१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
सम्मेलनमा गरिएको लगानीसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिँदै ।
२o८१ बैशाख ३१ सोमबार १२:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बेलायतमा नेपालको लगानी सम्मेलन : युके एक्सपोर्ट फाइनान्सले नेपालमा साढे दुई खर्ब लगानी गर्ने

नेपालको जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायतमा दुई खर्ब ४२ अर्ब लगानी गर्ने घोषणा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:o८:oo

बेलायत सरकारको स्वामित्व रहेको युके एक्सपोर्ट फाइनान्सले नेपालको जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगाायतका पूर्वाधारमा दुई खर्ब ४२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । नेपाली दूतावासको आयोजनामा मंगलबार बेलायतमा सम्पन्न लगानी सम्मेलनमा युके एक्सपोर्टले उक्त घोषणा गरेको हो । 

सम्मेलनमा युके एक्सपोर्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिम रिडले नेपालको विभिन्न क्षेत्रमा गरेर १.५ बिलियन पाउन्ड (वर्तमान विनिमयदरअनुसार दुई खर्ब ४२ अर्ब रुपैयाँ हाराहारी) लगानी गर्ने घोषणा गरेका हुन् । यसका साथै बेलायतका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, स्थानीय लगानीकर्ता पनि नेपालमा लगानी गर्न इच्छुक देखिएका छन् ।

विशेषगरी, उनीहरू नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक देखिएको सम्मेलनमा सहभागी स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिए । ‘सम्मेलनमा बेलायतका थुप्रै लगानीकर्ताहरू नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । त्यसमा पनि उनीहरू जलविद्युत्मा बढी इच्छुक छन्,’ बेलायतबाट टेलिफोन सम्पर्कमा उनले भने, ‘उनीहरू निजी क्षेत्रसँगकै समन्वयन तथा सहकार्यमा नेपालका विभिन्न क्षेत्रमा इक्युटी तथा ऋण लगानी गर्न तयार देखिन्छन् । यो अवस्थामा हामी निजी क्षेत्र र सरकारले यहाँका लगानीकर्तासँग प्रभावकारी पहल गर्न आवश्यक छ । साथै, सरकारले पनि बेलायतका लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति ल्याउन आवश्यक छ । त्यसो भएमा यहाँबाट ठूलो लगानी नेपालमा पठाउन सकिन्छ ।’

बेलायतस्थित नेपाली दूतावासको आयोजनामा त्यहाँको सिटी अफ लन्डनको मेनसिन हाउसमा मंगलबार लगानी सम्मेलन आयोजना गरिएको थियो । दूतावासले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टको सहयोगमा उक्त सम्मेलन गरेको हो । बेलायतको स्थानीय बैंकहरू, दातृ निकाय तथा लगानीकर्ताबाट नेपालको जलविद्युत्लगायतका पूर्वाधार आयोजनामा लगानी भित्र्याउने उद्देश्यसहित उक्त कार्यक्रम गरिएको थियो । २१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्रीसन्धिको सय वर्ष पूरा भएको अवसरसमेत पारेर उक्त लगानी सम्मेलन गरिएको थियो । 

सम्मेलनमा सहभागी नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको बताए । साथै, यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेकोसमेत उनले बताए । साथै, आगामी दिनमा अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै उनले बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे । 

यसैगरी, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लन्डनबाट नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए । नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशसमेत निर्यात गर्न तयारी गरेको जानकारी दिए । उनले नेपालको जलविद्युत्बाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने दाबी गरे । 

यस्तै, सिटी अफ लन्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लन्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम बहन गर्ने विमा कम्पनीहरू रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लन्डनको सहयोग रहने बताए । 
यसैगरी, बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले विगतका केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताए । 

साथै, नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्रमा बेलायती लगानीकर्ताहरूका लागि ठूलो अवसर रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरूलाई निर्धक्क भएर लगानी गर्न पनि आग्रह गरे । यसैगरी, इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिँदै लगानी गर्न आह्वान गरे । 

यसैगरी, ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूहरूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताए । 

६ वित्तीय संस्थासँग लगानी सहजीकरण गर्ने समझदारी
सम्मेलनको अवसरमा नेपालको अर्थ मन्त्रालय र नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बेलायत), एफएमओ (नेदरल्यान्ड), बायो (बेल्जियम), फिनफन्ड (फिनल्यान्ड) प्रोर्पाको (फ्रान्स) र साइफेम (स्विट्जरल्यान्ड) बीच नेपालमा लगानी सहजीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । लन्डनस्थित नेपाली दूतावासले जारी गरेका विज्ञप्तिअनुसार त्यसैक्रममा अर्थमन्त्री डा. महतले हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जिपी हिन्दुजासँग नेपालमा लगानी भित्र्याउने विषयमा थप छलफल पनि गरेका छन् ।

ad
ad