१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चार वर्षदेखि बन्द टिपताला नाका खुलाउन छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

चार वर्षअघि कोरोना महामारीपछि बन्द भएको टिपताला नाका हालसम्म खुलेको छैन। नेपाल र चीनबीचको सो नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ।

टिपताला भञ्ज्याङमा दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए। छलफलमा नेपालको तर्फबाट गाउँपालिका अध्यक्ष लिम्बूसहित उपाध्यक्ष रवीन साम्रा लिम्बूलगायत र तिब्बतका तर्फबाट दिंजे काउन्टी जिल्लाका डिएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु सहभागी थिए। 

फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङको समन्वयमा नाका खुलाउने विषयमा मंगलबार भएको अनौपचारिक छलफलमा नेपालबाट नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य मिङमाडन्डु शेर्पा, सचिव युकहाङवीर हांगाम पनि सहभागी भएकाे अध्यक्ष लिम्बूले जानकारी दिए।

भेटमा टिपताला नाका तत्काल खुलाउन पहल गर्ने, दुईपक्षीय व्यापार तथा पर्यटकीय विकास गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ। छलफलका क्रममा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिपतालादेखि ओलाङचुङगोलासम्म सडक कालोपत्रेका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले उल्लेख गरेका गाउँपालिका अध्यक्ष लिम्बूले बताए।

कोरोना महामारीपछि बन्द भएको टिपताला नाका हालसम्म पनि नखुलेका कारण करिब चार वर्षयता दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्पसँगै फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला, याङ्मा, वडा नं ६ लेलेपको फले र घुन्साका बासिन्दालाई दैनिक उपभोग्य सामान उपभोग गर्न नै समस्या भएको छ। 

रिउबाट सस्तो मूल्यमा दैनिक उपभोग्यलगायतका आवश्यक सामग्री आयात गरी उपभोग गर्दै आएका यस क्षेत्रका बासिन्दाको व्ययभार बढेको छ। यहीँको सामान खरिद गरेर उपभोग गर्नुपर्दा खरिद मूल्य र ढुवानी खर्च तुलनात्मक रूपमा महँगो पर्ने भएकाले यस क्षेत्रका बासिन्दा नाकाबन्दको प्रभावमा रहेका छन्। यहाँका नागरिक सदरमुकाम फुङलिङबाट दोब्बर बढी महँगो रकम (प्रतिकिलो ६० देखि १०० रुपैयाँ ढुवानी खर्च) तिरेर उपभोग्य सामग्री ढुवानी गर्न बाध्य छन्।