१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:३o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसका अधुरा विभाग अलपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३o:oo

७० विभाग पुर्‍याउने निर्णय अहिलेसम्म १६ मा मात्र नेतृत्व चयन, बनेकाले पूर्णता नपाउँदा गतिविधि शून्य 

४८ विभागलाई ७० पुर्‍याउने कांग्रेस नेतृत्वको निर्णय अलपत्र छ । हालसम्म कांग्रेसका १६ विभागको नेतृत्व चयन भएको छ । थप्ने भनिएका विभागको नामसमेत अझै टुंगिएको छैन । महाधिवेशनको लामो समयसम्म पनि गठन नहुँदा र बनेकाले पूर्णता नपाउँदा विभागका गतिविधि शून्य छन् ।

कांग्रेसको महाधिवेशनको २० महिनापछि १५ भदौमा १५ विभागमा नेतृत्व तोकिएको थियो, तर अहिलेसम्म सदस्य मनोनीत भएका छैनन् । विभाग प्रमुखहरू पार्टी नेतृत्वले अग्रसरता नलिँदा विभागले पूर्णता पाउन नसकेको बताउँछन् । नयाँ विभागको टुंगो लगाउने र एकसाथ सबै विभागलाई पूर्णता दिने तयारी रहे पनि पार्टी नेतृत्वले यसमा चासो नदिएको गुनासो छ । वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले सदस्य नतोकिँदा गतिविधि हुन नसकेको बताए । ‘विभागले नेतृत्व पायो, तर सदस्य नहुँदा बैठक बस्न र काम गर्न पाएको छैन,’ उनले भने, ‘सबै विभागको टुंगो लागेपछि सभापतिले नै सदस्य मनोनीत गर्ने भनिएको हो, तर अझै हुन सकेन ।’ 

आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले सदस्य मनोनीत नहुँदा विभाग सक्रिय बन्न नसकेको बताए । ‘सदस्य मनोनयनमा ढिलाइ हुँदा असर परेको छ । महासमिति बैठक र यसबीचमा आएका घटनाक्रमले पनि ढिलाइ भएको छ,’ उनले भने । 

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पार्टीका गतिविधि, विकसित राजनीतिक र अन्य घटनाक्रमका कारण विभागहरू पूर्ण हुन नसकेको बताउँछन् । पुराना विभागसँगको कार्यक्षेत्र मिलानलगायतका गृहकार्य गरिएको र बाँकी विभाग गठनको तयारी भइरहेको उनको भनाइ छ । 

‘विकसित राजनीतिक र अन्य घटनाक्रम तथा पार्टी गतिविधिका कारण तयारी पुग्न सकेको छैन । विभाग गठनबारे छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ विभाग गठन गर्दा कार्यक्षेत्र पनि मिलान गर्नुपर्छ । सबै विषय सन्तुलन गरेर पूर्णता दिन्छौँ,’ विश्वकर्माले भने ।

कांग्रेस सचिव प्रेम केसीले पछिल्लो समय पार्टीका गतिविधि र राष्ट्रिय घटनाक्रमका कारण विभागको काम पूरा हुन नसकेको बताए । ‘ महासमिति बैठक तयारीलगायत पार्टी गतिविधि र चाडपर्वका कारण ढिलाइ भएको छ । अब छठपछि नेतृत्वले ठोस रूपमा यी विषय टुंगो लगाउनेछ,’ केसीले भने । 

हालसम्म कांग्रेसका १६ विभाग गठन भएका छन् । प्रचार विभागमा भने १२ जेठमा विश्वकर्मालाई जिम्मेवारी दिइएको थियो । २ देखि १० साउनसम्म बसेको केन्द्रीय समिति बैठकले १५ भदौभित्र विभाग गठन गर्ने निर्णय गरेको थियो । तर, डेडलाइनभित्र १५ मात्र विभागको नेतृत्व तोकिएको थियो । विधानले विभाग गठनको अधिकार पार्टी सभापतिलाई दिएको छ । विभागको नेतृत्व केन्द्रीय सदस्यले गर्ने उल्लेख छ । 

विभाग गठन हुँदा पुष्पा भुसाललाई महिला विभाग, चीनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, योगेन्द्र चौधरीलाई थारू विभाग, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय विभाग, आंगेलु शेर्पालाई पर्यटन विभाग, डा. रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग, नानु बाँस्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय विभाग, रंगमती शाहीलाई पिछडिएको क्षेत्र विभाग, बराललाई आपूर्ति तथा उपभोक्ता समन्वय विभाग र मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग संयोजकको जिम्मेवारी दिइएको छ ।

१६ विभाग गठन हुँदा ३ मात्र शेखर–गगन समूह नेतृत्वमा पुगेका छन् । इतरबाट नेतृत्व पाउनेमा कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभाग, स्नेहीले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग र किरण यादवले तराई मधेश समन्वय विभागको नेतृत्व पाएका छन् । 

पूर्वमहामन्त्री शशांक कोइरालानिकट सीता थपलिया (उर्मिला) ले भने उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको जिम्मेवारी पाएकी छिन् । तर, प्रचार विभागबाहेकको पहिलो बैठकसमेत बस्न सकेको छैन भने गतिविधि शून्य छन् ।