Skip This
आयातले मात्रै अर्थतन्त्र चलायमान बनाउँदैन : अर्थमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १९ आइतबार o८:४८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयातले मात्रै अर्थतन्त्र चलायमान बनाउँदैन : अर्थमन्त्री

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o८:४८:oo

१५ महिनापछि गत असोजमा नेपालको आयात बढेपछि अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ । आयात वृद्धि भएर अर्थतन्त्र चलायमान हुने भए पनि यसमा खुसी हुनुपर्ने विषय नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।  

शनिबार काठमाडौंमा सम्पन्न नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यद्यपि, अहिले नेपाली अर्थतन्त्र आयातमा निर्भर छ । त्यो अवस्थामा आयात नेपालको विकास निर्माण, आर्थिक गतिविधिसँग जोडिएको छ । साथै, राजस्व संकलन बढाउन पनि सहयोग पुग्छ । यसरी आयातले अर्थतन्त्र चलायमान बनाउँछ,’ उनले भने, ‘तर, यो नै खुसी हुने विषय होइन । हामीले स्वदेशी उत्पादन बढाउन जोड दिनुपर्छ ।’ 

विगतमा निजी क्षेत्रले उत्पादन नभएर व्यापारमा लगानी गर्दा पनि अर्थतन्त्र यस्तो अवस्थामा आएको उनले बताए । ‘तपाईंहरू (निजी क्षेत्र)ले पहिला उत्पादनमा नभएर व्यापारमा लगानी गर्नुभयो । उत्पादनमा लगानी गर्नुभन्दा खरिद गरी बिक्री गरेर छिटो नाफा कमाउनतर्फ लाग्नुभयो,’ कार्यक्रममा उपस्थित निजी क्षेत्रका अधिकारीलाई लक्षित गर्दै उनले भने, ‘त्यसले गर्दा पनि नेपालको अर्थतन्त्र यस्तो अवस्थामा आएको हो । तर, अहिले निजी क्षेत्रले उत्पादनमा पनि लगानी बढाउँदै छन् । यसले  अर्थतन्त्रलाई बलियो बनाउँदै लैजान्छ ।’ 

यस्तै, उनले शिथिल अवस्थामा रहेको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको दाबी गरे । ‘अहिले अर्थतन्त्र सकारात्मक दिशामा गइसकेको छ । अब सञ्चार क्षेत्रलगायतका सरोकारवालाले लगानीकर्ताको आत्मबल बढाउने काम गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरूले अझै पनि अर्थतन्त्र खराब अवस्थामै छ भन्नुभयो भने लगानीकर्ताको आत्मबल घट्छ । उनीहरू यहाँ लगानी गर्न प्रोत्साहित हँदैनन् । त्यसले गर्दा अर्थतन्त्र पुनः नकारात्मक दिशामा जान्छ । तसर्थ, सबैजना आत्मबल बढाउन अग्रसर हौँ ।’

यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च दरमा रेमिट्यान्स आउने, पर्यटक आउनेलगायतका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताए । यसले भोलिका दिनमा आशा गर्ने ठाउँ देखाएको उनको भनाइ छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा आए पनि आन्तरिक अर्थतन्त्रतर्फ अझै चुनौती रहेको उनले बताए । अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ ।

यस्तै, उनले अहिले बैंकिङ क्षेत्रमा खराब कर्जा अनुपात बढ्ने समस्या देखिएको बताए । ‘अहिले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता छ । बैंकहरूको पोर्टफोलियो पनि बलियो हुँदै गएको छ । तर, बैंकहरूमा खराब कर्जा अनुपात बढ्ने समस्या देखिएको छ,’ उनले भने, ‘तर, त्यो व्यवस्थापन गर्न सक्छौँ । किनकि, नेपालको खराब कर्जा अनुपात विश्वका अन्य देशको तुलनामा कम नै छ । समग्रमा अहिले अर्थतन्त्रमा नकारात्मक अवस्था देखिँदैन ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाइ गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताए । उनले अहिलेको समस्या समाधान गर्न सामान्य नीतिगत सुधारले नहुने भन्दै बृहत् सोचका साथ परिवर्तन आवश्यक रहेको बताए । उनले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सञ्चारमाध्यमलाई राजनीतिकभन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिक रूपमा चलायमान हुन नसकेको बताए ।

नाफिजका अध्यक्ष मोदनाथ ढकालले सरकारको योजना सोहीअनुसार कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । ‘अर्थिक समृद्धिको बाटोमा देखिएका समस्यामा बहस गराउन नाफिजले नेतृत्वदायी भूमिका खेल्नेछ,’ उनले बताए ।

तीन आर्थिक पत्रकार पुरस्कृत 
१५औँ वार्षिकोत्सवको अवसरमा तीनजना आर्थिक पत्रकार पुरस्कृत भएका छन् । एक लाख राशिको शारदादेवी ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई दिइएको छ । यसैगरी ५०–५० हजार राशिको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइस डटकमका रोयल आचार्य र सिबिफिन–नाफिज आर्थिक पुरस्कार विकास न्युज डटकमका सन्तोष रोकायलाई प्रदान गरिएको छ । यसैगरी, वार्षिक उत्सवको अवसरमा नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो ।