मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ९ बुधबार
  • Wednesday, 21 February, 2024
मुना कुँवर काठमाडाैं
२०८० मङ्सिर ५ मंगलबार ०८:४८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

सुन तस्करीमा श्रमिक भरिया

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० मङ्सिर ५ मंगलबार ०८:४८:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २० श्रमिक समातिन्छन्, कतार, साउदी र युएईबाट धेरै तस्करी 

चितवनका किशोर बोहरा वैदेशिक रोजगारीका लागि युनाइटेड स्टेट इमिरेट्स (युएई) गएको एक दशकभन्दा बढी भयो । उनी अबुधाबीस्थित एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्छन् । प्रत्येक वर्षजस्तो उनी नेपाल आइरहन्छन् । गत साउनमा नेपाल आउन उनले दुबईबाट काठमाडौंका लागि टिकट काटेका थिए । उडानका लागि बोहरा तीन घन्टाअगाडि नै दुबई एयरपोर्ट पुगे । टर्मिनलको मुख्य प्रवेशद्वारतर्फ जाँदै गर्दा उनलाई कसैले बोलायो । उनले फर्केर हेरे, तर चिनेनन् । 

फेरि पनि त्यही मानिसले उनलाई डाक्यो । नेपालीले नै बोलाएपछि उनी रोकिए । ती अपरिचित व्यक्तिले उनलाई काठमाडौंसम्म आफ्नो पनि एउटा सामान पुर्‍याइदिन आग्रह गरे । बोहरा एकछिन अकमकिए । अपरिचित व्यक्तिले सामान लगिदिन भनेपछि उनी अन्योलमा परे । उनले सामान लगिदिन आनाकानी गरेपछि अपरिचित व्यक्तिले उनलाई सामान लगिदिएबापत चियाखर्च पनि दिने बताए । त्यसपछि भने बोहराले सामान लैजान मानेनन् । ‘पैसा दिने भनेपछि मलाई शंका लाग्यो । पक्कै पनि गलत काम गराउँदै छ भनेर । त्यसपछि मैले मानिनँ,’ उनले नयाँ पत्रिकासँग भने ।

कतारमा लामो समयदेखि व्यवसाय गर्दै आएका रमेश भट्ट दसैँ मनाउन नेपाल आउँदै थिए । नेपालमा पनि व्यवसाय गरेका उनी नेपाल कतार आउजाउ गरिरहन्छन् । पछिल्लोपटक एयरपोर्ट प्रवेश गरेपछि एकजना अपरिचित व्यक्ति उनीसँग चिनजान गर्न आइपुगे । ती व्यक्तिले पनि उनलाई आफ्नो सामान काठमाडौंसम्म लगिदिन आग्रह गरे । ‘नचिनेको व्यक्ति आएर मेरो सामान लगिदिनु न, जरुरी छ भन्छ । तर, मलाई त्यो व्यक्तिप्रति विश्वास लागेन,’ उनले भने । 

माथि उल्लिखित प्रतिनिधि घटना मात्रै हुन् । वैदेशिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्व जाने नेपाली श्रमिकहरू नेपाल फर्किंदा सुन तस्करका लागि भरिया बन्दै आएका छन् । तस्करहरूले दुबई, कतार, कुवेत, मलेसियालगायतका एयरपोर्टमा भरिया श्रमिकको खोजीका लागि डेरा नै जमाएर बस्ने गरेको श्रमिकहरू बताउँछन् । तस्करहरूले नेपाल जाने सोझा श्रमिकको खोजी गर्ने गरेको गैरआवासी नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले बताए । ‘जानेबुझेका मानिसले लगिदिँदैनन् । तर, जसलाई तस्करीमा भरिया बन्दा हुने नोक्सानीको बारेमा थाहा हुँदैन, त्यस्ताको तस्करले खोजी गर्छन्,’ उनले भने । दुबई एयरपोर्टमा यस्ता तस्करको भिड नै हुने गरेको किशोर बोहरा बताउँछन् । नेपालमा आउने एयरलाइन्सको उडान समयमा तस्करहरू एयरपोर्टको गेटमा बस्ने गरेको उनले बताए । 

भिजिट भिसा र सामान्य श्रमिक तस्करको निशानामा 
भिजिट भिसामा गएका र थोरै पारिश्रमिक खाने श्रमिक सुन तस्करको निशानामा पर्ने गरेका छन् । भिजिट भिसामा रोजगारीका लागि गएका, तर रोजगारी नपाएपछि फर्कन बाध्य श्रमिक आर्थिक संकटमा परेका हुन्छन् । थोरै पारिश्रमिक भएका श्रमिकलाई पनि अलिअलि भए पनि पैसाको लोभ हुन्छ । त्यसैले यस्ता श्रमिकहरू तस्करको प्राथमिकतामा पर्ने किशोर बोहरा बताउँछन् । तस्करले सुन बोकेर नेपालमा ल्याइदिएबापत श्रमिकलाई पैसा दिने गरेका छन् । श्रमिकको अवस्था हेरीकन तस्करले भाडा दिने गरेको उनको भनाइ छ । ‘टाठोबाठो खालको देखे भने धेरै पैसा दिन्छन् । सोझासीधा, बोल्न नसक्नेलाई भेटे भने कम्तीमा पाँच हजार रुपैयाँसम्म दिने गरेका छन,’ उनले भने । खाली हात फर्कनुपरेका श्रमिकहरू पाँच–दश हजारको आसले यस्तो काम गर्न राजी हुने गरेको उनले बताए । 

मध्यपूर्वबाट काठमाडौंमा दैनिक दुईदेखि तीनवटासम्म उडान हुन्छ । एउटा उडानमा कम्तीमा १५० श्रमिक यात्रु नेपाल आउँछन् । प्रत्येक उडानमा कम्तीमा पनि १० देखि १५ जनाले यसरी सुन बोकेर आउने गरेको बोहराको अनुमान छ । ‘मसँगैको उडानमा आउने आठजनाको समूहले नै सुन ल्याएको मैले देखेको छु । उनीहरू तस्करको सुनका गहना लगाएर नै नेपाल आए,’ उनले भने । सुन तस्करले सुन बोक्ने श्रमिकको फोटो र पासपोर्टको फोटो लिन्छन् । काठमाडौंस्थित आफ्ना एजेन्टलाई पठाउँछन् । एयरपोर्टबाट श्रमिक बाहिर निस्केपछि तस्करका एजेन्टहरूले फोटो र पासपोर्टका आधारमा श्रमिकको खोजी गर्ने गर्छन् । 

सुन तस्करीमा महिला र पुरुष दुवै 
वैदेशिक रोजगारीमा गएर नेपाल फर्कने नेपाली श्रमिकमध्ये सुन तस्करीमा दैनिक २० जनासम्म समातिने गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यलय प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए । कानुनविपरीत अवैध रूपमा सुन लुकाएर ल्याउँदा उनीहरू विमानस्थलमा समातिने गरेको उनको भनाइ छ । तुलनात्मक रूपमा अहिले भने समातिने श्रमिकको संख्या घटेको उनको दाबी छ । नेपाल फर्कनेमध्ये अधिकांश कतारबाट आउने श्रमिक सुन तस्करीमा समातिने गरेको पाण्डेले बताए । साउदी अरब र युएईबाट आउने श्रमिक पनि यस्तो केसमा समातिने गरेको उनको भनाइ छ । ‘सुन तस्करीमा महिला र पुरुष दुवै समातिन्छन् । महिलाहरूले भित्री वस्त्रमा लुकाएर ल्याउने गरेको पाइन्छ,’ उनले भने । 

भन्सार शुल्क भुक्तानी नगरीकन महिलाले ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्म सुनको गहनामा विदेशबाट ल्याउन सरकारले छुट दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार योबाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाइन्छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने कानुनी व्यवस्था छ । तर, नेपाली श्रमिकले ९०० ग्रामसम्मका सुनको बिस्कुट नै ल्याउने गरेको उनले बताए । कानुनविपरीत सामान ल्याएमा मालवस्तु जफत हुने र सोको दोब्बर मूल्यबराबर जरिवाना तथा कैद सजायसमेत हुने व्यवस्था छ । जसअनुसार समातिएका भरिया श्रमिक जरिवाना रकम भुक्तान गर्न नसक्दा वर्षौँसम्म जेल सजाय काटिरहेको पाण्डेले बताए । 

ऐनबमोजिम विमानस्थलमा समातिएका श्रमिकलाई विमानस्थल प्रहरीले भन्सार कार्यालयमा बुझाउँछ । भन्सार कार्यालय मुद्दा दायर गर्छ । दोब्बर रकम भुक्तानी भनेको करिब १० देखि १२ लाख रुपैयाँ श्रमिकले भुक्तानी गर्नुपर्ने हुन्छ । तर, सामान्य श्रमिकले यस्तो रकम भुक्तानी गर्न नसक्ने उनले बताए । ‘ऐनबमोजिम भुक्तानी नगरेमा २५ दिनसम्म हिरासतमा राखिन्छ । त्यसपछि श्रमिकलाई कैदमा हालिन्छ,’ उनले भने । कैदमा परेका श्रमिकको प्रतिदिन ३०० रुपैयाँ कटौती हुन्छ । तर, लाखौँ रुपैयाँ भुक्तान गर्न श्रमिकहरू वर्षौँसम्म कैदमा बस्ने गरेको उनले बताए । 

विदेशबाट आउँदा श्रमिकले के–के ल्याउन पाउँछन् ?
वैदेशिक रोजगारीबाट नेपाल फर्केका श्रमिकमध्ये महिलाले ५० र पुरुषले २५ ग्रामसम्मको सुन भन्सार शुल्क भुक्तानी नगरी ल्याउन पाउँछन् । तर, भन्सार शुल्क भुक्तानी गरेमा थप २०० ग्रामसम्म ल्याउन पाउने व्यवस्था छ । विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका श्रमिकले भने आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने कार्यालयले जनाएको छ । 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकले जुनसुकै आकार वा प्रकारको टेलिभिजन भन्सार नतिरी ल्याउन पाउनेछन् । श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको, तर सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली श्रमिकले नेपाल फर्कंदा साथमा ३२ इन्चसम्मको टेलिभिजन भन्सार शुल्क भुक्तानी नगरी ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ । यसैगरी, पाँच हजार अमेरिकी डलरमाथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्ने कार्यालयले जनाएको छ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु पर्दैन ।