
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाले नेपालजस्ता देशको आधुनिकीकरण प्रक्रियालाई गति दिन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार चीनको युनान प्रान्तमा आयोजित बिआरआईसम्बन्धी कार्यक्रममा नेपालले यस्तो धारणा राखेका हुन्। नेपाल बिआरआईमा समर्थन र सहभागिता जनाउने सुरुवातकै देश भएको स्मरण गर्दै उनले बेल्ट एन्ड रोडसँग नेपालको सहकार्यले ज्ञान र प्रविधिको आदान–प्रदान एवं पूर्वाधार र विकास परियोजनाहरूमा फलदायी नतिजा प्राप्त हुने अपेक्षा रहेको बताए।
भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्रको रूपमा नयाँ परिभाषा निर्माण गर्न, लिस्ट डेभलप कन्ट्रीबाट ग्य्राजुयट हुन र दिगो विकाससहित कृषि तथा उद्योगको पावरहाउस बन्दै पर्यटकहरूको गन्तव्य मुलुकको रूपमा नेपाललाई विकास गर्न बिआरआईले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
अध्यक्ष नेपालले आगामी दिनमा बिआरआईअन्तर्गत प्रस्तावित परियोजनाहरूलाई मूर्तरूप दिन र थप परियोजनाहरू निर्माण गरी कार्यान्वयन गर्न चाहेको पनि प्रस्ट्याए। उनले नेपाल कुनै पनि देशबाट विभिन्न उद्देश्यका साथ आउने सैन्यसम्बन्धी सहयोग, छिमेकीविरुद्ध नेपाललाई प्रयोग गर्ने रणनीति र भू–राजनीतिक प्रतिस्पर्धाको विपक्षमा रहेकोसमेत प्रस्ट पारे।