१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय पक्षद्वारा सीमास्तम्भदेखि नै सडक कालोपत्रे

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

भारतीय पक्षले कञ्चनपुरस्थित सीमा क्षेत्रमा पिल्लरदेखि नै सडक कालोपत्रेको काम गरेपछि नेपाली पक्षले विरोध जनाएको छ। भारतीय पक्षले गत सातादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीस्थित सीमा क्षेत्रको ८०५/१(७)नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले विरोध जनाएको हो।

सीमावर्ती नेपाली भूभागमा नेपालबाट सडक निर्माण, कल्भर्टसहितका संरचना निर्माण गर्दा अनेकन बाधा अड्चन गर्ने भारतीय पक्षले दशगजा नै मिचेर सीमापिलरसम्मै कालोपत्रे गरेपछि स्थानीयले विरोध गरेका हुन्। गत असारमा सोही क्षेत्रमा सीमावर्ती सडक हिलाम्मे भएपछि भीमदत्त नगरपालिका– ११ नम्बर वडाले ग्राभेल हाल्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको थियो। 

भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने भारतीय पक्षले दशगजा र सीमापिलर क्षेत्रमै पुगेर गरेको सडक कालोपत्रे कार्य निन्दनीय भएको बताए। ‘हामीले गत असारमा यात्रुको समस्यालाई मध्यनजर गर्दै पिलरदेखि उत्तरतर्फ नेपाल जाने सडकमा ग्राभेल हाल्ने क्रममा भारतीय पक्षबाट अवरोध गरिएको थियो,’ उनले भने, ‘आज आएर भारतीय पक्षले एकलौटी रूपमा सडक फराकिलो गरी कालोपत्रे गरिरहेको छ। स्थानीय प्रशासनलाई कुनै मतलब छैन।’

स्थानीय युवा दीपेन्द्रसिंह ऐरीले सो कार्यलाई भारतीय पक्षले नेपाली भूमिमाथि गर्दै आएको हस्तक्षेपको निरन्तरता भएको बताए। उनले सीमाजस्तो संवेदनशील क्षेत्रमा भारतीय पक्षबाट खुलेआम हस्तक्षेप भएको भन्दै राष्ट्रियताका विषयमा सबै दल र नागरिक एकजुट हुनुपर्ने बताए। भीमदत्त– ११ भुजेलाका अर्का स्थानीय तेज रावलले नेपाल सरकार वा स्थानीय प्रशासनसँग अनुमति नलिई भारतले दशगजा क्षेत्रमा कालोपत्रे गरेकोमा आपत्ति जनाए।

यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भने पहिलाकै सडक मर्मत गरेको हो वा नयाँ बनाएको हो भन्ने विषयमा थप बुझ्ने प्रतिक्रिया दिए। ‘हामीलाई भारतीय पक्षले पुरानै सडक मर्मत गरेको भनी सशस्त्र प्रहरीमार्फत जानकारी आएको छ,’ प्रजिअ अधिकारीले भने, ‘नयाँ मर्मत वा निर्माण गरेको हो, थप बुझ्छौँ।’

बाढीले बगाएको सीमापिलर पुनर्निर्माणको माग
१० वर्षअघि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा बगाएको एक सीमापिलर पुनर्निर्माणको स्थानीयले माग अघि सारेका छन्। नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेला, चौकीसातास्थित ८०५ नम्बर सीमा पिलर पुनर्निर्माणको स्थानीयले माग गरेका हुन्।

मंगलबार भुजेला र चौकीसाता क्षेत्रका स्थानीयले सीमापिलर पुनर्निर्माणको माग अघि सारेर स्थानीय प्रशासनमार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले उक्त सीमापिलरको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएर पुनर्निर्माणका लागि आवश्यक पहल गर्ने बताए।