१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Saturday, 10 May, 2025
२o८o कार्तिक २४ शुक्रबार १o:४५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सखुवानन्कारकट्टीको पुनः मतगणनाको मागसम्बन्धी मुद्दा खारेज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १o:४५:oo

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अध्यक्ष पदका निकटतम प्रत्याशीले स्थानीय तहको निर्वाचनको मतगणना बदर गरी पुनः मतगणना गराई पाऊँ भन्दै दायर गरेको मुद्दा खारेज भएपछि गाउँपालिका अध्यक्षसहित समर्थक कार्यकर्ताले विजय र्‍याली गरेका छन् ।

उच्च अदालत जनकपुर राजविराज इजलासमा बुधबार न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र जगतबहादुर थापाको संयुक्त इजलासले मतगणना बदर गरी दोहोर्‍याई मतगणना गराइपाऊँ भन्ने मुद्दा खारेज गरिदिएपछि अध्यक्ष केदारनाथ यादवसहित उनका समर्थकले बुधबार राति सखुवानन्कारकट्टीमा विजय र्‍याली निकालेका हुन् । अध्यक्ष यादव ३० वैशाख ०७९ मा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा २६ मतान्तरले एकीकृत समाजवादीबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । 

मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा निर्वाचित यादवले ३,४०७ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शत्रुधनप्रसाद साहले ३,३८१ मत पाएका थिए । उक्त मत परिणाम बदर गरी पुनः मतगणनाको माग गर्दै निकटतम प्रतिद्वन्द्वी साहले उच्च अदालत जनकपुर, राजविराज इजलासमा १० जेठ ०७९ मा मुद्दा दायर गरेका थिए ।

०७४ को पहिलो कार्यकालमा एमालेबाट निर्वाचित अध्यक्ष यादवसहित उपाध्यक्ष र वडा नम्बर १, २, ५ अध्यक्ष जितेकाले सुविधाजनक बहुमत पाएका थिए । पहिलो कार्यकालको अन्तिमतिर पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका अध्यक्ष यादवसहित वडा नम्बर ३ र ४ अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर १ र २ अध्यक्ष कांग्रेस तथा ४ नम्बर वडाध्यक्ष जसपाले जितेको थियो ।