१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

खानेकुराको गुणस्तरमा ध्यान दिन महानगरको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o४:oo

काठमाडौं महानगरपालिकाले सरसफाइ, सजावट, खाद्यवस्तुको सुरक्षालगायत विषयमा व्यवसायीको ध्यानाकर्षण गराएको छ । मिठाई, दूधजन्य परिकार तथा खाजाका परिकार उत्पादन तथा बिक्री गर्ने व्यवसायीका संघ–संस्थाका प्रतिनिधिलाई बोलाएर खानेकुराको गुणस्तरीयता कायम गर्न आग्रह गर्दै गुणस्तरीयतामा नचुक्न निर्देशन दिएको हो ।

महानगरका खाद्य स्वच्छता तथा गुणस्तर सल्लाहकार सन्तोष गिरीले यसबारे तालिम प्रदान गर्ने योजना रहेको बताए । ‘सुरुमा हामीले व्यवसायीलाई तालिम दिन्छौँ, तालिमपछि होटेल, मिठाई पसल र रेस्टुरेन्टहरूको स्वच्छता जाँच गर्ने प्रणाली विकास गर्नेछौँ,’ उनले भने, ‘यो प्रणाली कार्यान्वयनसँगै खानेकुरा बिक्री गर्ने व्यवसायको भौतिक अवस्था, सुविधाजस्ता सूचकका आधारमा स्टिकर लगाएर वर्गीकरण गर्ने योजना छ ।’ होटेलमा प्रयोग गरेर फाल्नुपर्ने तेल व्यवस्थापनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्यका लागि छलफल अगाडि बढिसकेको गिरीको भनाइ छ । 

तिहारमा अधिक प्रयोग हुने दूधजन्य खाद्यवस्तु तथा मिठाईको गुणस्तरीय उत्पादन र स्वच्छ बिक्री–वितरण व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनीता डंगोलले व्यवसायीलाई आग्रह गरिन् । ‘व्यवसायीको व्यावसायिक गतिविधिलाई सहज बनाएर आर्थिक क्रियाकलाप नियमित गर्नु हाम्रो जिम्मेवारी हो । यो जत्तिकै महत्वपूर्ण जिम्मेवारी उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ प्राप्त गर्ने अधिकार उपलब्ध गराउनु हो,’ उनले भनिन्, ‘हाम्रो अनुगमन कसैलाई हतोत्साह गर्नका लागि होइन । अनुचित क्रियाकलाप नगर्नेहरूले अनुगमनसँग डराउनैपर्दैन, हामीले कारबाहीलाई भन्दा सुधारका कामलाई महत्व दिएका छौँ ।’ 

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सानातिना अवस्थामा सुधार गर्न नसक्दा व्यवसायको स्वच्छता संकटमा पर्ने बताउँदै यसबारे महानगरले विभिन्न योजनाअनुसार काम गर्ने बताए । ‘बजारमा सबै गुणस्तरहीन र गलत छैनन्,’ उनले भने, ‘२० लिटर सफा पानीमा एक लिटर फोहोर पानी मिसाइयो भने सबै पानी पिउन अयोग्य हुन्छ । हामी अब राम्रा र नराम्रालाई वर्गीकरण गर्छौँ ।’ महानगरले बुधबार राखेको छलफलमा स्वस्तिक स्विट्स, पवन स्विट्स, टिपटप स्विट्स, उज्ज्वल डेरी, लक्ष्मी चाट हाउस, विश्रान्ति फुड्स, पूजा स्विट्स, साजन गोठ, नन्दन, बर्फी गोठ, गुलाब स्विट्स, पशुपति फुड्स, आँगन, रामेश्वर स्विट्स, कृष्ण फुड्सलगायत मिठाई तथा डेरी सञ्चालकहरू सहभागी हुनुहुन्थ्यो । 

यस्तै, अन्नपूर्ण मिठाई, पशुपति मिठाई, शिवशंकर स्विट्स एन्ड चाट हाउस, शिव फुड्स प्रालि, दिलीप स्विट्स, सन्तोष मिठाई, न्यु सुरज मिठाई भण्डार, काभ्रेपाल्चोक मिठाई भण्डार, ओम सहयोगी नेपाल स्विट्स सेन्टर, धनुषा एन्ड धनुषा मिठाई भण्डार, संगम स्विट्सलगायत मिठाई पसलका सञ्चालक सहभागी थिए । छलफलमा कच्चा पदार्थको उपलब्धता, तत्काल बिग्रिने र केही दिन राखेर प्रयोग गर्न सकिने खाद्यवस्तु, व्यवसाय सञ्चालन भएको ठाउँको स्वच्छता, सफाइ, भण्डारण, ढुवानी, बिक्री व्यवस्था, तेलजस्ता पुनः प्रयोग गर्न नसकिने वस्तुको व्यवस्थापनमा छलफल भएको थियो ।

ad
ad