Skip This
ट्रम्पमाथि अंकुश लगाउने कला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Wednesday, 14 May, 2025
जोनाथन फ्रिडल्यान्ड
२o८२ बैशाख २९ सोमबार o९:१६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पमाथि अंकुश लगाउने कला

Read Time : > 2 मिनेट
जोनाथन फ्रिडल्यान्ड
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार o९:१६:oo

डोनाल्ड ट्रम्पले बिहीबारको समाचार आफूकेन्द्रित हुने अपेक्षा गरेका थिए । आफूले गरेको भन्सार शुल्क वृद्धिले विश्व अर्थतन्त्रमा पारेको प्रभावपछि पहिलोपटक अमेरिका–बेलायतबिच व्यापार सम्झौता गरेको घोषणा उनले गरेका छन् । यसका बाबजुद दुनियाँको ध्यान रोमतर्फ मोडियो, जहाँ एकजना विश्वव्यापी प्रभावशाली व्यक्तिले ट्रम्पभन्दा बढी ध्यान खिच्न सफल भए । अब ट्रम्पले सन् २०२८ मा तेस्रो कार्यकालको संकेत दिन ‘सेतो धु्वाँ’ (पोप छनोटका वेला भेटिकनमा सफेद धुवाँको मुस्लो उडाइन्छ) उडाउने योजना बनाइरहेका हुन सक्छन् । तर, यसबिच बेलायती प्रधानमन्त्री कियर स्टार्मरलाई भने राहत मिलेको छ । केही दिनअघि निगेल फराजको रिफर्म पार्टीसँगको हारपछि अहिले उनले अमेरिका र भारतसँग व्यापार सम्झौता गर्न सफल भएका छन् । त्यसैगरी उनको सरकारले जनतालाई समयमै राहत पुग्ने गरी बैंक अफ इंग्ल्यान्डबाट ब्याजदर घटाएको छ ।  

व्यापार सम्झौता हासिल गर्नु नै कियर स्टार्मरका लागि एक उपलब्धि हो, विशेषतः त्यतिवेला जब ब्रेक्जिट (युरोपियन युनियनबाट बाहिरिने निर्णयका) समर्थकले यस्तै नतिजा दिने वाचा गरेका थिए, तर सफल हुन सकेनन् । यदि कुनै कन्जर्भेटिभ पार्टीका प्रधानमन्त्रीले यो उपलब्धि हासिल गरेका भए यसका कार्यकर्ताले प्रधानमन्त्रीले ‘सुनौलो युग’ सुरुवात गरे भन्दै प्रचार गर्ने थिए । यो सम्झौता ट्रम्पको कमजोर वार्ता शैलीको पनि प्रमाण हो । आफैँले गरेको भन्सार शुल्क वृद्धिले बजारमा अस्थिरता र आर्थिक मन्दी ल्याएपछि ट्रम्पले हतारमा कुनै पनि ‘प्रगति’ देखाउन चाहेका छैनन् ।

विश्वसामु ट्रम्पको दबाबमा सम्झौता गर्ने वा सामूहिक रूपमा मिलेर प्रतिरोध गर्ने दुइटा विकल्प छन्  

अर्थशास्त्री पौल एसवर्थका अनुसार सम्झौतामा हतारो गर्दा ट्रम्प प्रशासन कमजोर भएको देखिन्छ । यस सम्झौतामा बेलायतले चाहेका धेरै कुरा प्राप्त गर्‍यो, अर्थात् बेलायती गाडी र स्पातमा अमेरिकी भन्सार शुल्क ठुलो मात्रामा घटाइएको छ । यसका बदलामा अमेरिकाले डिजिटल सेवा करजस्ता प्रमुख मुद्दामा भविष्यमा वार्ता गर्ने अस्पष्ट प्रतिबद्धता मात्रै पायो । बेलायतले तुरुन्तै लाभ हासिल गरेको छ, तर अमेरिकाका लागि भने त्यसमा ढिलाइ वा अनिश्चितता देखिन्छ ।

स्टार्मरले खाद्य आयातबारे आफ्नो कडा अडान कायम राखे, जसले अमेरिकी क्लोरिन प्रयोग गरिएको कुखुराको विवाद टार्न मात्र नभई युरोपसँगको खाद्य व्यापार पनि जोगायो । भारतसँगको सम्झौतासहित यो साता उनको स्थिर र व्यावहारिक दृष्टिकोण ‘स्टार्मरवाद’को एक उदाहरणजस्तो देखिन्छ । यो ब्रेक्जिट समर्थकले वाचा गरेको ठुलो विश्व विजयजस्तो छैन ।

उसो त यो विजय सानो भए पनि महत्वपूर्ण प्रगति हो । तर, विज्ञ भने अत्यधिक आशावादी नहुन सुझाउँछन् । अर्थशास्त्री पौल एसवर्थले यो सम्झौता हतारमा गरिएको र वास्तविकताभन्दा बढाइचढाइ गरिएको बताए । व्यापार विशेषज्ञ डेभिड हेनिगले ट्रम्पले प्रस्तुत गरेका तथ्य प्रायः बनावटी भएको र बेलायतका लागि यो सम्झौताले दिने लाभ ब्रेक्जिटले गुमाएको चार प्रतिशत कुल गार्हस्थ उत्पादन (जिडिपी) को तुलनामा निकै सानो हुने बताए । यद्यपि, स्टार्मरले यथासम्भव राम्रै सर्त लागू गरेका छन् । तर, यो सीमित लाभसहितको सम्झौता ‘सादा बर्गर’जस्तै हो भनेका थिए ।

ट्रम्पमाथिको विश्वसनीयता कमजोर रहेको जगजाहेर नै छ । उनीबाट सम्झौतामा कायम रहने प्रत्याभूति दिन सकिँदैन, किनभने उनी प्रायः आफ्नो बोली फेर्दै हिँड्छन् । त्यो पनि विशेषतः जब अर्काे पक्ष खुसी देखिन्छ । ट्रम्पका दृष्टिकोणमा अर्काे पक्षले जितेजस्तो लाग्यो भने त्यसले उनलाई पराजितजस्तो महसुस गराउँछ । धेरै व्यापार विज्ञका अनुसार बेलायतका लागि अहिलेको सबैभन्दा राम्रो आशा भनेको ट्रम्पको ध्यान अन्य देशतर्फ मोडिनु र दोस्रो चरणका वार्ता अनिश्चितकालका लागि रोकिनु हो ।

यस सन्दर्भमा अमेरिकी विश्वविद्यालयको अनुभव सिक्नलायक छ । ट्रम्पले यी विश्वविद्यालयका अनुदान कटौती कोलम्बिया विश्वविद्यालयले सम्झौता गरेर परिस्थितिअनुकूल बनाउन खोज्यो । तर, ट्रम्पले थप माग राखेका छन् । अर्कातर्फ हार्बर्डले सरकारी हस्तक्षेप अस्वीकार गर्‍यो र अनुदान कटौतीको धम्कीविरुद्ध मुद्दा हाल्यो । केही घण्टामै एक सय ५० भन्दा बढी कलेज हार्बर्डको समर्थनमा उभिए र स्वतन्त्रताको बचाउ गर्दै ट्रम्प प्रशासनको कदमको विरोध गरे । त्यसपछि ह्वाइट हाउस आफ्नो मागसूची गल्तीले प्रेषित भएको भन्दै पछि हट्यो । यो घटनाले ट्रम्पको दबाबमा सम्झौता गर्ने वा सामूहिक रूपमा मिलेर प्रतिरोध गर्ने दुइटा विकल्प विश्वसामु देखिन्छ । र, अहिलेसम्म सामूहिक प्रतिरोध नै बढी प्रभावकारी देखिएको छ ।

विश्व व्यापारमा ट्रम्पका आत्मघाती र समृद्धि–विनाशक भन्सार शुल्कको विरोध गर्न भिन्नभिन्न सम्झौता नभई क्यानडा, अस्ट्रेलिया र विशेषतः युरोपियन युनियनजस्ता साझेदारसँग बेलायतले सहकार्य गर्ने समय आएको छ । अर्थात्, हार्बर्डको जस्तो प्रतिरोध आवश्यक छ, न कि कोलम्बियाको जस्तो समर्पण ।

बेलायतलाई विश्वव्यापार प्रणालीलाई ध्वस्त गर्दै गरेको अमेरिकाबाट बचाउनु स्पष्टतः स्टार्मरको कर्तव्य नै हो । उनले अघिल्लो साता यस दिशामा कदम चाले । तर, दीर्घकालीन सुरक्षा तब मात्र सम्भव छ, जब स्वतन्त्र राष्ट्रले आफ्नो हित मात्र नभई बरु ट्रम्पले मूल्यहीन बनाउन खोजेका साझा मान्यता (व्यापारबाहेक अन्य क्षेत्रमा पनि) रोक्न संगठित भएर खडा हुनेछन् । आशा गरौँ, अमेरिकामा नयाँ नेताको उदय हुन सक्छ, जसले यस्तो साझा प्रयासलाई समर्थन गर्नेछ ।
(फ्रिडल्यान्ड गार्डियनका स्तम्भकार हुन्) द गार्डियनबाट