१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता, ११ देशका ८८ खेलाडीले प्रतिस्पर्धा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:५८:oo

पोखरामा आउँदो मंसिरमा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ।

माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा ७ मंसिरदेखि हुने तीनदिने प्रतियोगितामा ११ देशका ८८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

पोखरा महानगरपालिका– १३ स्थित समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडामा हुने प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा इ–बाइक गरी सात विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले जानकारी दिए।

शर्माका अनुसार ७ र ८ मंसिरमा अभ्यास खेल हुनेछ भने ९ मंसिरमा प्रतियोगिता हुनेछ। डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङका अनुसार खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताको लागि सन् २०२० देखि तयारी सुरु गरिएको जानकारी दिए। 

प्रतियोगितास्थलमा प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक संरचना तयार गर्न ५० लाख खर्च भइसकेको र अब थप २० लाख खर्च लाग्ने गुरुङले जानकारी दिए। प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने बताउँदै उनले प्रतियोगिताले आगामी दिनहरूमा विश्वभर ठूलो संख्यामा माउन्टेन बाइकिङप्रेमीहरूलाई आकर्षण गर्ने र यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा रहेको बताए।

कार्यक्रममा पोखरा– १३ का वडाध्यक्ष किरण बरालले खेल पर्यटन प्रवर्द्धनका लागि आर्बालाई चयन गरिएकोमा आभार व्यक्त गर्दै प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरेका थिए।

ad
ad