१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २५ शनिबार
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
२o८o कार्तिक २५ शनिबार १८:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वीरगन्ज गोल्डकपको उपाधि पुलिसलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २५ शनिबार १८:४५:oo

प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आदर्शनगर रंगशालामा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो।

प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो। टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार कमजोर बन्न पुग्दा पुलिसले उपाधि जितेको हो।

टाइब्रेकरमा पुलिसका लागि जर्सी नम्बर ७ का रामचन्द्र बाजी र जर्सी नम्बर ३० का बुद्ध तामाङले गोल गर्दा जर्सी नम्बर १६ का उज्जवल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाऊ गरे। 

त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर १८ का कप्तान नवयुग श्रेष्ठ, जर्सी नम्बर २९ का बिमल पाण्डे, जर्सी नम्बर ९ का सन्तोष केसी र जर्सी नम्बर १९ का जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन।

आर्मीका कप्तान श्रेष्ठको प्रहार पोस्टनजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो। पाण्डे र केसीको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले विफल तुल्याउँदै टिमलाई उपाधिका लागि भूमिका खेले।

उपाधि विजेता पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ। यो राशि मधेश प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च हो।

वीरगन्ज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटी क्लब वीरगन्जको आयोजनामा गत कातिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको थियो।

उपाधि विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सिल्ड र प्रमाणपत्र वितरण गरेका थिए भने उपविजेता टिम त्रिभुवन आर्मी क्लबलाई उपप्रमुख इम्तियाज आलमले सिल्ड र प्रमाणपत्र वितरण गरेका थिए।

कसले कुन विधागत पुरस्कार पाए ?
प्रथम वीरगन्ज गोल्डकपको उपाधि विजेता नेपाल पुलिस क्लबले सबैभन्दा बढी विधागत पुरस्कार जितेको छ। प्रतियोगिताको म्यान आफ द सिरिज पुलिस क्लबका प्रताप गुरुङले पाएका छन्। उनले नगद ५० हजार, प्रमाणपत्र र सिल्ड पाए।

म्यान अफ दी म्याच र उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरीले पाए। उनले म्यान अफ दी म्याचको १० हजार र उत्कृष्ट गोलकिपरबापत नगद २० हजार पाएका छन्।

यस्तै, प्रतियोगिताभरिको बेस्ट मिडफिल्ड पनि नेपाल पुलिस क्लबका खेलाडीले नै पाएका छन्। प्रतियोगिताभरिको बेस्ट मिडफिल्ड भएका जर्सी नम्बर १६ का खेलाडी उज्जवल राईले नगद २० हजार पाए।

उत्कृष्ट डिफेन्स भने त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर २९ का विमल पाण्डेले पाएका छन्। उनले नगद २० हजार पाउँदा प्रतियोगिताका उत्कृष्ट कोच नेपाल पुलिस क्लबका विमल घिमिरेले नगद २० हजार प्राप्त गरे।