षा अवधिमा भने त्यो बढेर ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ पुगेको छ । मुख्यतः नवीकरण व्यवसायका कारण कुल जीवन बिमा व्यवसाय बढेको देखिन्छ । नयाँ जीवन बिमा व्यवसायमा भने ह्रास नै देखिएको छ । नवीकरण व्यवसाय पनि सन्तोषजनक नभएको कम्पनीहरू बताउँछन् ।

 २९.२१% ले बढ्यो पोलिसी सरेन्डर 
चालू आवको पहिलो त्रैमासमा बिमा पोलिसी सरेन्डर गर्ने बिमितको संख्या २९.२१ प्रतिशतले बढेको छ । गत आवको पहिलो तीन महिनामा २२ हजार पाँच सय ३७ जनाले बिमा पोलिसी सरेन्डर गरेका थिए । चालू आवको पहिलो तीन महिनामा त्यस्तो संख्या २९ हजार एक सय २० पुगेको छ । रकमका आधारमा भने यस्तो सरेन्डर १९ प्रतिशतले बढेको छ । गत आवको असोज मसान्तसम्म तीन अर्ब सात करोड ४५ लाख रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको थियो । यसपालि तीन अर्ब ६४ करोड ८२ लाख रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

यो वर्ष साउनमा एक अर्ब २८ करोड ३३ लाखबराबरको नौ हजार सात सय ९८, भदौमा एक अर्ब १८ करोड २० लाख बराबरका नौ हजार तीन सय ८६ र असोजमा एक अर्ब १८ करोड २९ लाख बराबरको नौ हजार नौ सय ३६ वटा पोलिसी सरेन्डर भएका छन् । 

आममानिसले निश्चित अवधि तोकेर जीवन बिमा गर्ने गर्छन् । बिमा कम्पनीले पनि सोही अवधिभर नै सम्बन्धित बिमितको जोखिम कभर गर्छ । तर, उक्त अवधि नसकिँदै बिमितहरूले पोलिसी बन्द (सरेन्डर) गरेर आफूले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन् । यस्तो प्रवृत्ति पछिल्लो समय बढ्दै गएको कम्पनीहरू बताउँछन् । पोलिसी सरेन्डर गर्दा बिमितले तिरेको बिमा शुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुस्ट बिमितलाई भुक्तानी गरिन्छ । त्यसपछि पोलिसी बन्द हुनेछ ।

 घट्यो बिमा पहुँच 
यसपालि बिमाको दायरामा भएको नेपालीको संख्या अर्थात् बिमा पहुँच नै घटेको छ । सरेन्डरदर बढेको कारण यसअघि बिमाको दायरामा रहेका नेपाली पनि अहिले बिमाको दायराभन्दा बाहिर छन् । गत आवको असोजसम्ममा ४३.६२ प्रतिशत र असार मसान्तसम्ममा ४४.३८ प्रतिशत नेपाली बिमाको पहुँचमा थिए । तर, चालू आवको असोजसम्म आउँदा बिमाको पहुँच घटेर ४३.४२ प्रतिशतमा सीमित भएको छ । पुराना पोलिसीको सरेन्डर बढ्ने र नयाँ पोलिसीको बिक्री घट्ने समस्याले यस्तो अवस्था आएको जानकारवालाहरू बताउँछन् । 

 यसकारण भए कम्पनी मर्जर
विशेषगरी, चुक्तापुँजी बढाउने नीति ल्याएपछि बिमा कम्पनीहरू मर्जरमा गएका थिए । यसअघि जीवन बिमा कम्पनीको दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो । अहिले जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ । त्यसपछि अधिकांश कम्पनीले मर्जरमार्फत चुक्तापुँजी बढाएका छन् । मर्जरमार्फत १९ जीवन बिमा कम्पनी र २० निर्जीवन बिमा कम्पनीको संख्या १४–१४ वटामा झरेको छ । 

मर्जरमा नगएका कम्पनीहरू पनि हकप्रद, सम्पत्ति बिक्री, साझेदारलगायतका माध्यमबाट पुँजी बढाउँदै छन् । यसरी बिमा कम्पनीको चुक्तापुँजीलगायतका वित्तीय सूचक बढेको मात्रै छैन, व्यवसाय विस्तार गर्ने क्षमता पनि बढेको छ । सञ्चालन खर्च, शाखा संख्या र कर्मचारी संख्यामा आएको कमीले कम्पनीलाई व्यवसाय विस्तारमा लगानी गर्ने सहज अवस्था आएको छ । सोही कारण मर्जरपछि बिमा क्षेत्रमा नयाँ सिनर्जी आउने, व्यवसाय विस्तार हुने आमअपेक्षा थियो । 

 किन देखिएन उत्साह ?
मुख्यतः अर्थतन्त्रमा देखिएको शिथिलताले नै बिमा क्षेत्रमा मर्जरको प्रभाव नदेखिएको सरोकारवालाहरू बताउँछन् । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक शिथिलताका कारण मर्जरको फाइदा लिन नसकिएको बताए । ‘मर्जरपछि बिमा कम्पनीहरू बलियो बनेका छन् । तर, आर्थिक शिथिलताका कारण मर्जरको फाइदा लिन सकिएको छैन,’ उनले भने, ‘पछिल्लो परिस्थिति हेर्दा मर्जरको फाइदा देखिन केही समय लाग्ने देखिन्छ ।’

निर्जीवन बिमा व्यवसाय प्रत्यक्ष रूपमा देशको आर्थिक गतिविधिसँग सम्बन्धित हुन्छ । किनकि, अधिकांश निर्जीवन बिमा व्यवसाय आर्थिक गतिविधि (उद्योग, उद्योगको उत्पादन, निर्माण, आयात तथा निर्यात, अटो)सँग सम्बन्धित हुन्छ । निर्जीवन बिमामा सबैभन्दा धेरै हिस्सा सवारी बिमाको छ । तर, पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उद्योगहरूको उत्पादन घटेको छ । त्यसले गर्दा स्वतः बिमा कम भएको छ । 

यसैगरी, निर्माण क्षेत्र पनि खस्किँदा इन्जिनियरिङ बिमा प्रभावित भएको छ । आयात र निर्यातमा पनि कमी आउँदा ढुवानी बिमा प्रभावित भएको छ । साथै, सवारीसाधनको खरिद–बिक्रीमा कमी आउँदा सवारी बिमा कमी आएको छ । त्यसमाथि तत्काल आर्थिक गतिविधि चलायमान हुने संकेत पनि देखिएको छैन । बैंकको कर्जा प्रवाह पनि न्यून छ । त्यसैले बिमा क्षेत्रमा मर्जरको प्रभाव नदेखिएको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रले बताए । ‘मुख्यतः आर्थिक संकटकै कारण बिमा क्षेत्रमा मर्जरको प्रभाव देखिएको छैन । मर्जरको प्रभाव देखिन न्यूनतम दुई वर्ष लाग्ने देखिन्छ,’ मर्जर कम्पनी सगरमाथा लुम्बिनीको सिइओसमेत रहेका उनले भने, ‘बिमा क्षेत्रको विकास हुन आर्थिक गतिविधि बढ्नैपर्छ ।’

यसैगरी, अर्थतन्त्रसँग जीवन बिमा व्यवसायको पनि प्रत्यक्ष सरोकार हुन्छ । पछिल्लो समय देखिएको आर्थिक शिथिलताले आमउपभोक्ताको क्रयशक्ति घटेको छ । त्यसले गर्दा नयाँ बिमा पोलिसीको बिक्री घटेको छ । बिमितहरूले ठुल्ठूलो रकमको बिमाको प्रिमियम बैंकबाट कर्जा लिएर नै तिर्ने गर्छन् । तर, पछिल्लो समय बैंकबाट कर्जा प्रवाह नहुँदा ग्राहकहरूले प्रिमियम तिर्न सकेका छैनन् । फलस्वरूप, बिमा पोलिसी नवीकरण नहुने समस्या देखिएको छ । उल्टै घरखर्च धान्न बिमितहरूले बिमा पोलिसी बन्द गर्ने प्रवृत्ति बढेको छ । 

फलस्वरूप बिमामा मर्जरको सिनर्जी नदेखिएको कम्पनीहरू बताउँछन् । समग्रमा पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण मर्जरको फाइदा लिन नसकेको मर्जर कम्पनी हिमालयन लाइफका सिइओ मनोजकुमार लाल कर्णले बताए ।

आर्थिक शिथिलताले गर्दा मर्जरको फाइदा लिन सकिएन 
राजुरमण पौडेल कार्यकारी निर्देशक, नेपाल बिमा प्राधिकरण 

मर्जरपछि बिमा कम्पनीहरू बलियो बनेका छन् । तर, आर्थिक शिथिलताका कारण मर्जरको फाइदा लिन सकिएको छैन, पछिल्लो परिस्थिति हेर्दा मर्जरको फाइदा देखिन केही समय लाग्ने देखिन्छ ।

 

 

ad
ad