१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी नयाँदिल्ली
Invalid date format १o:४३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

प्रदूषणका कारण दिल्लीका विद्यालय एक साता बन्द

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै संकेत नदेखिएपछि अधिकारीहरूले एक साताका लागि विद्यालय बन्दको घोषणा गरेका हुन् । छिमेकी कृषिप्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरदयाममा दिल्लीलाई भीषण धुवाँले ढाक्ने गर्छ ।

नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । प्रदूषणका कारण प्रत्येक वर्ष हजारौँ मानिसको अकालमा ज्यान जाने गरेको छ । ‘प्रदूषणको स्तर लगातार उच्च रहेकाले दिल्लीमा प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहनेछन्’ दिल्ली राज्यका शिक्षामन्त्री आतिसीले सामाजिक सञ्जाल एक्समा भने, ‘उच्च प्रदूषणस्तरका कारण माध्यमिक विद्यालयलाई ‘अनलाइन कक्षा’ सञ्चालन गर्ने विकल्प दिइएको छ ।’

अनुगमन गर्ने संस्था आइक्युएयरका अनुसार तीन करोड जनसंख्या भएको राजधानी नयाँदिल्ली फेरि एकपटक विश्वको सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । दिल्लीले प्रत्येक वर्ष निर्माण गतिविधिमाथि प्रतिबन्ध लगाउँछ र प्रदूषण गम्भीरस्तरमा पुग्दा केही सवारीसाधनलाई सडकबाट हटाउने आदेश दिन्छ । तर, आलोचकहरूले सरकारले सार्वजनिक स्वास्थ्य संकटको प्राथमिक स्रोत कृषिलाई नजरअन्दाज गरेको बताउँछन् ।

छिमेकी राज्यहरूमा किसान निर्वाचनमा शक्तिशाली मतदाता हुन् र निर्वाचित नेताहरूले उनीहरूको सो कार्यका लागि कडा जरिवाना वा अन्य दण्डात्मक कदम चाल्नुपर्छ भन्ने मागलाई लामो समयदेखि विरोध गर्दै आएका छन् । आगामी केही सातासम्म गम्भीर धुवाँको स्तर कायमै रहने अनुमान गरिएको छ । आइक्युएयरका अनुसार आइतबार सबैभन्दा खतरनाक पिएम२.५ कणको स्तर पाँच सय ७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेभन्दा यो करिब ४० गुणा बढी हो । पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्न सक्ने अति सानो कण हो ।