
काठमाडौंको गोठाटारमा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको छ।
लागुऔषधको कारोबार भइरहेको सूचनाका आधार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीलाई देख्नासाथ लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेपछि प्रहरीले जवाफी कारबाही गरेको जनाएको छ।
प्रहरीको गोली लागेर भारत वेस्टबंगाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन्। उनको दाहिने गोडामा गोली लागेको प्रहरीले जनाएको छ। उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा झापा कचनकवल– ८ घर भएका ३७ वर्षीय हर्क लिम्बू पक्राउ परेका छन्। प्रहरीले घटनास्थलबाट तीन राउन्ड गोलीसहित एक नाल पिस्तोल र दुई सय ग्राम ब्राउनसुगर बरामद गरेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।