१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक २१ मंगलबार १२:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

५५ वर्षदेखि समस्याको भुमरीमा बहिरा शिक्षक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १२:१४:oo

बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकको मागप्रति सरकारले चासो नदिँदा ५५ वर्षदेखि बहिरा शिक्षक समस्याको भुमरीमा रुमल्लिनुपरेको बहिरा शिक्षकहरूले गुनासो गरेका छन्।

बहिरा शिक्षक संघ, नेपालको राष्ट्रिय भेलाका लागि देशभरबाट धादिङ आइपुगेका बहिरा शिक्षकले आफूहरूको समस्या सुनिदिने कोही नहुँदा समस्याको चाङमा पिल्सिनुपरेको गुनासो गरेका हुन्।

राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै बहिरा शिक्षक संघ, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र शर्माले ५५ वर्षदेखि बहिरा शिक्षकहरूको समस्या समाधान गर्न सरकारले बेवास्ता गरेको बताएका हुन् । उनले भने, ‘हामी त शारीरिक रूपले बहिरा हौँ। सरकार त दृष्टिविहीन पनि रहेछ, न हाम्रो कुरा सुन्यो न देख्यो। तर, हामी बोल्न र सुन्न नसक्नेको कुरा बुझिदिने कोही भएन।’

सरकारले ५५ वर्षअघिदेखि बहिरा बालबालिका पढाउन बहिरा विशेष विद्यालय स्थापना गर्‍याे। तर, विद्यालयमा अध्यापन गराउने शिक्षक र कर्मचारीलाई दरबन्दीको व्यवस्थापन गर्न नसक्दा बहिरा शिक्षकहरू समस्यामा परेका हुन्। 

संविधानको धारा ३७ मा बहिरा बालबालिकाले पढ्न पाउने हक उल्लेख छ, तर एकजना पनि स्थायी शिक्षक छैन। अन्य शिक्षकसरह दरबन्दीको व्यवस्था गरेर शिक्षकहरूलाई स्थायी गराउनुपर्ने, कक्षाकोठामा अध्यापन गरेको हेरेर शिक्षकहरूलाई स्थायी लाइसेन्सको व्यवस्था गरिदिनलगायतका माग उनीहरूले गरेका छन्।
 
समान क्षमता समान शैक्षिक योग्यता र काम गर्ने बहिरा शिक्षकलाई सरकारले पक्षपात नगरी सेवा सुविधा दिनुपर्ने बहिरा शिक्षक संघ, नेपालका महासचिव रामप्रसाद अधिकारीले बताए। 

उनले भने, ‘हामीले पनि अन्य शिक्षकसरह सुविधा खोजेको हो। १० प्रकारको अपांगमध्ये बहिरा एउटा हो। सरकारले बहिरा बालबाललिका र शिक्षकको लागि दीर्घ योजना बनाएर अघि बढ्न नसक्दा नेपालमा रहेका करिब १२ हजार बहिरा बालबालिका र करिब एक सय ५० भन्दा बढी शिक्षकको भविष्य अन्याेल छ।’

सरकारले बेवास्ता गर्दा वर्षौँदेखि बहिरा शिक्षक समस्याको भुमरीमा रुमल्लिन बाध्य भएको राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताए। 

‘सरकारको कुनै निकायमा बहिरा आरक्षण छैन। अरूसरह बोल्न र सुन्न नसक्ने बहिराले प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन। सेवा गरिरहे पनि पेसाको कुनै ग्यारेन्टी छैन। सेवा अवधि सकिएपछि पेन्सनको व्यवस्था पनि छैन। बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई राज्यको कुनै निकायले पनि अनुमति दिने व्यवस्था छैन। सरकारले अन्य शिक्षक र बहिरा शिक्षकबीच गरेको भेदभाव अन्त्य गर्नुपर्छ,’ उनले भने।  

राष्ट्रिय भेलाकै अवसरमा सांकेतिक भाषाका जन्मदाता गोकुलप्रसाद रिजाल र निर्मलकुमार देवकोटालाई सम्मान गरिएको छ। संस्थागत रूपमा काठमाडौं बहिरा संघलाई पनि सम्मान गरेको छ। धादिङबेँसीमा जारी दुईदिने राष्ट्रिय भेलाले विशेष धादिङ घोषणापत्र जारी गर्नेछ।

बहिरा अपांगता भएका शिक्षकहरूले बहिरा तथा अपांगता शिक्षक कर्मचारीहरू विस्थापित नहुने गरी विशेष व्यवस्थाद्वारा सबै बहिरा अपांगता भएका शिक्षक कर्मचारीहरूलाई शिक्षा ऐन, २०८० मार्फत स्वतः स्थायी गर्न सरकारसँग माग गरेका छन्। 

विशेष बहिरा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, आन्तरिक कक्षाकोठामा मूल्यांकन गरी शिक्षण अनुमतिपत्र दिनुपर्ने, सेवामा योग्य अनुभवी सांकेतिक भाषाविज्ञ बहिरालाई पहिलो प्राथमिकता दिनुपर्नेलगायतका माग उनीहरूका छन्। 

सांकेतिक भाषा शिक्षकको छुट्टै दरबन्दीको व्यवस्था मिलाउनुपर्ने र लामो समयदेखि अध्यापनरत बहिरा अपांगता भएका शिक्षक, कर्मचारीहरूलाई मूल्यांकन गरी तत्काल तहगत रूपमा बढुवा गर्नुपर्ने माग उनीहरूले राखेका छन्।