
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक तत्काल बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।
आज एक विज्ञप्तिमार्फत सूचना जारी गर्दै प्राधिकरणले सरकारले गरेको निर्णय कार्यान्वयनको लागि टिकटक तत्काल बन्द गर्न निर्देशन दिएको हो।
‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८०-०७-२७ गतेको बैठकबाट सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भएबमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र प्रयोग भइरहेको भन्ने बुझिन आएकाले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकहरूलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।’
प्राधिकरणले निर्देशन पालना नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ। ‘यो निर्देशन-आदेश पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन-आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले पारिवारिक संरचना, सामाजिक सम्बन्ध र सामाजिक सद्भावलाई खलबल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।