१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिबार १० हजार ६ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन्। उद्यानमा दसैँ–तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन्। 

शनिबार पर्यटकबाट रु. तीन लाख २५ हजार राजस्व संकलन भएको छ। उद्यानमा यही मंसिर १ गते रु. एक लाख राजस्व संकलन भएको थियो। उद्यान दसैँ–तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ। 

पर्यटकहरू उद्यानमै खाना पकाउने, खाने र त्यहीँ नाचगान गर्दै रमाइलो गर्छन्। थरीथरीका व्यक्ति, थरीथरीका पोसाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ। उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिबार भित्रिएका बताए। 

‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिबार भने १० हजार भित्रिए,’ उनी भन्छन्, ‘वनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ।’

इञ्चार्ज कुँवरले उद्यान किनारमा रहेको कर्णाली नदीमा र्‍याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताए। ‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्,’ उनी भन्छन्, ‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन्।’

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ। उद्यान ८५ बिघा क्षेत्रफलमा फैलिएको छ। बंगला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ। 

उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायतका संरचना अवलोकन गर्नेहरू पनि त्यत्तिकै छन्। शान्त वातावरण र मौसमी/बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन्। 

चितवनबाट घुम्न टीकापुर पुग्नुभएका शिक्षक सुरेन्द्र अधिकारी उद्यानमा लगानी गर्ने हाे भने बढीभन्दा बढी पर्यटक भित्रिने बताउँछन्।