१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
गगन अयडी बाजुरा
Invalid date format १४:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धार्मिक पर्यटनको सम्भावना बोकेको नाटेश्वरी मन्दिर

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

नाटेश्वरी मन्दिर सुदूरपश्चिमको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो। विशेष गरी जनैपूर्णिमा, चैत्र अष्टमी र बडादसैँमा देवीको पूजा गर्नका लागि हिन्दू धर्मावलम्बीहरूमा नाटेश्वरी मन्दिरको निकै महत्त्व छ। यस मन्दिरमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नाटेश्वरी देवीको पूजा गर्न र बलि चढाउन आउने गर्दछन्।

समुन्द्री सतहबाट एक हजार ४ सय फिट उचाइमा अवस्थित यो मन्दिर बाजुराको त्रिवेणी नगरपालिका– ७ मा पर्छ। डेढ वर्षअघि ६ करोड रुपैयाँ लागतमा भव्य संरचनाहरूसहित मन्दिरको पुनर्निर्माण गरिएको छ। यहाँ मन्दिरबाहेक धर्मशाला, खानेपानीका धारा, मन्दिरसम्म पुग्ने सिँढी, मूल गेटसहित ठाउँ-ठाउँमा गेट र बलि चढाउने ठाउँको पनि निर्माण गरिएको छ।

नाटेश्वरी मन्दिरको इतिहास
सुदूरपश्चिमको प्रसिद्ध तीर्थस्थल हो, बडिमालिका। किंवदन्तीअनुसार महादेवकी पत्नी सतीदेवीको बायाँ कुम बडिमालिकामा पतन भएको मानिन्छ। बडिमालिकालाई बहिनी र नाटेश्वरीलाई दिदी भएको जनविश्वास रहिआएको छ। 

नाटेश्वरीलाई ‘नाचनथली’ पनि भन्ने गरिन्छ। भगवान शिव, पार्वतीलगायत अन्य देवीदेवताको नाचगान गर्ने स्थल भएका कारण र नाटेश्वरी नामकरण भएको स्थानीय ८४ वर्षीय देउराम अयडियले बताए। परापूर्वकालमा यो मन्दिर कहिले स्थापना भयो भन्नेबारे कुनै यकिन इतिहास छैन।

२०३४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले हेलिकोप्टरबाट नाटेश्वरी मन्दिरको दर्शन गरेका थिए। पछि २०५६ सालमा योगी नरहरिनाथले कोटी होम लगाएपछि मन्दिरको थप प्रचार भएको थियो। कैलाली, कञ्चनपुर, बाजुरा, अछाम, डोटी, दार्चुला, दैलेखलगायतका जिल्लाबाट पनि श्रद्धालु भक्तजनहरू आएर पूजा गरेका बताइन्छ। योगी नरहरीनाथले एक महिना नाटेश्वरी बस्दा नाटेश्वरीको इतिहास, धर्म, संस्कृति र यहाँका जडीबुटीको महत्त्वका बारेमा बयान गरेका थिए।

यस्ता छन् नाटेश्वरीका विशेषता
नाटेश्वरीमा भगवती देवीबाहेक कालिकादेवी र धल्पुरादेवीको पनि मन्दिर छ। यी तीनवटै मन्दिरमा फरक-फरक समयमा पूजाआजा गरिन्छ। भगवती देवीको पूजा गर्नेले बलि चढाउँदैनन्। कालिका देवीमा भने बलि चढाइन्छ। नाटेश्वरीमा वर्षको तीनपटक पूजाआजा तथा मेला लाग्छ। जनैपूर्णिमा, चैते अष्टमी र बडादसैँमा मेला लाग्छ। जेठको दशहरामा सुदूरपश्चिमको दिपायलबाट जर्नेल आएर पूजा गर्ने परम्परा छ। बडिमालिका दर्शन गरेर फर्किएपछि नाटेश्वरीमा पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

नाटेश्वरीको दर्शन गर्न आउने दर्शनार्थी एवं पर्यटकहरूले यहाँका केही पुराना गुफा पनि अवलोकन गर्न सक्छन्। हालै यहाँ १ सय १ किलोको त्रिशूल राखिएको छ। जनैपूर्णिमाको अवसरमा ५ वटा ब्राह्मणबाट विधिवत् पूजापाठ गरेर नाटेश्वरी कालीका माताको मन्दिरमा २४ फिट अग्लो त्रिशूल राखिएको हो। सुदूरपश्चिमलगायत विदेशमा बस्ने नेपालीहरूको सहयोगमा एक लाख ५५ हजार ५१८ रुपैयाँको लागतमा सो त्रिशूल बनाइएको थियो।

नाटेश्वरीबाट बडिमालिका आँखैअगाडि नियाल्न सकिन्छ। बडिमालिकाकै रेन्जमा गतेखौला मन्दिर पनि हेर्न सकिन्छ। केही घण्टाको यात्रा गर्ने हो भने धवलपुरी दह हेरेर आनन्द लिन सकिन्छ। नजिकै केही पाइला हिँड्ने हो भने तत्कालीन बाइसे राज्य छँदा जिल्ला सञ्चालन गर्ने बार्जुकोट दरबारसमेत हेर्न सकिन्छ। यस्तै, बझाङको जेठी बहुरानी डाँडा, बाजुराको बडालेख, कुँडीकोटलगायत पनि अवलोकन गर्न सकिन्छ।

बाजुराको व्यापारिक केन्द्र बाम्का बजार, मौरे धाम हुँदै नाटेश्वरी पुग्न सकिन्छ। बाम्का बजारसम्म सार्वजनिक सवारीसाधन चल्छ। निजी सवारीसाधनमा सालडाँडा हुँदै पनि नाटेश्वरी पुग्न सकिन्छ।