
नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा सञ्चानल गरिरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार दुई सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रहेको छ । यसअवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको छ ।
मधेस प्रादेशिक कार्यालय, जनकपुरमातहतका वितरण केन्द्रहरूले चार हजार आठ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ । कोसी प्रादेशिक कार्यालय, विराटनगरमातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने चार हजार तीन सय ३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम नौ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगन्जमातहतका वितरण केन्द्रहरूले चार हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम तीन करोड ८५ लाख रुपैयाँ छ । लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलमातहतका वितरण केन्द्रहरूले तीन हजार तीन सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम सात करोड ८५ लाख रुपैयाँ छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने दुई हजार सात सय ५५ ग्राहकको लाइन काटेको छ । बक्यौता रकम चार करोड ६ लाख रुपैयाँ छ ।
बागमती प्रादेशिक कार्यालय, काठमाडौंमातहतको वितरण केन्द्रहरूले दुई हजार सात सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ । बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौँडामातहतका वितरण केन्द्रहरूले दुई हजार एक सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम चार करोड ८२ लाख रुपैयाँ छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियामातहतका वितरण केन्द्रहरूले एक हजार तीन सय ४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम दुई करोड २७ लाख रुपैयाँ छ । कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।
संगठित रूपमै विद्युत् चोरी
सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय, जनकपुरले गत आइबारदेखि बुधबारसम्म बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।
प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एक सय ग्राहकको सिंगल तथा थ्री फेज मिटरको छड्के जाँच गरेको थियो । त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैरकानुनी क्रियाकलाप संगठित रूपमै भइरहेको पाइएको बताए । उनले गैरकानुनी रूपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशन दिइएको बताए । उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ ।