१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:५o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५o:oo

नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ। 

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक हो र उसले आफ्नो विद्यमान २०६० लक्ष्यको तुलनामा धेरै नै महत्वाकांक्षी कार्बन तटस्थताको लक्ष्यको मागलाई पन्छाएको छ। 

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सन् २०२३ र सन् २०५० को बीचमा विद्यमान जीवाश्म इन्धन सम्पत्तिहरूबाट वैश्विक उत्सर्जनको ४५ प्रतिशत हिस्सा चीनको हुने अनुमान गरिएको बताएको छ। 

बेलायतस्थित जलवायु साइट कार्बन ब्रिफले सोमबार जारी गरेको विश्लेषणमा चीनले पनि नवीकरणीय ऊर्जा क्षमतालाई अत्यन्त तीव्रताका साथ स्थापना गरिरहेको बताइएको छ। चीन एक्लैले सन् २०२३ मा स्थापना गरेको नयाँ सौर्य ऊर्जाको मात्रा अमेरिकामा पूरै स्थापित क्षमताभन्दा दुई गुणा छ। 

‘सन् २०२३ मा स्थापना गरिएको नयाँ सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत् र आणविक क्षमताले मात्र प्रतिवर्ष अनुमानित चार सय २३ टेरावाट घन्टा (टिडब्लुएच) उत्पन्न हुनेछ, जुन फ्रान्सको कुल विद्युत् खपतबराबर हो,’ सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको लौरी माइलीभिर्ताको प्रतिवेदनमा भनिएको छ।

नवीकरणीय ऊर्जा स्थापनामा ठूलो मात्रामा बढोत्तरी र खडेरी कम-कम हुँदै जाँदा जलाशय फेरि भरिएका कारण जलविद्युतमा अनुमानित वृद्धिले सन् २०२४ मा जीवाश्म–इन्धन विद्युत् उत्पादन र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्ने प्रत्याभूति गरेको प्रतिवेदनमा उल्लेख छ। 

यद्यपि, चीनले आफ्नो कोइला शक्ति क्षमताको विस्तारलाई जारी राखेको छ। यसले चीनको परम्परागत र नयाँ उदीयमान स्वार्थ समूहहरूबीचको द्वन्द्वका लागि स्थिति तयार गरिरहेको प्रतिवेदनले चेतावनी दिएको छ। 

नवीकरणीय ऊर्जाको वृद्धिले कोइला उद्योग र स्थानीय सरकारहरूको हितलाई उच्च जोखिममा पार्ने कार्बन ब्रिफले बताएको छ। ‘यी सरोकारहरूले सम्भावित अवरोध गर्न सक्ने चिन्ता बढाएको छ, जसको प्रतिरोध गर्ने अपेक्षा गर्न सकिन्छ,’ कार्बन ब्रिफले भनेको छ। 

चिनियाँ र अमेरिकी जलवायु अधिकारीहरूले यसै महिना हुने कोप२८ सम्मेलनमा वार्ता गर्न यसै साताको सुरुमा भेट गरेका थिए। भेटमा दुवै पक्षले रचनात्मक वार्ता भएको भन्दै प्रशंसा गरेका थिए। (सिन्ह्वा/रासस)