१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
जेन्स क्रेपाला
२o८१ बैशाख १९ बुधबार o८:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु संकटबाट प्रभावित बन्दै खेलकुद क्षेत्र

Read Time : > 2 मिनेट
जेन्स क्रेपाला
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१३:oo

खेलकुद क्षेत्र जलवायु संकटबाट पीडित मात्र नभई यो वातावरणका लागि पीडक पनि बनेको छ

क्रिकेट विश्वकपमा बंगलादेशले श्रीलंकालाई हराउँदा दिल्लीको अरुण जेट्ली स्टेडियम तुँवालोले ढाकिएको थियो । वायुको खतरनाक गुणस्तरका कारण प्रशिक्षण सत्र रद्द भए पनि खेलाडीले खेल भने खेलेकै थिए । दिल्लीको वायु गुणस्तर सूचकांक अस्वस्थ र खतरनाकका बीचमा उतारचढाव गरिरहेको थियो र त्यसवेला सम्भावित स्वास्थ्य जोखिमका कारण बाह्य गतिविधिलाई निरुत्साहित गरिएको थियो ।

ओलम्पिक्स आयोजनाको भारतीय इच्छामा तुषारापात : तुँवालो पावरप्लान्ट, सवारीसाधन र सूर्यको किरण एवं तापसँग प्रतिक्रिया गर्ने अन्य स्रोतबाट निम्तिने प्रदूषणको परिणाम हो । र, यसले जलवायु परिवर्तन र तापक्रम वृद्धिमा योगदान पुर्‍याउँछ । भारतमा रहेका क्रिकेट स्टार अहिले हानिकारक पदार्थ अर्थात् ठोस कण र हावामा उपस्थित तरल थोपालाई श्वासका रूपमा लिन बाध्य छन् । केही ससाना कण फोक्सोको गहिराइ र रक्तप्रवाहमा पनि प्रवेश गर्न सक्छन् । २.५ माइक्रोमिटरभन्दा कम व्यास भएको पिएम २.५ पनि भनिने सूक्ष्म कणले सबैभन्दा बढी स्वास्थ्य जोखिम निम्त्याउँछ । दिल्लीमा हालको पिएम २.५ स्तर एक सय ८४ माइक्रोग्राम प्रतिघनमिटर छ जुन विश्व स्वास्थ्य संगठनको अधिकतम सीमाभन्दा १२ गुणा बढी हो । आयोजकले विश्वकपका खेलमा आइपर्ने चुनौतीलाई सम्बोधन गर्न ड्रेसिङरुममा एयर प्युरिफायर (वायु शुद्धीकरण गर्ने यन्त्र) राखेर पिचमा वाटर मिस्टिङ (प्रदूषण कम गर्न पानीको पातलो फोहरा छोड्ने) गर्ने प्रयास गरिरहेका छन् । भारतका क्रिकेट कप्तान रोहित शर्माले खेलको समयमा खराब हावाको गुणस्तरका मामिलामा आदर्श अवस्था नरहेको स्वीकार गरेका छन् र उनी सम्बन्धित निकायका अधिकारीले यस मुद्दालाई सम्बोधन गर्न आवश्यक कदम चाल्नेमा विश्वस्त छन् ।

सन् २०३६ को ओलम्पिक्स खेलकुद आयोजना गर्न चाहने उदीयमान खेलकुद राष्ट्र भारतलाई मौजुदा क्रिकेट विश्वकपका समस्याले चुनौती पेस गरेको छ । त्यसमाथि तुँवालोले ढाकिएको दिल्लीको छविले चुनौती थपेको छ । 

गर्मी, तुँवालो, कृत्रिम हिउँ : पर्यावरण र जलवायु परिवर्तनका कारण उत्कृष्ट खेल प्रभावित हुनु सामान्य बन्दै गएको लेखक डेभिड गोल्डब्लेटले डिडब्लुलाई बताए । उनी भन्छन्, ‘अस्ट्रेलियन ओपन गर्मीको लहर चलेका वेला खेलिएको थियो र त्यसवेला हजारौँ मानिसलाई गर्मीसम्बद्ध समस्याको उपचार गर्नुपरेको थियो । त्यसैगरी, टोकियो ओलम्पिक्स २०२० मा बाह्य स्थानमा हुने पौडीमा खेलाडीले घातक ३० डिग्री सेल्सियस तापमान भएको पानीमा पौडिनुपरेको थियो ।’ फुटबल फर फ्युचरका सहसंस्थापक गोल्डब्लेट खेलकुदमा रूपान्तरणको पैरवी गर्छन् । खेलकुदले अथाह वृद्धिबाट जोगिनुपर्ने र परिवर्तनशील विश्वमा अनुकूलन गर्न किफायती मोडेललाई अँगाल्नुपर्ने उनको तर्क छ ।

वृद्धि र न्यूनीकरणबीचको द्वन्द्व जलवायु संकटबाट बढी प्रभावित खेल स्किइङमा सबैभन्दा बढी देखिन्छ । खेलकुदको अन्तर्राष्ट्रिय प्रशासकीय निकायले हालको विश्वकप क्यालेन्डरलाई विस्तार गर्ने लक्ष्य राखेको आलोचना बढिरहेको छ । ‘हामी जलवायु परिवर्तनलाई अस्वीकार गर्न सक्दैनौँ, तसर्थ हामीले अनुकूलन गर्नैपर्छ,’ अस्ट्रियाली संघका महासचिव क्रिस्टियन स्किरर बताउँछन् । 

सन् २०३० विश्वकप : ‘प्रतीकात्मक बहुलट्ठीपन’ : खेलकुद क्षेत्र जलवायु संकटबाट पीडित मात्रै होइन, तालिम, प्रतिस्पर्धा र ओलम्पिक्सजस्ता ठूला समारोहमा खेल्ने कारमा ओहोरदोहोर गरिरहने सोखिन खेलाडीका कारण खेलकुद क्षेत्र वातावरणको पीडक पनि हो । 

गोल्डब्लेटले सन् २०३० को फुटबल विश्वकपलाई ‘प्रतीकात्मक बहुलट्ठीपन’को संज्ञा दिएका छन् । उरुग्वेमा एक फुटबल प्रशंसकका रूपमा विश्वकपको उद्घाटन हुँदै गर्दा खुसी भए पनि तीन महाद्वीपमा एक सय पाँच खेल हुने प्रतियोगिताको वातावरणीय मूर्खताको आलोचना गर्छन् । अन्तर्राष्ट्रिय ओलम्पिक समिति र फिफाजस्ता खेलकुद संघले कार्बन क्षतिपूर्ति कार्यक्रमको कोषमार्फत आफ्ना कार्यक्रमलाई ‘जलवायु–अनुकूल’ वा ‘जलवायु–तटस्थ’ भन्दै प्रचार गर्ने प्रयास गरे पनि गोल्डब्लेटले यसलाई अकल्पनीय रणनीति भन्दै आलोचना गरेका छन् । विडम्बना, फिफा र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी दुवैले विश्व जलवायु सम्मेलनको हिस्साका रूपमा जलवायु संरक्षणका लागि प्रतिबद्ध रहेको जनाएका छन् । खेलकुद कार्य योजनाको घोषित लक्ष्यअनुसार हरितगृह ग्यास उत्सर्जन २०३० सम्ममा आधा र २०४० सम्ममा शून्यमा झार्ने नीति रहेको छ । यही नोभेम्बरको अन्त्यताका दुबईमा हुन गइरहेको कोप २८ विश्व जलवायु सम्मेलनमा यसबारे थप संवाद हुनेछ ।

थप मुखर मत आवश्यक : क्रिकेटको सञ्चालक निकाय आइसिसीले अहिलेसम्म राष्ट्रसंघको कार्य योजनामा हस्ताक्षर गरेको छैन, तर आफ्नै दिगोपना लक्ष्य भने तोकेको छ । धुवाँले ढाकिएको विश्वकपले खेलकुदलाई वातावरण संरक्षणमा अगुवा बन्न कति आवश्यक छ भन्ने देखाउँछ । त्यसकारण खेलकुद वृत्तबाटै मुखर मत आवश्यक छ भन्नेमा गोल्डब्लेटले जोड दिएका छन् । 

‘हामीलाई मार्कस र्‍यासफोर्ड चाहिएको छ’ गोल्डब्लेट भन्छन् (र्‍यासफोर्ड इंग्लिस फुटबल खेलाडी हुन् र उनी सक्रियतापूर्वक जलवायु अभियानमा लागेका छन्) । ‘हामीलाई फुटबल र क्रिकेटमा बोल्ने मानिस चाहिएको छ  । भारतीय क्रिकेटर कहाँ छन् ? को मुखर हुने ? कसले भारतीय राजनीतिमा आफ्नो मतलाई बलियो बनाउने ?’ गोल्डब्लेट थप्छन् ।

यति भन्दै गर्दा केही खेलाडी मुखर पनि भएका छन् । अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट कमिन्सले क्रिकेटमा जलवायुको प्रभावलाई लिएर मुखर ढंगले आवाज उठाएका छन् र यसबारे अस्ट्रेलियाली क्रिकेटसँग मिलेर काम गरेका छन् । यदि जलवायुमा काम नगर्ने हो भने ‘हामीले प्रेम गर्ने खेल अन्त्य हुनेछ,’ कमिन्स बताउँछन् ।

(क्रेपाला सम्पादक, रिपोर्टर र लेखक हुन्) 
डिडब्लुबाट

ad
ad