Skip This
दार्चुलाका व्यास सौका समुदाय बसाइँ सर्दै खलंगा पुगे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २८ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २८ मंगलबार o७:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुलाका व्यास सौका समुदाय बसाइँ सर्दै खलंगा पुगे

व्यासी ‘कुञ्चा’ सर्न बाटोकै समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २८ मंगलबार o७:o६:oo

व्यासमा चिसोसँगै हिमपात हुन थालेपछि दार्चुलाका व्यासी सौका समुदाय बसाइँ सर्दै खलंगा पुगेका छन्। गत वैशाखमा खलंगाको गर्मी छल्न व्यास गाउँपालिका-१ तिंकर उक्लिएका उनीहरू चिसो बढेसँगै खलंगा पुगेका हुन्। 

सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल भएर सौका समुदायको पहिलो टोली सदरमुकाम खलंगा पुगेको छ। ‘‘कुञ्चा’’ भनेको व्यासी सौका समुदायको भाषामा बसाइँ सर्नु भनिन्छ। 

व्यासी ‘कुञ्चा’ सर्न बाटोकै समस्या
व्यासको थातथलोबाट सदरमुकाम खलंगा पुग्ने उनीहरूका लागि बाटोकै समस्या छ। हिमाली गाउँमा चिसो मौसममा बस्न नसकिने हुनाले यहाँका स्थानीय परम्परादेखि नै हिउँदका ६ महिना बेँसी झर्ने गर्छन्। छ महिना खलंगा र छ महिना हिमालमा उनीहरूको बसाइ हुन्छ।

व्यासीहरू भारत पिथौरागढअन्तर्गत धारचुला–कालापानी लिपुलेक सडक खण्ड हुँदै खलंगा फर्किएका छन्। व्यासस्थित नेपाल–भारत जोड्ने सीतापुल भएर उनीहरू पाँच दिनपछि खलंगा पुगेको स्थानीय दानसिंह तिंकरीले बताए। हिमाली क्षेत्रका याक, झुपू र गाईवस्तुसहित उनीहरूको टोली बसाइँ सरेको हो।

सदरमुकाम खलंगाबाट २८ कोष उत्तरमा पर्छ तिंकर गाउँ। नेपालतर्फ बाटोघाटो नहुँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। नेपालतर्फ पैदल गाेरेटो बाटोसमेत छैन। ‘व्यासीहरूको राज्यसँगै एउटै माग छ,’ तिंकरीले भने, ‘हामीलाई आफ्नै भूमिबाट आउजाउ गर्न गाेरेटो बाटो राम्रो चाहियो।’ सरकारले गाेरेटो बाटो पनि बनाउन नसक्दा आफ्नै भूमि जान भारतीय निर्भरता रह्यो।

‘भारतको बाटोबाट ‘कुञ्चा’ सार्न धेरै समस्या छ,’ उनले थपे, ‘गाईवस्तुको क्वारेनटाइन चेक गर्नुपर्छ, ठाउँ–ठाउँमा भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार छँदै छ। तिंकरबाट पाँच दिन पशुचौपायालाई हिँडाएर टाेली खलंगा पुगेको छ। केही गाउँको ‘कुञ्चा’ बाटोमै छ। एक दुई दिनभित्र खलंगा पुग्छन्। 

छांगरु तिंकरको उच्च भेगहरूमा हिमपात हुन थालेपछि बस्न सकिँदैन। खेतीपाती लगाएर अहिले उनीहरू खलंगा झरेका छन्। वर्षमा एउटा मात्रै खेती हुने व्यासमा स्थानीयले उवा र नप्पललगायतका अन्नबाली लगाउँछन्। उनीहरू वैशाखमा फेरि अन्नपात भित्र्याउन व्यास उक्लिने गर्छन्। 

छांगरुको ‘कुञ्चा’ भने एक हप्तापछि खलंगा झर्ने तयारीमा रहेको व्यास गाउँपालिका–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए। सरकारले नेपालतर्फबाटो नबनाउँदा व्यासीहरूले भारतीय प्रशासनको अनुमतिमा मात्रै आवतजावत गर्न पाउँछन्। 

व्यासका स्थानीयले हरेक वर्ष सरकारसँग आफ्नै भूमि भएर बाटो माग्दा पनि नेपालबाटै छांगरु तिंकरसम्म गाेरेटो बाटो बनाउन सकेको छैन। नेपालतर्फ सडक निर्माण कार्य पनि बजेट अभावमा गति लिएको छैन। व्यासको छागरुभन्दा तलको बाटोको त सोच्नै नसकिने अवस्था छ। 

स्वदेशको बाटो नहुँदा यसपालि पनि ‘कुञ्चा’ भारतबाट नै ल्याउनुपर्ने अवस्था रहेको योगेश बोहरा बताउँछन्। बाटोको समस्याबारे सबै सरोकारवालालाई जानकारी भए पनि समाधानतर्फ गएको देखिँदैन। पछिल्ला तीन तहका सरकारको टालटुले नीति र नेता कार्यकर्ता पोस्ने बजेट विनियोजन हुने हुँदा व्यासीले ‘कुञ्चा’ सर्ने वेलामा सास्ती खेप्नुपरेको उनको भनाइ छ।

जेठ/असारमा बजेट सक्न टालटुले रूपमा गरिएको मर्मत कार्य महाकालीले बगाउँदा मानिसलाई हिँड्न मिल्ने बाटो नभएको स्थानीय बताउँछन्। भारत र चीनसँग सीमा जोडिने व्यास गाउँपालिका–१ का स्थानीयले यो वर्ष चीनसँगको तिंकर नाका खोल्न पटक-पटक माग गरे पनि नाका खुल्न सकेको छैन।