Skip This
अस्ट्रेलिया छैटौँपटक विश्वविजेता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ३ आइतबार २१:४२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अस्ट्रेलिया छैटौँपटक विश्वविजेता

आइसिसी क्रिकेट विश्वकप २०२३

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार २१:४२:oo

आइसिसी क्रिकेट विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वविजेता बनेको हो।

भारतले दिएको दुई सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। यो जितसँगै अस्ट्रेलियाले छैटौँपटक विश्वकपको ट्रफी आफ्नो पोल्टामा पारेको छ। 

रंगशालामा उपस्थित एक लाख ३० हजार तथा भारतसहित विश्वभर छरिएका डेढ सय करोडभन्दा बढी दर्शकलाई निराश पार्दै अस्ट्रेलियाले एकतर्फी रूपमा खेल आफ्नो पक्षमा पार्‍यो।

आठ वर्षपछि अस्ट्रेलियालाई पुनः विश्वविजेता बनाउने क्रममा ओपनर ट्रबिस हेडले उत्कृष्ट इनिङ खेले। दुुई सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा सात ओभरमा ४७ रन बनाउँद तीन विकेट गुमाइसकेको अस्ट्रेलियालाई उनले जितसम्म डोर्‍याए। जितका लागि दुई रन मात्र बाँकी रहँदा आउट भएका हेडले १५ चौका र ४ छक्काको मद्दतमा एक सय २० बलमा एक सय ३७ रन बनाए। 

यस क्रममा उनले मार्लन लाबुसेनसँग उनले एक सय ९२ रनको साझेदारी गरे। यही साझेदारीले तेस्रोपटक विश्वकप जित्ने भारतको अभियान तुहाइदियो। 

त्यसअघि टस जितेर अस्ट्रेलियाले फिल्डिङ रोज्दै भारतलाई निर्धारित ५० ओभरमा दुई सय ४० रनमै रोकिदियो। लगातार अन्तरालमा विकेट गुमाएपछि भारत जारी प्रतियोगितामा पहिलोपटक अलआउट हुन पुग्यो।

विश्वकपमा सानदार फर्ममा रहेको भारतीय ब्याटिङ लाइनअप अस्ट्रेलियन बलरले ध्वस्त बनाइदिए। केएल राहुलले ६६, विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए। अन्य ब्याट्सम्यानले अन्तिम उपाधि भिडन्तमा ब्याटबाट योगदान गर्न सकेनन्। 

जारी प्रतियोगितामा यसअघि खेलिएका सबै दश म्याच जितेको भारत अन्तिम खेलमा गृहमैदानमा अस्ट्रेलियन बलरसामु टिक्न सकेनन्। भारतले ११ देखि ५० ओभरसम्ममा जम्मा चार बाउन्ड्री लगाएको थियो। 

मिचेल स्टार्कले तीन, जोस हेजलउड र कप्तान पेट कमिन्सले दुई–दुई तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए। भारत अन्तिम ओभरको अन्तिम बलमा दुई सय ४० रनमा अलआउट हुन पुग्यो । 

जवाफमा दुई सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको पनि सुरुवात सुखद हुन सकेन। मोहम्मद सामीले आफ्नो स्पेलको दोस्रो बलमै डेबिड वर्नरको विकेट लिँदै भारतलाई सुखद सुरुवात दिए। त्यसपछि जसप्रीत बुमराहले लगातारका ओभरमा दुई विकेट लिँदै अस्ट्रेलियालाई ब्याकफुटमा ल्याए। 

तर, अर्का ओपनर हेडले एक इन्डबाट पहिले संयमित हुँदै र पछि आक्रामक ब्याटिङ गर्दै भारतको सपना चकनाचुर बनाइदिए।