१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ (बायाँ) । तस्बिरः रोयटर्स । 
न्युयोर्क
२०८० मङ्सिर १ शुक्रबार १०:५०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

सम्बन्ध सुधारको मार्गमा चीन र अमेरिका : सैन्य सञ्चार ब्युँताउन दुवै देश सहमत

Read Time : > 2 मिनेट
न्युयोर्क
२०८० मङ्सिर १ शुक्रबार १०:५०:००

चीन र अमेरिका फेरि सैन्य सञ्चार ब्युँताउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको शिखर सम्मेलनमा बाइडेन र सी सैन्य सञ्चार पुनः स्थापना गर्न सहमत भएका हुन् । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइबानको भ्रमण गरेपछि चीनले सन् २०२२ को जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले दुई नेताबीच ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा शिखर वार्ता भएको थियो । उनीहरूबीच चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउनेबारे पनि उनीहरू सहमत भएका छन् । 

शिखर सम्मेलनमा आफूहरूबीच भएको छलफलसृजनात्मक भएको बाइडेनले बताए ‘हामीले गरेका छलफलहरूमध्ये पछिल्ला छलफल सबैभन्दा सिर्जनात्मक र उपलब्धिमूलक भएको मेरो विश्वास छ’ बैठकपछि राष्ट्रपति बाइडनले भने, ‘हामीले केही महत्वपूर्ण प्रगति हासिल गरेका छौँ ।’

सन् २०११ देखि नै राष्ट्रपति सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अहिलेसम्मै सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।’ आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर चीनसँग ‘जिम्मेवारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उनले बताए । उनले भविष्यमा कुनै पनि वेला बाइडेनसँग वार्ता गर्ने बताए । ‘हामी कुनै पनि वेला वार्ता गर्नेछौँ । हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारे हामी सहमत भएका छौँ,’ राष्ट्रपति बाइडेनले भने । उनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनः स्थापना गर्न ‘आलोचनात्मक रूपमा महत्वपूर्ण’ थियो । दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप २८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् । 

त्यसअघि राष्ट्रपति सीले अमेरिका र चीनबीचको सम्बन्ध कहिल्यै पनि सहज नभएको बताएका थिए । तर, दुई देशबीच पिठिउँ फर्काउने विकल्प नरहेको बताएका थिए ।
सो अवसरमा चीनका राष्ट्रपतिले चीन र ताइबानको ‘पुनः एकीकरण’ रोक्न नसकिने भन्दै बाइडेनलाई ताइबानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेका थिए । सन् ०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । 

अमेरिकाको ‘साझेदार मित्र’ बन्न चीन तयार
चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाको साझेदार मित्र बन्न बेइजिङ तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेका वेला राष्ट्रपति सीले अमेरिकी व्यापारिक नेताहरूसँग उक्त धारणा राखेका हुन् । ‘यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउनेछ,’ एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा राष्ट्रपति सीले भने । राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनीहरूले दुई देशबीचको तनावलाई कम गर्ने वाचा गरेका छन् । 

‘हामीले धेरैभन्दा धेरै पुल बनाउनुपर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ,’ करिब चार सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भने, ‘हामीले विभिन्न अवरोध सिर्जना गर्नु हुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नु हुँदैन ।’ सो अवसरमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिंक र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला थिए । चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो । अमेरिकी कम्पनीहरूले तीव्र रूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यमीले बताएका छन् ।